१२ बैशाख २०८१, बुधबार
Follow Us

इंग्ल्याण्डलाई ‘महिला फिनालिसिमा’ फुटबलको उपाधि

नेपालब्रिटेन संवाददाता
२४ चैत्र २०७९, शुक्रबार ०३:३२

लन्डन । ब्राजिललाई हराउँदै इंग्ल्याण्डको महिला फुटबल टोलीले प्रथम संस्करणको ‘महिला फिनालिसिमा’ फुटबलको उपाधि जितेको छ । इंग्ल्याण्डको वेम्बले रंगशालामा बिहीबार राति भएको खेलमा घरेलु टोली इंग्ल्याण्डले ब्राजिललाई पेनाल्टी सुट आउटमा ४–२ ले हराउँदै उपाधि जितेको हो ।

निर्धारित समयको खेलको २३ औं मिनेटमा इंग्ल्याण्डकी इल्ला टोनेले अग्रता दिलाइन् । तर, ब्राजिलकी सब्स्टीच्युट खेलाडी आल्भेस डा सिल्भाले इन्जुरी समयमा एक गोल गरेपछि खेल पेनाल्टी सुट आउटमा पुगेको थियो । पेनाल्टी सुट आउटमा इंग्ल्याण्डले बाजी मार्‍यो ।

इंग्ल्याण्ड साविक युरोकप महिला च्याम्पियन हो भने ब्राजिल महिला कोपा अमेरिका विजेता हो । यो जितसँगै इंग्ल्याण्डको महिला फुटबल टोलीले आफ्नो अपराजित खेल श्रृंखला ३० खेलसम्म पुर्‍याएको छ । महिला विश्वकप फुटबल आगामी जुलाई २० देखि अगष्ट २० तारिखसम्म अष्ट्रेलिया र न्युजिल्याण्डमा आयोजना हुँदैछ ।

युरोप र दक्षिण अमेरिकाको च्याम्पियन टोलीबीचको ‘फिनालिसिमा कप’ सन् २०२० देखि सुरु भएको अन्तरमहादेशीय फुटबल प्रतियोगिता हो । पुरुषतर्पmको प्रतियोगिता सन् २०२१ देखि सुरु भएपनि महिलातर्फ भने यो वर्ष पहिलो संस्करण हो ।