१६ चैत्र २०८०, शुक्रबार
Follow Us

एनआरएनए सिइओको ७ महिना, दुई स्पष्टिकरण, संस्थाको तलव भत्ता बुझेर अर्को कम्पनीमा व्यस्त

नेपालब्रिटेन डट कम्
२४ चैत्र २०७९, शुक्रबार ०५:३५

काठमाडौं । गैरआवासीय नेपाली संघको कार्यकारी अधिकृत रविकिरण अधिकारीले एकतातिर पैसा असुलेर अर्को कम्पनीको लागि काम गरेको तथ्य खुलेको छ । संघको केन्द्रीय कार्यालयको नेतृत्व समालेको ७ महिना नहुँदै उनले स्मार्ट लाइफ कम्पनी लिमिटेडमा काम थालेका हुन् ।

गैरआवासीय नेपाली संघ स्रोत अनुसार अधिकारी डेढ महिना विरामी विदामा बसेर सो कम्पनी स्थापना गरेका हुन् । उनले संघबाट मासिक करिब २ लाख रुपैयाँ बुझ्दै आएका छन् । संघ एक पदाधिकारीका अनुसार अधिकारीले खुट्टा भाँचिएको नाटक गरेर अर्को कम्पनी स्थापनाको लागि सक्रिय थिए । उनले संघको सचिवालयमा कुनै स्वास्थ्य सम्बन्धी कुनै प्रमाणपत्र पेश गरेका छैनन् । उनले मार्च २ तारिख आफ्नो फेसबुक टाइमलाइनमार्फत लक्जरी होटल र नेपालको सबैभन्दा ठूलो मनोरन्जन पार्कको मालिन बन्न मन छ भने सम्पर्क गर्न आब्हान गरेका छन् ।

गैरआवासीय नेपाली संघ अन्तर्रगतको कर्मचारी नियमावली तथा विधानले सचिवालयको कार्यकारी निर्देशकलाई अर्को कम्पनीमा काम गर्न पूर्णरुप बन्चित गरेको छ । कानूनका जानकारका अनुसार यो कानूनी भन्दा पनि नैतिकता विषय बढी हो । उनले भने, एउटा उच्च तहमा रहेको कर्मचारीले यस्तो आफै बुझ्ने कुरा हो । उहाँले संघको कार्यकारी निर्देशक रहेकै बेला अन्य कम्पनीको हितमा काम गर्न मिल्दैन । गर्नु भएको हो भने दुईमध्ये एक कम्पनी छोड्नु पर्छ ।

संघ स्रोतका अनुसार अधिकारीले संघको केन्द्रीय कार्यालयमा रहेर अन्य आइएनजी तथा उक्त कम्पनीको लागि समय खर्च गरेका छन् । स्रोत भन्छ अघिल्ला कार्यकारी अधिकृतहरु सबै कर्मचारीको अघि बसेर काम गर्थे तर उनीले छुट्ट कार्यकक्ष बनाएर एक्लै ढोका थुनेर काम गर्छन् र अधिकांश समय सामाजिक संजाल तथा अन्य कम्पनीको काम गर्छन्। संघको काम अन्य कर्मचारीलाई गर्न लगाएर आफैले गरेको भन्दै पदाधिकारीहरुलाई ब्रिफिङ गर्छन् ।

नियूक्तीमै विवाद
गैरआवासीय नेपाली संघ (एनआरएनए) मा गत वैशाखदेखि रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रविकिरण अधिकारी नियुक्ति नै सुरुदेखि विवादमा रहेको छ । संघको कर्मचारी नियमावली विपरित तलव भत्ता लिने प्रयास गरेपछि संघको पदाधिकारी बैठकले उनको सेवा सुविधा कटौती गरेको थियो । अन्तरवार्ताका क्रममा साढे ३ लाख ५० हजार तलव भत्ता माग गरेका अधिकारीपछि तलव भत्ता सहित २ लाख ४७ हजारमा काम गर्न राजी भएका थिए । सो तलव सुविधासमेत कर्मचारी नियमावली विपरित भएपछि संघले कटौती गरिदिएको थियो । तर उनले संघले तोकेको पछिल्लो तलवमानलाई समेत स्वीकार गरेर काम गर्दै आएका छन् । उनले हाल १ लाख ९४ हजार तलव सुविधा थाप्दै आएका छन् ।

छनोट समितिकै क्षमतामा प्रश्न
गैरआवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष कुल आचार्यले संघद्वारा गठित छनोट समितिको सिफारिशको आधारमा अधिकारीलाई संघको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको बताएका थिए । तर छनोट समितिले क्षमता र कार्यदक्षता भन्दा उमेरको हद हेरेर युवा मान्छे भन्दै उनको नाम सिफारिस गरेको थियो । उनीसँग गैरआवासीय नेपाली संघजस्तै अन्तराष्ट्रिय कुनै पनि संस्थासँग काम गरेको अनुभव थिएन । संघका एक पदाधिकारीले अधिकारीले अहिलेसम्म संस्थाको संरचना र डाइनामिक्स बुझ्न नचाहेको बताए । उहाँ अरुको कुरै नसुन्ने आफै पढाउदै हिड्ने मान्छे हुनुहुदो रहेछ । सो सिफासिर समितिले उनको योग्यता कुन आधार तोकेको हो अहिलेसम्म बुझ्न सकिएको छैन् ।

संघको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि ४ जना उम्मेदवारलाई अन्तर्वार्ताका लागि छनोट गरिएको थियो। सीईओ छनोट समितिमा विज्ञको रुपमा भीम उदास, एकनाथ खतिवडा र अनलराज भट्टराईलाई राखिएको थियो। उनी एकनाथ खतिवडा निकतवर्ती रहेको र पछिल्लो समय एउटै परियोजनामा काम गरेका थिए ।

६ महिना नबित्तै दुई औपचारिक स्पष्टिकरण
गत अगष्ट महिनाको मिति राखेर डिसेम्बर महिनामा करार नाममा सम्झौता गरेका अधिकारीले पछिल्लो ६ महिनामा संस्थाको तर्फबाट दुईवटा लिखित स्पष्टिकरण सामना गरेका छन् । गैरआवासीय नेपाली संघकी कार्यकारी अध्यक्ष रविना थापाबिरुद्ध महासचिवहरुसँग लविङ गरेपछि अध्यक्ष थापाले गत नोभेम्बर महिनामा लिखित स्पष्टिकरण मागेकी थिइन् । उनीमाथि अध्यक्षको निर्देशन नमानेको आरोप थियो । यस्तै संघको डिसेम्बर ६ तारिख सम्पन्न पदाधिकारी बैठकले लिखित रुपमा सचेत गराउने निर्णय गरेको थियो ।

सचिवालयको नेतृत्व कमजोर हुँदा करोडौ नोक्सान

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले हालै राष्ट्रिय आविष्कार केन्द्रलाई ६३ लाख ९ हजार ७२ रुपैयाँ बराबरको सहयोग गरेको थियो । सामाजिक साझेदारीको अवधारणा अन्तर्गत एनआरएनएले २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पपछिको पुर्ननिर्माणका क्रममा सुरु गरेको लाप्राक बस्ती विकास आयोजनाका लागि खरिद गरिएका निर्माण उपकरण, औजार र सवारी साधनको सुरुवाती मुल्य करोडौ रुपैयांको थियो । संघको अचल सम्पतिको सुरक्षाको जिम्मेवारी रहेको काठमाडौंस्थित सचिवालय समयमै संरक्षण गर्न नसक्दा ती सामग्रीहरु कौडीको भाउमा फाल्नु पर्ने अवस्था पुगेपछि संघले बालुवाटारस्थित एनआरएनए सचिवालयले खरिद गरेका फर्निचर तथा सामाग्रीहरु एनआईसीलाई सहयोगस्वरुप हस्तान्तरण गरिएको थियो ।

लिफ्ट ट्रेन्डर विवादमा
गैरआवासीय नेपाली संघको उच्चस्रोतका अनुसार संघको केन्द्रीय कार्यालयमा जडान हुन लागेको लिफ्ट सम्झौता गर्न सचिवालय र पदाधिकारीबीच लामो समयदेखि खिचातानी थियो । गैरआवासीय नेपाली संघले सचिवालयमा लिफ्ट जडान गर्नका लागि मंगलबारको दिन गैरआवासीय नेपाली संघ र कन्टिनेन्टल ट्रेडिंग इन्टरप्राईजेज प्रालिबीच एक सम्झौता पत्र हस्ताक्षर भएको थियो ।
उक्त सम्झौताअनुसार संघको भवनमा आगामी ५ महिनाभित्र लिफ्ट जडान भइसक्ने बताएको छ । सो लिफ्ट जाडनको लागि नेपाल लिफ्ट कम्पनीले ४३ लाख ७० हजारको टेण्डर हालेको थियो भने कन्टिनेन्टल ट्रेडिंग इन्टरप्राईजेज ५६ लाख ५० को टेण्डर हालेको थियो । तर कार्यकारी अधिकृत अधिकारीले भने महँगो टेन्डर ७८ हजारको परेको दावी गरेका छन् ।

सोचे अनुरुप सचिवालयले नतिजा दिएन् : प्रवक्ता सापकोटा
गैरआवासीय नेपाली संघका प्रवक्ता सोम सापकोटाले संघको केन्द्रीय कार्यालयले सोचे अनुसारको नतिजा नदिएको तर्क गर्छन् ।
कार्यकारी अधिकृत अधिकारीसंगको कार्यशैली प्रति सकरात्मक रहेका सापकोटाले शुरुका दिनमा अधिकारीले संस्थाको संरचना नबुझेका कारणले केही अन्योल रहेता पनि पछिल्लो समय राम्रोसंग अघि बढेको बताए। सापकोटाले संघको केन्द्रीय कार्यालयको संरचनानै परिवर्तन गर्नु पर्ने बताउँछन् ।


“एनआरएनएको सचिवालयबाट तयार पारिएको नयाँ सुविधाहरू भएको लक्जरी होटल र नेपालको सबैभन्दा ठूलो मनोरन्जन पार्कको नमुना”

(कार्यकारी अधिकृत अधिकारीले तपाईको ७ महिने कार्यकालको बारेमा केही भन्नु छ? भन्ने नेपालब्रिटेन डट कमको लिखित प्रश्नको उत्तर दिन चाहेनन् )