लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का महासचिव डा. केशव पौडेलले संघले विश्वभर सदस्यता वितरणको लागि प्रयोग गरेको एमआईएस (मेम्बर इन्फरमेसन सिस्टम) सुरक्षित रहेको बताएका छन् ।
संघको स्मार्ट एनआरएनएका संयोजक समेत रहेका डा. पौडेलले एनआरएनए क्यानाडाको आयोजनामा आइतवार भएको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै सदस्यहरुको व्यक्तिगत विवरण सुरक्षित राखिने बताए ।
उनले संघको प्रयोजनका लागि लिइएको व्यक्तिगत विवरण संघको महाधिवेशन सकिएको ४५ दिन पछि स्वतः सिस्टमबाट हट्ने बताए । उनले अहिले सम्मकै उत्कृष्ट र सुरक्षित सिस्टमबाट संघले सदस्यता वितरण शुरु गरेको बताए । उनले पहिलेको भन्दा परिस्कृत रुपमा सिस्टम बनाइएको बताए ।
डा. पौडेलले संघको विद्यानमै विश्वभरका सदस्यहरुको विवरण केन्द्रीय प्रणालीमा लैजाने व्यवस्था गरेको हुँदा सबै राष्ट्रिय समितिलाई सहयोगको लागि आग्रह गरे ।
उनले अहिलेको सिस्टमले समस्या देखिएमा विद्यानमा परिवर्तन गरेर अघि बढ्नु पर्ने बताए । उनले सदस्यहरुले शेल्फि मार्फत फोटो दिएका सदस्यहरुले फेसभेरिफिकेसन मार्फत मतदान गर्न सकिने बताए । गत १० औं महाधिवेशनमा १५ वटा देशले अनलाइन मार्फत नेतृत्व चयन गरेको बताए ।