७ बैशाख २०८१, शुक्रबार
Follow Us

हेल्प नेपालको सहयोगार्थ अर्को मुखर्जीको सांगीतिक प्रस्तुति

नेपालब्रिटेन डट कम्
११ बैशाख २०८०, सोमबार १९:१९

लन्डन । चर्चित भारतीय गायक अर्को मुखर्जीले आइतबार थुप्रै पुराना नेपाली लोक–आधुनिक गीतहरु सुनाएर नेपाली दर्शकहरुलाई मन्त्र मुग्ध पारेका छन्।

दि ट्रामसेड थियटर, वुलवीचमा आयोजित सांगीतिक साँझमा मुखर्जीले आफ्नै मौलिक शैलीमा स्वर्गीय लोकगायक झलकमान गन्धर्वका गीतहरु सुनाएका थिए।

‘तिम्रो नै माया लाग्दछ साइँली,’ ‘अल्लारे नानी केसी’ जस्ता गीतहरु सुनाएर उनले दर्शकहरुको मन जितेका थिए।

सन् २०१६ मा काठमाडौँमा एउटा ट्याक्सीमा स्वर्गीय गन्धर्वको गीत सुने पछि आफुले स्वर्गीय झलकमानको बारेमा जानकारी पाएको उनले बताए। नेपालमा तराईदेखि हिमालसम्म फरक फरक जीवनशैलीसंगै गीतहरु फरक फरक रहेको भन्दै उनले गीतहरु पनि गएर सुनाए।

कोलकातामा जन्मिएका र सानै उमेरदेखि दार्जीलिंग, इलामको भ्रमण गरेका अर्कोले संसारभरि जहाँ गए पनि आफुले नेपालीहरुको माया पाउने गरेको बताए। ‘संगीतको कुनै सीमा हुँदैन । म अर्को हैन, आफ्नै हुँ,’ उनले भने।

त्यस्तै दाजुभाइ ब्याण्डका गायक अमित मगरले लोकप्रिय नेपाली गीतहरु सुनाएर दर्शकलाई नचाएका थिए।

कार्यक्रमको शुरुमा हेल्प नेपाल नेटवर्क युकेका अध्यक्ष सचिन श्रेष्ठले सबैलाई स्वागत गर्दै नेटवर्कले नेपालका एक सय बढी स्कुलहरुमा कक्षा कोठा निर्माण, लाइब्रेरी तथा इ-लाइब्रेरी स्थापना गर्नुका साथै सिन्धुपाल्चोक, दोलखा लगायतका जिल्लाहरुमा भूकम्पबाट क्षतिग्रस्त विद्यालय भवनहरुको पुनर्निर्माणमा पनि सघाएको बताए।

उनले कार्यक्रमबाट उठेको सबै रकम नेटवर्कले धुलिखेलमा संचालन गरिरहेको बाल गृहमा अध्ययनरत बालिकाहरुको पठनपाठनका लागि खर्च गरिने बताए। सन् २०१४ देखि सञ्चालित उक्त गृहमा अहिले २३ जना असहाय बालिका बसेर पठनपाठन गरिरहेका छन्।

हेल्प नेपाल नेटवर्क युकेका ट्रस्टी प्रसिद्ध प्रधानले प्रायोजक, स्वयम्सेवी तथा सबै दर्शकहरुलाई धन्यवाद दिए भने अर्का ट्रस्टी डा सुदर्शन गुरुङले रोचक ढंगले कार्यक्रम संचालन गरेका थिए।

“मातृभूमिको लागि महिनामा एक पौण्ड वा एक डलर” भन्ने नारा दिएर सन् १९९९ मा बेलायतबाट सो नेटवर्क (www.helpnepal.net) स्थापना गरिएको थियो। नेटवर्कले नेपालमा शिक्षा, स्वास्थ्य, आपत्कालीन मानवीय सहायता लगायतका क्षेत्रमा सहयोग पुराउँदै आएको छ।