१२ बैशाख २०८१, बुधबार
Follow Us

पत्रकार महासंघ यूकेले ‘च्यारिटी डिनर नाइट’ को आयोजना गर्ने

नेपालब्रिटेन डट कम्
७ चैत्र २०७९, मंगलवार २२:०१

लन्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाले आउँदो जुलाई ९ तारिख आइतबार स्थापना दिवस मनाउने भएको छ ।

स्थापना दिवसको अवसर पारेर सोही दिन एक ‘च्यारिटी डिनर नाइट’ पनि गरिने शाखाले जनाएको छ ।

शाखा अध्यक्ष ध्रुवराज अर्यालको अध्यक्षतामा गत साता सम्पन्न शाखाको कार्यसमिति बैठकले स्थापना दिवस एवम् च्यारिटी गर्ने निर्णय गरेको हो।

‘च्यारिटी डिनर नाइट’ का लागि महासचिव नरेन्द्र बस्नेतलाई संयोजक तथा वरिष्ठ उपाध्यक्ष दिनेश कुमार परियार र उपाध्यक्ष प्रमिला लाबुङ राईलाई सहसंयोजकको जिम्मेवारी दिइएको छ ।

कार्यक्रम गर्ने ठाउँ चाडै टुंगो लगाइने र च्यारिटीबाट संकलित रकम उपयुक्त स्थानमा कुनै परोपकारी कार्यमा उपयोग गरिने बताइएको छ ।

सोही अवसरमा शाखाले वर्षेनी प्रदान गर्दै आएको ‘एफएनजे यूके वर्ष पत्रकारिता’ पुरस्कार पनि वितरण गरिनेछ।

बेलायतस्थित विभिन्न संघसंस्थाका प्रतिनिधि, समाजका अगुवाहरुको सहभागिता रहने सो कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिने छ ।

शाखाले उक्त दिन अन्य कार्यक्रमहरु नराखिदिन बेलायतस्थित संघसंस्थालाई आग्रह गरेको छ ।

शाखाले गत वर्ष जुलाई १० मा स्थापनाको दशौँ वार्षिकोत्सव एक भव्य कार्यक्रम गरि मनाएको थियो ।