९ जेष्ठ २०८१, बुधबार
Follow Us

एनआरएनएले पोखरामा स्मार्ट शौचायल बनाउँदै, महानगरपालिकासंग सम्झौता

नेपालब्रिटेन डट कम्
२१ पुष २०७९, बिहीबार ०४:५५

पोखरा । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पोखरा ९, महेन्द्रपुलमा अत्याधुनिक सार्वजनिक शौचालय र चमेनागृह निर्माणमा सघाउने भएको छ । शौचालय निर्माणको लागि महानगरपालिकाको तर्फबाट सहायक प्रमुख प्रशासकीय अधिकृत जितेन्द्रजंग केसी र एनआरएनएको तर्फबाट कार्यकारी अध्यक्ष रविना थापाबीच सम्झौता भएको छ ।

सम्झौता अनुसार महेन्द्रपुलको उत्तरतर्फ रहेको कि.न.८२ को ५ आना क्षेत्रफलमा एनआरएनए र पोखरा महानगरपालिको संयुक्त लगानीमा अत्याधुनिक सार्वजनिक शौचालय र चमेनागृह निर्माण गरिनेछ । यसमा एनआरएनएले कुल लगानीको ६० प्रतिशत र पोखरा महानगरपालिकाले ४० प्रतिशत खर्च गर्नेछ । करिब १ करोडको लागतमा ३ महिनाभित्र निर्माण सम्पन्न गरिने सार्वजनिक शौचालय र चमेनागृहका लागि ६० लाख बराबरको खर्च एनआरएनए र ४० लाख बराबरको खर्च महानगरपालिका आफैले बेहोर्नेछ । महेन्द्रपुलको दक्षिण भागमा भने महानगरपालिकाले अन्तर्राष्ट्रिय झन्डा पार्क निर्माण गर्नेछ । त्यहाँ संयुक्त राष्ट्र संघमा आबद्ध १९५ देशसहित साझेदार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरूको झन्डा राखिने महानगरले जनाएको छ । पार्कको बीचमा नेपालको सबैभन्दा ठूलो झन्डा राखिनेछ ।

पोखराको मुटुमा रहेको महेन्द्रपुलको सार्वजनिक जग्गामा रहेको पुरानो संरचना भत्काएर महानगरले सार्वजनिक शौचालय बनाउन लागेको हो । महेन्द्रपुलको छेउमा सार्वजनिक शौचालय, पुस्तकालय,आर्ट ग्यालरी र ३२ वटा सटरहरु रहेका थिए । महानगरले ती सटरहरु भाडामा लगाउँदै आएको थियो । भूगोलविदहरुले संरचनाहरु खतरामा रहेकोले उहिल्यै भत्काउन सुझाव दिएका थिए ।

बूढापाकाहरुका अनुसार महेन्द्रपुलको सो क्षेत्रमा कुनैबेला पोखरी र चौतारो रहेको थियो । कालान्तरमा चौतारी र पोखरी पुरिए । महेन्द्रपुल छेउको सार्वजनिक जग्गामा भने महानगरले सटर बनायो र भाडामा लगायो ।

पोखरा महानगरको छैटौं नगरसभाले सो क्षेत्रमा रहेका भवन र सटर भत्काउने निर्णय गरेको थियो । २०७६ सालमा भएको सो निर्णयलाई हालका मेयर धनराज आचार्यले कार्यान्वयनमा ल्याएका हुन् । अहिले त्यो ठाउँ खाली गरिएको छ । महानगरका मेयर आचार्यका अनुसार नयाँ सार्वजनिक शौचालयमा स्तनपान कक्षसहित सेनेटरी प्याडसमेत उपलब्ध हुनेछ । एनआरएनएका कार्यकारी अध्यक्ष थापाले सो ठाउँमा नेपाली शैलीको अत्याधुनिक सार्वजनिक शौचालय र चमेनागृह बन्ने बताइन् । इतिहास बोकेको महेन्द्रपुलमा बन्ने नयाँ संरचनाले पर्यटन प्रवद्र्धनमा सघाउने उनको भनाइ रहेको छ ।