१६ चैत्र २०८०, शुक्रबार
Follow Us

साहित्य विकास परिषद यूकेले मनायो नयां वर्ष, पुस्तक विमोचन तथा पुरस्कार वितरण

नेपालब्रिटेन डट कम्
२८ चैत्र २०७९, मंगलवार २०:०३

लन्डन । बेलायतस्थित नेपालीहरूको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद यूकेले पुस्तक विमोचन र पुरस्कार वितरण गर्दै नयाँ वर्ष मनाएको छ ।

नेपाली नयाँ वर्ष २०८० पूर्व सन्ध्याको साइतमा पुस्तक विमोचन र पुरस्कार शुशोभन, कविता वाचन, गीतसंगीत प्रस्तुत गरी विविध साहित्यिक कार्यक्रम गरियो ।

वेष्ट लन्डन, एक्टनस्थित एबीआइ कलेजमा आयोजित उक्त समारोहमा प्रमुख अतिथि परिषद्का पदेन संरक्षक राजदूतको प्रतिनिधित्व गर्दै नियोग उपप्रमुख श्रीमति रोशन खनालले नेपाली साहित्यलाई विदेशी भूमिमा फैलाउन दशकौँदेखि अथक परिश्रम गर्ने परिषद्का पदाधिकारी र सर्जकहरूको योगदानको चर्चा गरिन् । उनले नेपाली भाषा साहित्यको विकासमा परिषद्को विशिष्ट योगदान र इतिहास रहेको पनि बताइन् ।

खनालले परिषद्का अध्यक्ष वरिष्ठ कवि कोमल मल्लको नेवारी भाषामा प्रकाशित कवितासङ्ग्रह ‘सफूतयगु सफू’ विमोचन गर्दै पुस्तकभित्र समेटिएका कविताले नेपाली साहित्यिको समृद्धि र सामाजिक चेतनाको विकासमा महत्वपूर्ण योगदान पुरयाउने विश्वास समेत व्यक्त गरिन् ।

समारोहमा परिषद्का प्रमुख सल्लाहकार तथा यती संस्थाका पूर्व अध्यक्ष वरिष्ठ समाजसेवी डा. राघवप्रसाद धिताल ओबीइले परिषदले बेलायती माटोमा नेपाली पहिचान फलाउने फुलाउने सराहनीय काम गरेको बताए । सिर्जना गर्न प्रेरणा जगाउनु र मूल्यांकन गरेर पुरस्कार सम्मानले प्रोत्साहित गर्नु परिषदका महत्वपूर्ण कार्य भएको चर्चा गर्दै डा. धितालले बेलायतमा लामो समयदेखि नेपाली भाषा साहित्य, कला संस्कृति, पत्रकारिता र समाजसेवामा समर्पित सर्जक, समाजसेवी सञ्चारकर्मी र कलाकारलाई सम्मानित गरेर समाजको विकासमा परिषद्ले थप उर्जा जगाएको पनि चर्चा गरे ।

उनले परिषद्को स्थापनाकालदेखि निरन्तर नेपाली भाषा साहित्य, कला संस्कृति जस्ता नेपाली पहिचानलाई प्रवासमा जोगाउन रातदिन लागि पर्ने परिषद्का संस्थापक सुरेशजंग शाह, अध्यक्ष कोमल मल्ल लगायत पदाधिकारीहरूको मिहेनत प्रशंसनीय र उदाहरणीय रहेको पनि बताए ।

अर्का वक्ता यती नेपाली एसोसिएसन यूकेकी अध्यक्ष तथा परिषद्की पूर्व वरिष्ठ कोषाध्यक्ष समाजसेवी पिपला पाण्डे देवानले पुरस्कारबाट सम्मानित हुने सर्जक, कलाकार र साहित्यसेवीहरूको योगदान नेपाली भाषा साहित्यको श्रीवृद्धि गर्न अत्यन्त महत्वपूर्ण रहेको बताइन् । उनले परिषद्ले कवि कलाकारलाई प्रोत्साहन र कदर गर्ने सराहनीय कार्य परिषद्को स्थापनाकाल सन् १९९५ देखि नै गर्दै आएको र आफू पनि परिषदमा रहेर केही भूमिका निर्वाह गर्न पाएकोमा गर्व लाग्ने गरेको बताइन्।

सभापतिको आसनबाट बोल्दै विमोचित पुस्तकका लेखक परिषद्का अध्यक्ष वरिष्ठ कवि कोमलप्रसाद श्रेष्ठ मल्लले नेपालका विविध जनजिब्रोले बोलिने राष्ट्र भाषा लगायत अन्य अन्तराष्ट्रिय भाषाहरूमा नेपाली साहित्यका कृतिहरू रूपान्तरण गरी प्रकाशित गर्ने परिषद्को दीर्घकालीन लक्ष अनुरूप विमोचित आफ्नो पुस्तक नेपाल भाषामा प्रकाशन गरिएको जनाए । उनले नेपाली भाषा साहित्य, कला संस्कृति, सञ्चार तथा समाजसेवाको क्षेत्रमा पुरस्कृत व्यक्तित्वहरूको योगदान सराहनीय र महत्वपूर्ण रहेको समेत चर्चा गरे ।

यस अघि स्वागत मन्तव्य राख्दै परिषद्का सहअध्यक्ष तथा यती नेपाली एसोसिएसन यूकेका निवर्तमान अध्यक्ष कवि ध्रुव केसीले नेपाली भाषा साहित्य र संस्कृति समृद्धिमा परिषद्को गहन र प्रेरणामूलक योगदान रहेको चर्चा गरे ।

समारोहमा परिषद्का संस्थापक तथा निवर्तमान अध्यक्ष वरिष्ठ साहित्यकार कवि सुरेशजंग शाहले विमोचित कविता संग्रह र पुरस्कृत व्यक्तित्वमाथि प्रकाश पारेका थिए भने विमोचित पुस्तकभित्रका नेपाल भाषाका कविताहरूको संक्षेपीकरण उल्था परिषद्का पूर्व अध्यक्ष तथा बीबीसी नेपाली सेवाका पूर्व प्रमुख वरिष्ठ पत्रकार कवि खगेन्द्र नेपालीले गरेका थिए ।

कार्यक्रम सञ्चालन गर्दै परिषद्की सह–अध्यक्ष कवयित्री डा. सुधा श्रेष्ठले सदाझैं परिषद्ले साहित्य, संगीत, पुरस्कार सम्मान, पुस्तक विमोचन र कविता वाचनसमेतको संयोजन गरेर नयाँ वर्ष २०८० आगमनको उल्लास बांड्न कार्यक्रम गरिएको जनाइन् ।

परिषद्ले नयाँ सर्जकहरूको खोजी र प्रकाशमा ल्याउने कार्य गर्दै आएको बताउंदै उनले विमोचित पुस्तकका लेखक र पुरस्कारबाट सम्मानित सबै सर्जकमा वधाई ज्ञापन गरिन् ।

मंगल धुन र राष्ट्रिय गानबाट शुरू भएको समारोहमा प्रमुख अतिथि नियोग उपप्रमुख खनालले यतीकी नवनिर्वाचित अध्यक्ष पिपला पाण्डे देवानलाई खादा ओढाएर परिषद्को तर्फबाट सम्मान गरेकी थिइन् ।

कार्यक्रममा प्रमुख अतिथि खनालले परिषद्का अध्यक्ष मल्लद्वारा लिखित ’सफूतयगु सफू’ कवितासङ्ग्रह विमोचन गर्दा परिषद्का वरिष्ठ कोषाध्यक्ष कलाकार तथा कवि मनोज अन्जानद्वारा सारंगी बजाएर मंगल धुन प्रस्तुत गरिएको थियो ।

यसैगरी प्रमुख अतिथि खनालले विगत तीन दशक भन्दा बढी समयदेखि बेलायतमा नेपाली भाषा साहित्यको श्रीवृद्धिमा निरन्तर योगदान पुरयाउँदै आएका र बेलायतमा एभरेष्ट नेपाली रेडियो तथा नेपाली टिभी प्रसारण गरी नेपाली सञ्चारलाई बेलायती भूमिमा फैलाएर योगदान पुरयाउने परिषद्का संस्थापनकालदेखिका वरिष्ठ सदस्य, यती नेपाली एसोसिएसन यूकेका पूर्वमहासचिव, नेपाली केटरर्स एसोसिएसन यूकेका अध्यक्ष, परिषद्का सल्लाहकार विजय थापालाई परिषद्को ‘रजत महोत्सव विशिष्ट साहित्य सम्मान अभिनन्दन पुरस्कार र पदक’ द्वारा शुशोभन गराइन् ।

साथै उनले बेलायतमा विगत तीन दशक भन्दा बढी समयदेखि नेपाली गीत संगीत क्षेत्रमा निरन्तरयोगदान पुरयाउंदै आएका कोशेली नेपाली सांस्कृतिक परिवार यूकेका पूर्व वाद्यवादन विभाग प्रमुख कलाकार डम्बर सुव्वालाई ‘विशिष्ट नेपाली कला साहित्य सम्मान पुरस्कार पदक’ प्रदान गरिन् ।

समारोहमा खनालले नेपालबाट नई प्रकाशनको रजतमहोत्सवका अवसरमा बेलायतका सर्जक परिषद्की सहअध्यक्ष कवयित्री डा. सुधा श्रेष्ठलाई प्रदान गरिएको ’नइ रजत महोत्सव पदक पुरस्कार’ प्रदान गरेकी थिइन् ।

समारोहको दोस्रो चरणमा गीतसङ्गीत प्रस्तुत र कविता वाचन गरिएका थिए । कलाकारहरू कोसेलीका संस्थापक अध्यक्ष वरिष्ठ कलाकार मदन थापा, वसन्त रायक्षेत्री, प्रमोद शर्मा र मनोज अन्जानले गीत सङ्गीत प्रस्तुत गरे भने वसन्त रायक्षेत्री, वासुदेव सापकोटा, ध्रुव केसी, रेशम अर्याल, मनोज अन्जान, रूकमणी मानन्धर, डा. सुधा श्रेष्ठ, कोमलप्रसाद श्रेष्ठ मल्ल, खगेन्द्र नेपाली र सुरेशजङग शाहले कविता वाचन गरे । अमेरिकाबाट वाचनका लागि कविता पठाउने वरिष्ठ साहित्यकार गंगा लिगलको कविता पनि वाचन गरिएको थियो ।

समारोहमा नेपाली राजदूतावासका सैनिक सहचारी रत्न गोदार र बीबीसी नेपाली सेवाका पूर्व प्रस्तोता वरिष्ठ पत्रकार सुमन खरेल लगायत विभिन्न संघसंस्थाका पदाधिकारीहरूको उपस्थिति थियो ।

कार्यक्रमको अन्त्यमा जलपान आयोजना गरिएको थियो । समारोह सफल बनाउन आर्थिक तथा भौतिक सहयोग गर्ने संस्थाका वरिष्ठ व्यक्तित्वहरू डा. राघवप्रसाद धिताल ओबीइ, डा. जनककुमारी धिताल, डा. सुधा श्रेष्ठ, ध्रुव केसी, मनोज अन्जान र पुस्तक प्रकाशनमा डा. धिताल दम्पति, मिनु छिव्बर, महन्त श्रेष्ठ, पिपला पाण्डे देवान, सुरेशजंग शाह, मंगलमान शाक्य, प्रा. डा. सबिना श्रेष्ठ, कोहीनूर मल्ल तथा हल प्रायोजन गर्ने एबीआई कलेजका प्रोप्राइटर तथा परिषद्का सल्लाहकार कृष्ण भट्ट लगायत सहभागी सम्पूर्ण अतिथि, कवि कलाकारमा परिषद्का अध्यक्ष कोमल मल्लले परिषद्को तर्फबाट धन्यवाद दिएका थिए ।