६ बैशाख २०८१, बिहीबार
Follow Us

एनबीसी यूकेले २ अप्रिलमा च्यारिटी डिनर गर्ने, सुमन कार्की, गायिका एलिना चौहान आउने

नेपालब्रिटेन डट कम्
२१ फाल्गुन २०७९, आईतवार २०:४५

लन्डन । नेपलिज ब्रिटिश कम्युनिटी यूके (एनबीसी यूके) ले आउंदो २ अप्रिल आइतबार सांझ नेपाली राष्ट्रिय कलाकारका साथ च्यारिटी डिनर तथा सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।

एनबीसी यूकेले नेपाली नयां वर्ष २०८० का अवसरमा राष्ट्रिय कलाकार झिकाएर कार्यक्रम गर्न लागेको हो । आइतबार लन्डन साउथ हयारोस्थित गोल्डेनसीप रेष्टुरेन्टमा आयोजित पत्रकार सम्मेलनमा एनबीसी यूकेका सचिव रविन्द्र अधिकारीले नेपालस्थित पवित्र समाज सेवाको सहयोगार्थ ब्लु रुम स्पोर्टस् भेन्यू हयारोमा च्यारिटी तथा सांस्कृतिक कार्यक्रम हुन लागेको जानकारी दिए ।

कार्यक्रममा परफर्मेन्स दिन हांस्य कलाकार सुमन कार्की, गायिका एलिना चौहान र मोडल तथा नृत्यांगना अन्जली अधिकारी नेपालबाट आउने छन् ।

कार्यक्रम प्रवेशका लागि वयस्कको ५० पाउण्ड र १३ वर्ष मुनीका बालबालिकाका लागि २५ पाउण्ड टिकट शुल्क तोकिएको छ । प्रति व्यक्ति ४० पाउण्ड खर्च लाग्ने जनाउंदै आयोजकले टिकटबाट केही र प्रायोजकबाट उठाइ करिब ८ हजार पाउण्ड वचत गर्ने लक्ष्य लिएका छन् ।

एनबीसी यूके संयोजक राजेन्द्र ओझाले कार्यक्रम तयारी शुरु भइसकेको जनाए । उनले च्यारिटीसहित विशुद्ध मनोरन्जनका लागि कार्यक्रम तय गरिएको प्रष्ट्याए ।

संस्था स्थापनाको उद्देश्य नै च्यारिटी कार्य गर्नु भएकाले एनबीसी यूके यसमा निरन्तर क्रियाशील रहेको जनाउंदै ओझाले कार्यक्रममा सहभागी भइदिन सबैमा आग्रह गरे ।

उनले नेपालस्थित पवित्र समाज सेवाले असहाय बलबालिका तथा वृद्धवृद्धाको लालनपालन गरिरहेकाले कार्यसमिति बैठकमार्फत उक्त संस्थालाई सहयोग गर्ने निर्णय भएको पनि बताए ।

सन् २०१० मार्च ६ मा स्थापना भएर सन् २०१६ मा बेलायतको च्यारिटी कमिसनमा दर्ता भएको एनबीसी यूकेले चितवनको कान्दास्थित चेपाङ बालबालिकालाई अध्ययन र बासका लागि भवन निर्माण, सर्लाहीमा द्धन्द्ध पीडित बालबालिकाका लागि भवन निर्माण सहयोग, दाङमा दृष्टिविहीन विद्यार्थीका लागि पाठ्यपुस्तक तथा खानपान व्यवस्थापनमा सहयोग, लमजुङका विपन्न विद्यार्थीलाई पाठ्यपुस्तक र जाडोमा लगाउने न्यानो कपडा वितरण, महाभूकम्प पीडितलाई सहयोग, सप्तरीका बाढी पीडितलाई राहत, बेलायतमा बालबालिकाका लागि नेपाली भाषा कक्षा सञ्चालन, कोभिड १९ का बेला ज्येष्ठ नागरिकका लागि सचेतनामूलक कार्यक्रमसहित ट्याब्लेट वितरण, लाइन्स क्लव अफ दियालो नारायणगढमार्फत ७८३ बिरामीको आंखा उपचारमा सहयोग, पवित्र समाज सेवा नेपालमा आश्रित बालबालिकालाई सहयोग जस्ता कयौं च्यारिटी काम गरिसकेको छ ।