१२ बैशाख २०८१, बुधबार
Follow Us

रसफोर्ड चम्किदा युनाइटेडको सहज जित

नेपालब्रिटेन संवाददाता
१३ पुष २०७९, बुधबार ०८:४०

लन्डन । मार्काेस रसफोर्ड चम्किदा म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटबलमा नटिङ्घम फोरेस्टलाई ३–० अन्तरले पराजित गरेको हो ।

मंगलबार राति भएको खेलमा रसफोर्डले एक गोल र एक असिस्ट प्रदान गरेका थिए । युनाइटेडको जितमा रसफोर्डसँगै एन्थोनी मार्टिअल र फ्रेडले समान एक एक गोल गरे ।

खेलको १९औं मिनेटमा रसफोर्डले क्रिस्टियन एरिक्सनको पासमा गोल गरे । रसफोर्डको पासमा मार्टिअलले २२औं मिनेटमा २–० को अग्रता बनाए । दोस्रो हाफमा घरेलु टोली युनाइटेडले एक गोल थप्यो ।

कासेमेरोको पासमा फ्रेडले तेस्रो गोल गरे । जितसँगै एरिक टेन हागको प्रशिक्षणमा रहेको म्यानचेस्टर युनाइटेड १५ खेलबाट २९ अंक सहित पाँचौ स्थानमा छ । पराजित फोरेस्ट १३ अंक सहित रेलिगेशन क्षेत्रमा छ ।

चेल्सीको सहज जित
इंग्लिस प्रिमियर लिग फुटबलमा मंगलबार राति चेल्सीले एफसी बर्नमाउथलाई २–० ले पराजित गरेको छ । घरेलु मैदान स्टाफोर्ड ब्रिजलमा चेल्सीले सहज जितसँगै तीन अंक जोडेको हो । चेल्सीको जितमा काइ हाभार्टज र मासोन माउन्टले समान एक एक गोल गरेका थिए । दुबै गोल पहिलो हाफमा सम्भव भएको हो ।

खेलको १६औं मिनेटमा रहिम स्टर्लिङको पासमा हाभार्टजले पहिलो गोल गरे । २४ औं मिनेटमा माउन्टले दोस्रो गोल गरेका थिए । हाभार्टजले दोस्रोे गोल ४४औं मिनेटमा गरेपनि भिएआरले त्यसलाई मान्यता दिएन । जितपछि चेल्सी १५ खेलबाट २४ अंक सहित आठौं स्थानमा उक्लिएको छ । बर्नमाउथ १६ खेलबाट समान अंक सहित १४औं स्थानमा छ ।