३० भाद्र २०८३, मंगलवार
Follow Us

नेपाली जनसम्पर्क समिति जर्मनीद्वारा ६,१२५ युरो सहयोग

नेपालब्रिटेन संवाददाता
२९ भाद्र २०८३, सोमबार ०७:३४

जर्मनी । गत २६ सेप्टेम्बरमा भोटेकोशी क्षेत्रमा आएको पहिरो तथा बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो जनधन, सम्पत्ति तथा भौतिक पूर्वाधारमा क्षति पुगेपछि प्रवासमा रहेका नेपालीहरूले दुःख व्यक्त गर्दै राहत तथा सहयोग अभियानलाई तीव्रता दिएका छन्। विपद्का कारण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले भोग्नुपरेको पीडादायी अवस्थाप्रति ऐक्यबद्धता जनाउँदै नेपाली जन सम्पर्क समिति जर्मनीले पनि राहत तथा सहयोगका लागि आर्थिक संकलन गरेको जनाएको छ।

नेपाली जन सम्पर्क समिति जर्मनीका संयोजक बिजय मोक्तानका अनुसार, नेपाली कांग्रेस आस्थावान नेपाली जन सम्पर्क समिति जर्मनीका साथीहरूबाट छोटो समयमै ५ हजार ५२५ युरो संकलन गर्न सफल भएको हो। त्यसमा आफ्नो व्यक्तिगततर्फबाट थप ६०० युरो योगदान गरेपछि कुल ६ हजार १२५ युरो रकम संकलन भएको उनले जानकारी दिएका छन्।

संकलित रकममध्ये नेपाली कांग्रेसको बाढीपीडित राहत कोषमा रु. ५ लाख १०८ अर्थात् २ हजार ८७१.६२ युरो सहयोग गरिएको छ। त्यसैगरी बाढीबाट प्रभावित १०० जना विद्यार्थीलाई नेपाल विद्यार्थी संघमार्फत निःशुल्क शिक्षा प्रदान गर्ने अभियानका लागि रु. १ लाख १०८ अर्थात् ५७३.६६ युरो सहयोग गरिएको छ।

त्यस्तै, Nepalese NRW Cricket Team मार्फत रसुवाका बाढी तथा पहिरो प्रभावित नागरिकहरूका लागि दीर्घकालीन रूपमा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने उद्देश्यले रु. १ लाख ७५ हजार अर्थात् १ हजार युरो उपलब्ध गराइएको छ। Stuttgart Club लाई २०० युरो अर्थात् करिब रु. ३५ हजार सहयोग गरिएको छ भने NRNA LCC Hessen को खातामा १ हजार २०० युरो अर्थात् करिब रु. २ लाख १० हजार जम्मा गरिएको छ। उक्त रकम NRN NCC मार्फत NRNA ICC लाई उपलब्ध गराइने जनाइएको छ।

यसरी हालसम्म संकलित रकममध्ये ५ हजार ८४५.२८ युरो वितरण गरिएको र २७९.७२ युरो बाँकी रहेको नेपाली जन सम्पर्क समिति जर्मनीका संयोजक बिजय मोक्तानले जानकारी दिएका छन्। बाँकी रकम पनि आवश्यकता र परिस्थितिअनुसार नेपाली समुदाय तथा विपद् प्रभावितहरूको सहयोगमा उपलब्ध गराइने उनले बताएका छन्।

नेपाली जन सम्पर्क समिति जर्मनीका संयोजक बिजय मोक्तानका अनुसार, उक्त सहयोग कुनै व्यक्तिगत चर्चाका लागि नभई विपद्को कठिन घडीमा पीडित नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको दुःखमा सकेसम्म साथ र सहयोग पुर्‍याउने उद्देश्य तथा आर्थिक गतिविधिमा पारदर्शिता कायम गर्न सार्वजनिक गरिएको हो।

प्रवासमा रहेका नेपालीहरूको सम्बन्ध पार्टीको नारा र झण्डामा मात्र सीमित नरहेको बताउँदै मोक्तानले नेपाल आमामाथि परेको हरेक दुःख, पीडा र विपत्तिमा तथा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको दुःखमा प्रवासी नेपालीहरूले निरन्तर साथ दिँदै आएको बताएका छन्।

नेपालीहरू सधैँ पार्टी, जाति, क्षेत्र र अन्य विभाजनभन्दा माथि उठेर संकटका बेला एकजुट हुने गरेको उल्लेख गर्दै मोक्तानले यही एकता र मानवीय भावना नेपालीपनको पहिचान भएको बताएका छन्। उनका अनुसार राजनीति केवल भाषण र नारामा सीमित हुनुहुँदैन। दुःखमा साथ दिने, पीडामा मलम लगाउने र आवश्यक पर्दा मातृभूमिका लागि आफ्नो तर्फबाट सक्दो योगदान गर्ने व्यवहारबाट नै राजनीति र सामाजिक जिम्मेवारीको वास्तविक अर्थ प्रतिबिम्बित हुनुपर्छ।

हजारौँ किलोमिटर टाढा प्रवासमा रहे पनि नेपालीहरूको मन, भावना र जिम्मेवारी सधैँ नेपाल र नेपालीसँग जोडिएको उल्लेख गर्दै मोक्तानले नेपाल आमालाई परेको हरेक संकटमा प्रवासबाट सक्दो सहयोग गर्नु आफ्नो कर्तव्यसँगै मातृभूमिप्रतिको माया, नेपालीप्रतिको जिम्मेवारी र मानवीय संवेदनाको अभिव्यक्ति भएको बताएका छन्।

यसैबीच, विपद्पछि तत्काल राहत तथा उद्धारसँगै सरकारले दीर्घकालीन पुनर्निर्माण र पुनःस्थापनाको स्पष्ट योजना बनाउन आवश्यक रहेको समितिले जनाएको छ। राहत वितरणले तत्कालीन आवश्यकता पूरा गरे पनि प्रभावित परिवार, विद्यालय, स्वास्थ्य संस्था, सडक, पुल तथा अन्य भौतिक पूर्वाधारको दीर्घकालीन पुनर्निर्माणका लागि ठोस र प्रभावकारी योजना आवश्यक रहेको समितिको भनाइ छ। अबको प्राथमिकता पीडितहरूको सुरक्षित पुनःस्थापना र प्रभावित क्षेत्रको दिगो पुनर्निर्माण हुनुपर्नेमा समितिले जोड दिएको छ।

नेपाली जन सम्पर्क समिति जर्मनीले यस विपत्तिमा ज्यान गुमाउने सम्पूर्ण नेपालीहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ। साथै घाइते तथा प्रभावित सबैको शीघ्र स्वास्थ्यलाभ र सुरक्षित पुनःस्थापनाको कामना गरेको छ।

राहत अभियानमा साथ दिने सम्पूर्ण सहयोगी, मनकारी दाता, शुभेच्छुक तथा नेपाली समुदायप्रति नेपाली जन सम्पर्क समिति जर्मनीका तर्फबाट तथा व्यक्तिगत रूपमा संयोजक बिजय मोक्तानले हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेका छन्। सहयोगीहरूको विश्वास, सद्भाव र साथ नै आगामी दिनमा मानवीय तथा सामाजिक सेवाका कार्यलाई निरन्तरता दिने सबैभन्दा ठूलो प्रेरणा भएको उनले बताएका छन्।

धेरै पढिएको