१५ बैशाख २०८१, शनिबार
Follow Us

राष्ट्रिय स्वतन्त्र पार्टी बेलायतको अध्यक्षमा पवन शर्मा चयन

नेपालब्रिटेन डट कम्
३ बैशाख २०८०, आईतवार २३:१९

लन्डन । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बेलायतमा आफ्नो संगठन बिस्तार गरेको छ ।

बेलायतस्थित पार्टीका समर्थकहरुको सहभागितामा रास्वपा प्रवास सम्पर्क विभाग बेलायत गठन गरिएको हो । युवा सामाजिक अभियन्ता पवन शर्माको नेतृत्वमा गठित विभागको समितिमा यहाँस्थित विभिन्न क्षेत्र र पेशामा आवद्ध नेपालीलाई समेटिएको छ ।

आइतबार बिहान आयोजित पहिलो जुम भेलामा विभागको टिम सार्वजनिक गरिएको हो । पवन शर्मा संयोजक रहेको ११ सदस्यीय समितिको उपाध्यक्षमा कोशलेश्वर ढकाल, महासचिव मनोज न्यौपाने, सचिव यज्ञ राज कार्की, कोषाध्यक्ष बाबु न्यौपाने र सहकोषाध्यक्षमा माया गुरुङ छन् । सदस्यहरुमा शिव कंडेल, सौरभ ओझा, शिव भण्डारी, निलिमा खड्का र डा राजु सापकोटा छन् ।

समिति सार्वजनिक गर्ने भेलालाई रास्वपा सांसद सुमन श्रेष्ठले सम्बोधन गरेकी थिइन् । पार्टीको नवगठित बेलायत सम्पर्क विभागलाई शुभकामना दिंदै उनले रचनात्मक सहयोगको अपेक्षा रहेको बताइन् ।

यसैबीच, रास्वपा प्रवास सम्पर्क विभाग बेलायतको घोषणासभा आगामी साता आयोजना हुने भएको छ । अप्रिल २३ तारिख आइतबार बेलायतको पिटरबरोमा एक औपचारिक सभाबीच विभाग घोषणा गर्ने तयारी छ ।