रसुवा । गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा माटोमुनि पुरिएकी ६ वर्षिया बालिकाको सशस्त्र प्रहरीले शुक्रबार साँझ उद्धार गरेको छ ।
भोटेकोशी बाढीमा परेकाहरुको खोजी तथा उद्धारमा खटिएको सशस्त्र प्रहरीले माटोमुनि बालिका रोईरहेको आवाज सुनेपछि तत्काल खोजीकार्य शुरु गरी माटोमुनि पुरिएको अवस्थामा ती बालिकालाई फेला पारेको थियो ।
उद्धार पश्चात उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट टिमुरेमा ल्याई न्यानो बनाई राखिएको थियो । सो पश्चात उनको अवस्था कमजोर हुँदै गएपछि थप उपचारको लागि हेलिकप्टर मार्फत काठमाडौ ल्याउने प्रयास गरिएको थियो ।
रातको समय र प्रतिकुल मौसमका कारण उनलाई उपचारको लागि काठमाडौ ल्याउन कठिनाई परेको छ । बाढी प्रभावित क्षेत्रमा बेपत्ता भएकाहरुको खोज तथा उद्धार कार्यमा सशस्त्र प्रहरी बल नेपालको टोली निरन्तर परिचालन भईरहेको छ ।