८ बैशाख २०८१, शनिबार
Follow Us

म्यानचेस्टर सिटीले लेष्टर सिटीलाई हरायो

नेपालब्रिटेन संवाददाता
३ बैशाख २०८०, आईतवार १०:३२

लन्डन । म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा लेष्टर सिटीलाई हराएको छ । शनिबार राति आफ्नै मैदानमा भएको खेलमा म्यानचेस्टरले लेष्टरलाई ३–१ ले हराएको हो ।

खेलको पाँचौं मिनेटमा जोन स्टोन्सले गोल गर्दै सिटीलाई सुरूवाती अग्रता दिलाएका थिए । १३ औं मिनेटमा अर्लीङ ब्रट हालाण्डले पेनाल्टीमार्फत गोल गर्दै सिटीलाई दोब्बर अग्रता दिलाए । यसैगरी, २५ औं मिनेटमा हालाण्डले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ३–० को अग्रता दिलाए । त्यसपछि ७५ औं मिनेटमा केलेची इहिनाचोले गोल गर्दै लेष्टरलाई ३–१ को स्थितिमा ल्याए । त्यसपछि बाँकी समयमा थप गोल हुन नसकेपछि सिटी ३–१ ले विजयी भयो ।

यो जितसँगै म्यानचेस्टरले प्रिमियर लिगको तालिकामा शीर्ष स्थानको आर्सनलसँगको दुरीलाई ३ अंकमा झारेको छ । ३० खेलबाट आर्सनलको ७३ अंक छ भने म्यानचेस्टर सिटीको ७० अंक छ । सिटीले अब प्रिमियर लिगको ३१ औं खेलमा अप्रिल २६ तारिखमा आर्सनलको सामना गर्दैछ । उक्त खेल लिगको अघोषित फाइनल जस्तै बनेको छ ।

प्रिमियर लिगकै अर्को खेलमा शनिबार राति चेल्सीलाई ब्राइटनले २–१ ले हराउँदा बर्नमाउथले टोटनह्याम हट्सरपरलाई ३–२ ले पराजित गरेको छ । यसैगरी, एस्टन भिल्लाले न्युकासल युनाइटेडलाई ३–० ले, फुल्हमले एभर्टनलाई ३–१ ले, क्रिष्टल प्यालेसले साउथह्याम्पटनलाई २–० ले तथा वुल्भरह्यम्पटन वान्डरर्सले ब्रेन्टफोर्डलाई २–० ले हराएका छन् ।