१५ चैत्र २०८०, बिहीबार
Follow Us

युरोपमा नेपाली महिलाले अन्तराष्ट्रिय नारी दिवस मनाउने

नेपालब्रिटेन डट कम्
२३ फाल्गुन २०७९, मंगलवार ०५:०७

लण्डन । युरोपमा रहेका नेपाली महिलाहरुले भरर्चुअल रुपमा अन्तराष्ट्रिय नारी दिवस मनाउने तयारी गरेका छन् । प्रवासी नेपाली मंच राष्ट्रिय कमिटी अष्ट्रियाको आयोजनामा भोलि बुधवार हुने सो कार्यक्रममा नेपालका महिला नेतृ तथा अधिकारकर्मीले आ–आफ्ना विचार राख्ने छन् ।

प्रवासी नेपाली मंच अष्ट्रियाकी सचिव बाबाराजेश्वरी थापाका अनुसार कार्यक्रममा पूर्वमन्त्री, सांसद, काठमाडौं महानगरपालिकाकी उपमेयरलगायत गैरआवासीय नेपालीहरुको सहभागिता रहने छ ।

कार्यक्रममा समृद्ध नेपाल निर्माणको लागी महिला सहभागिता, राज्यको दायित्व विषयमा निवर्तमान मन्त्री, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती चौधरीले आफ्ना विचार राख्ने भएकी छन् ।

यस्तै कार्यक्रममा सांसद सोबिता गौतमले महिलाको लागि नयाँ राजनीतिक यात्रा– कति सहज, कति जटिल विषयमा कार्यपत्र प्रस्तुत गर्ने छन् ।

कार्यक्रममा नेपाल मानव अधिकार आयोगकी सदस्य लिली थापाले बिगतदेखि वर्तमान– महिला आन्दोलनलाई फर्केर हेर्दा विषयमा आफ्नो प्रस्तुती दिने मंचले जनाएको छ ।

राजनीतीमा महिला – एक सिंहालोकन विषयमा पूर्ब सांसद तथा एमाले केन्द्रीय सदस्य कोमल वलीले आफ्ना भनाई राख्ने भएकी छन् ।

कार्यक्रमा पुरुषको नजरमा– प्रवासी जीवन, समाजिक अभियानमा महिला सहभागिता विषयमा प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका अध्यक्ष संजय थापाले आफ्ना भनाई राख्ने भएका छन् । यस्तै काठमाडौं महानगरपालिकी उपमेयर सुनिता डंगोलले सामाजिक रुपान्तरण – युवाको भूमिका विषयमा कार्यपत्र प्रस्तुत गर्ने भएकी छन् ।

हरेक वर्ष मार्च ८ का दिन महिलाको आर्थिक, राजनीतिक र सामाजिक उपलब्धि र कठिनाइहरूको सापेक्षतालाई मनाउन, विश्वका विभिन्न क्षेत्रहरूमा नारीप्रति सम्मान, प्रशंसा र प्रेम व्यक्त गर्ने उत्सवको रूपमा अन्तर्राष्ट्रिय महिला दिवस मनाइन्छ।

यो महिलाको राजनीतिक र सामाजिक उत्थानका लागि संयुक्त राष्ट्र संघले छनोट गरेको राजनीतिक र मानवअधिकार विषयका साथ मनाइन्छ । यो दिवस पहिलो पटक सन् १९०९ मा न्यूयोर्क शहरमा समाजवादी राजनीतिक कार्यक्रमको रूपमा मनाइएका थियो ।

नेपाल सरकारलगायत विश्वका अन्य देशहरुले समेत अन्तराष्ट्रिय नारी दिवस मनाउदै आएका छन् । विदेशमा रहेका राजनीतिक दललगायत गैरआवासीय नेपाली संघले समेत बिभिन्न कार्यक्रमको आयोजना गर्दै सो दिवश मनाउन थालेका छन् ।