१० श्रावण २०८१, बिहीबार
Follow Us

‘शरीर छुने हातले शीर छुन सकेन’

नेपालब्रिटेन डट कम्
७ माघ २०७९, शनिबार २०:१८

✍️ सुभद्रा ढकाल। मंसिर महिनाको अन्तिम साता । मुटु कमाउने काठमाडौंको ठन्डी । सुस्त गतिमा ढल्दै गरेको रात । बानेश्वरको सडकमा सवारी चहलपहल पातलो भैसकेको थियो । संसद भवन अगाडिको आकाशे पुलमुनि एउटा वृद्ध मान्छे र दुई वटा कुकुर गुटमुटिएर सुते । अलि पर ठिगं उभिएको निर्माणधीन घरहरा निकैबेर नियालीरहेँ । टाढाटाढा सुस्ताएका पहाड देखिन्थे ।

बेलाबेला गल्लीमा कुकुर घुकेको चर्को आवाज कानमा ठोकिन्थ्यो । एकैछिनमा कतार एयरवेजको जहाज उड्यो । घडी हेरेँ रातको नौ प्रन्ध भएछ ।

टेकेको धरती दुई चिरा भयो । रिंगटा चलेर भुइँमा बजारिएँ । हातमा सजिएका रात चुरा झर्याम्म फुटे । भर्खरै मेहेन्दी लगाएको हातबाट रगतका धारा बगे । मान्छेहरूको गुनगुन आवाजभन्दा बढी सम्झना छैन ।

होस आउँदा म सिभिल हस्पिटलको बेडमा थिएँ । स्लाइन चलाइएको रहेछ । पूरै शरीर चिरेर नुन छर्लिकएजस्तै दुख्थ्यो ।
ममी र बहिनीहरू नजिकै उभिए । डिस्चार्ज भएर घर पुग्दा विहानको सात बजेको थियो । त्यसपछि पो सम्झिएँ आज मेरो विहे हुँदै छ ।
‘छोरी भएपछि माइतीघर छाड्नुपर्छ ।’ ममीले कपाल मुसार्दै सम्झाउनुभयो । सिम्रन, मालती, उषा गंगा सबैले एवम् तरिकाले सम्झाए । मेरो त वाक्य नै फुटेन ।

वर्षौदेखि खेलिआएको आँगन । दुःखसुख साटेका साथीहरू । पीडामा सुस्ताएको बाआमाको काख । यो सबैसबै भुलेर अपरिचित घरमा कतिन्जेल अडिएला मेरो मन ?

त्यतिबेला लाग्यो यहाँ मलाई बुझ्ने कोही छैन । मेरो खुसी भन्दा पनि सबैले आफ्नो जिम्मेवारी ठूलो ठान्छन् । घरमा सासुलाई इज्जत गर्नू । परिवारको नाम कहिल्यै बदनाम नगराउनू । सानातिना कुरा कहिल्यै कसैलाई नसुनाउनू, छोरी मान्छे भनेको पृथ्वी हो जतिसुकै कठिन दुःख पनि सहनु यिनै मलाई माइतीघर छाड्दा दिइएको अन्तिम उपदेश थिए ।

त्यो उपदेशलाई मैले सहजै स्वीकार नगरे भोलि म माथि हुने हरेक दुर्घट्नाको भागिदार म आफैँ हुनुपथ्र्यो । मानौँ हामी छोरी मान्छेहरू यो समाज सहने, अरूको सेवा गर्न, सृष्टि चलाउन, समाजको इज्जत राख्न र अन्तमा कसैमा समाहित भएर सकिन मात्रै जन्मिएका हौँ । यो बाहेक हाम्रो कुनै प्रयोजन छैन अस्तित्व र पहिचान पनि छैन । शरीर पूरै दुखेर मस्त निद्रामा सुतमझैँ लाग्यो चाहे त्यो चिता नै किन नहोस् ।

जन्ती आइपुग्यो । गोडा धुनेदेखि कन्यादान दिने सबै कार्म पूरा गरे । घर सारे, थर सारे, जुठो सारे । अब म मरे भनँे पनि मेरो बाआमाले किरिया गर्नु पर्ने बाध्यता रहेन् ।

सिन्धुर हाल्ने बेलामा बेस्सरी रोएछु हुन त जिन्दगीको सबैभन्दा सुखद अध्याय हो । कुनै दिन दुखद अन्त्य भैदियो भने म रंगहीन भएर बाँच्न विवश हुनेछु ।

अन्माउने बेलामा आमा बा बेस्सरी रूनुभयो । उहाँहरूसँग त आफ्नो सिंगो संसार थियो । आफ्नो घर थियो । सम्पतिमा आफ्ना अधिकार थिए । माया गर्ने छोराहरू थिए । तर म पो एक्लै थिएँ, मैले आफ्नो संसार आफैँ निर्माण गर्नु थियो । पराइ कहिल्यै आफ्ना हुँदैनन् तर पनि आफ्नो बनाउने असफल प्रयास गर्नु थियो । रूदैरूँदै आफ्नो कर्मघरको यात्रा सुरू गरेँ ।

रातिको चोट, दिउँसोको थकाइ । शारीरिक र मानसिक दुवै हिसावले कमजोर थिएँ । सबै काम सकिएपछि जब सुत्ने बेला भयो । नयाँ ठाउँ नयाँ परिवेश कुहिरोमा हराएको काग जस्तै भएँ ।

कोठा पूरै सिंगारिएको रहेछ । भुइँमा भर्खरै किनेको मखमल विछ्याएको थियो । डवलबेडको खाटमाथि सेतो तन्दा । मैले बुझिहालेँ यो नै म प्रति फालिएको विश्वासको पहिलो प्रहार थियो ।

अर्को विहान कौशीमा उक्लिएर आकाशतिर नियालेँ । । हिजो राति उडेको जहाजले कतिवटा समुन्द्र पार ग¥यो होला ? जिन्दगीमा कहिल्यै समुन्द्र देखिकी थिइन् मलाइ न लम्बाइ थाहा थियो न गहिराई । मेरा लागि प्रेम र समुन्द्र उस्तै भए ।

कतिवटा समुन्द्र पार ग¥यो होला सुयोगले ? बादलको सहरमा जहाजसँगै आफ्नो देश हराउँदा के सोच्यो होला ? कल्पनामा त हामीले धेरै नदी पार ग¥यौ । कयौँ पहाड कपासझैँ हलुंगो मान्दै चढ्यौँ सागरको गहिराइ नाप्यौँ । आकाशको आयतन खोज्यौ । दुलाहा दुलही भयौँ । सुहागरात मनायौँ ।

अपसोच ! मेरो विवाहको दिन ऊ एक्लै विरानो सहरमा हरायो । फेरि सोचेँ यतिबेलासम्म त उसले आफ्नी मायालु भेटिसक्यो होला ? हिजोसम्म प्रेम र विवाहको सपना देखाएर मेरो शरीरमाथि खेल्ने सुयोग आजदेखि अर्की युवतीको इज्जत र शरीरसँग खेल्न सुरू गर्नेछ ।

छातीमाथि ढुंगा राखेर घर व्यवहार चलाउन थालेँ । श्रीमान्सँग निकै कम बोल्थेँ । उहाँले पनि खास मेरो वास्ता गरेजस्तो लाग्दैनथ्यो । विवाह गरेको तीन महिना पुगेको हुँदो हो उहाँले मसँग डिभोर्स माग्नुभयो । अहिले त्यही प्रक्रिया चलिरहेछ । विवाह गरेको चार महिनापछि दरबारमार्गको भेनोलिभा रेष्टुरेन्टमा भेटिँदा सिम्रिकले आफ्नो जिन्दगी सुनाई । उसका कुराले मलाई चक्कर आउलाझैँ भयो तर ऊ भने निकै संयमित थिई ।

छोरी मान्छेको जिन्दगी कर्कलाको पात पानी जस्तै रहेछ कुनै ठेगान हुँदैन भरोसा हुँदैन । थाहा छ सिम्रन छोरी मान्छेको इज्जत नै उसको कुमारित्व हो अरे । हरेक दिन श्रीमान्ले यही सवाल उठाएर विवाद गरिरहनुहुन्छ । एकातिर माइती घर र बाआमाको नियास्रो छँदै छ अर्कोतिर दैनिकी टर्चर कसरी सहनु ?

हुन त नारी सृष्टिको उपहार हो । इश्वरको अर्को रूप हो । तर कहाँ छ त हामीलाई इश्वर भएर बाँच्ने अधिकार ?
मैले भनेँ, ‘केटी मान्छेले मात्रै यो समाजलाई असल हुने ठेक्का लिएको छ जस्तो गर्छन् । हजारजनासँग रात विताएर घर आउने पुरूष सधैँ चोखो । उसको इज्जतको सवाल कहिल्यै उठ्दैन । हामीलाई मात्रै यो सामाजिक दायरा किन ? ऊ निकै बेर गम्भीर भएर भनी ‘सुयोगसँगको भेट नै मेरो जिन्दगीको सबैभन्द ठूलो अभिशाप भयो ।’ मैले फेरि सोधेँ, ‘के भएको थियो र ?’

पोखराको लिटे«चर फेस्टिवलमा आजभन्दा ५ वर्ष अगाडि हामी भेटिएका थियौँ । त्यतिबेला म १७ वर्षकी थिएँ । बाबाको साहित्यिमा रूचि थियो प्रायः देशभित्र हुने साहित्यिक कार्यक्रममा सहभागी बन्नुहुन्थ्यो म पनि उहाँसँग पोखरा गएकी थिएँ ।

त्यही सिलसिलामा सुयोगसँग भेट भयो । सानै उमेरको भएपनि विशिष्ट साहित्यकार रहेछ । बेलाबखत हाम्रो घरमा आइरहन्थ्यो । बाबासँग बोल्दा शब्दै पिच्छे विम्व मिसाउँथ्यो । बाबा भन्नुहुन्थ्यो उसका हरेक शब्दमा दर्शन भेटिन्छ ।

म मेडिकल लाइनको विद्यार्थी थिएँ । शरीरको चिरफार गरेर पनि मनको चिरफार गर्न सक्दैनथेँ । गज्जवसँग मन चिर्ने कला सुयोगको थियो ।

मभन्दा दस वर्ष जेठो थियो ऊ । कहिलेकाहिँ हस्पिटलबाट फर्किँदा बाबासँग खुव गफिएको भेट्थेँ । बेलाबेलामा उहाँहरूसँग बोल्दा मलाई कर्के नजरले हेथ्र्यो म लाजले रातो हुन्थेँ । उसको कुरा सुन्दा मलाई लाग्थ्यो सुयोग जस्तो असल केटा यो पृथ्वीमा कोही छैन ।
उसले मलाई एकदिन फेसबुक आइडी मागेको थियो । त्यसपछि हामी व्यक्तिगत जिन्दगीमा प्रवेश गर्र्यौँ । फेसबुकको पासपोर्टदेखि मनसम्म साटियो । उसँग नबोलेको दिन पृथ्वी नै अन्धारकार भएजस्तै लाग्थ्यो । सुयोग एकदम प्रतिष्ठित र सेल्रिबेटी जस्तै लाग्थ्यो । त्यसकारण शंका गर्ने ठाउँ नै देख्दैनथेँ ।

प्रेमलाई फरक ढंगबाट व्याख्या गथ्र्यो । म मन्त्रमुग्ध भएर सुनिरहन्थेँ । उसँगको संवाद निकै मिठो र रमाइलो लाग्थ्यो । बाबासँग भेट्ने बाहना गरेर बारम्बार हाम्रो घर आइरहन्थ्यो र लुकीछिपी मलाई कर्के नजर लगाउँथ्यो ।

उसले प्रेमले मात्रै पुगेन । फिजिलक रिलेशनको आग्रह गरिहन्थ्यो । चाँडै विवाह गर्ने सपना देखाएकाले मैले पनि नाइँ भन्नै सकिनँ ।
मनको माया शरीरबाट साटियो । लगभग दुइतीन वर्ष यसैगरी हामीले एक अर्कासँग प्रेम व्यक्त गरिरह्यौँ ।

सुयोगसँगको प्रेम र यस्तै हर्कतले काममा राम्रोसँग ध्यान लगाउनै सकिनँ । त्यसैबीचमा घरमा धेरै विवाहका प्रस्तावहरू आए ।
उसले केही न केही बहाना बनाएर टारिरहन्थ्यो । अति भएपछि एकदिन छिटै विवाह गर्न चेतावनी दिएँ । त्यसको पछिल्लो दिन उसले मलाई सबै माध्यमबाट व्लक गरेछ ।

बाबालाई उसको बारेमा सोध्ने हिम्मत राख्नै सकिनँ । लगभग एक वर्ष वित्दा पनि सुयोगको सम्पर्कमा पुग्न नसकेकाले बाबाले प्रस्ताव राख्नुभएको केटासँग विवाह गर्न राजी भएँ ।

मेरो विवाहको अघिल्लो दिन सुयोगको अमेरिकाको फ्लाइट परेको कुरा बाबाले सुनाउनुभयो । उसको जिन्दगीको लुकेको पाटो पनि बाबाले सुनाउनुभयो । सुयोगले ग्रिनकार्ड वाला केटीसँग विवाह गर्दैछ रहेछ । हुन त शरीरका हरेक अंग साटिएको मान्छे एकदिन कसो सम्झना नगर्ला यही सम्झेर अचेल चित बुझाउँछु ।

आज उसकै कारणले यताको घरबार विग्रियो । न प्रेमी साथमा रह्यो न श्रीमान् । अबको यात्रा एक्लै गर्नु छ । म एक्लै भएँ भने हिम्मत त हार्दिनँ तर पनि अन्जानमा गरेको प्रेमले जिन्दगीमा ठूलो दुर्घटना भयो । म त्यतिबेला फिजिकल रिलेशनलाई प्रेम सम्झेर तयार नभएको भए आज मैले यो दिन भोग्नै पर्दैन्थ्यो । उसका आँखाबाट अविरल आँसु बगिरहे । मैले सम्झाउनका लागि कुनै शब्द नै भेटिनँ ।

नेपाली समाजमा विवाहप्रतिको धारणा कति निकै साघुँरो र संकुचित छ । शारीरिक सम्पर्कको मान्यता पाउनु । बच्चा जन्माउनु । हरेक रात श्रीमान्का श्रीमती एउटै खाटमा निदाउनु के यति मात्रै हो त विवाहप्रतिको दृष्टिकोण ।

मण्डपदेखि चितासम्मको सहयात्रालाई एउटा मासुको डल्लोसँग तुलना गरिदिन मिल्छ र ? सिम्रिक एक प्रतिनिधि पात्र मात्रै हो । ऊ जस्तै कयौँ छोरीहरूले आफूले गरेको चोखो प्रेमको बदलामा बलात्कार उपहार पाएका छन् । यस विषयमा धेरै छोरीहरूले आफूमाथि भएको घटना देखाउन सक्दैनन् । जसले देखाउँछ यातना र तिरस्कार सहँदै अन्त्यमा आत्महत्याको बाटो रोज्न बाध्य हुन्छ ।

अभिभावकले आफ्ना सन्तानहरूलाई खुलेर यौनको बारेमा सिकाउने हो भने यो हिंसात्मक गतिविधि केही हदसम्म भए पनि कम गर्न सकिन्छ कसैलाई प्रेमको झुटो आश्वसन देखाएर शरीरसँग खेल्नु महापाप हो । सृष्टिको अनुपम उपहारमाथि घिनलाग्दो खेल बन्द गरौँ । सभ्य समाजको निर्माण गरौँ !