१२ बैशाख २०८१, बुधबार
Follow Us

बीसौँ नेपाल अध्ययन दिवस सम्पन्न

नेपालब्रिटेन डट कम्
१४ बैशाख २०८०, बिहीबार १८:४७

लण्डन । हडर्सफिल्ड युनिभर्सिटी र नेपाल बेलायत प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा बीसौँ नेपाल अध्ययन दिवस सम्पन्न भएको छ ।

दुई दिनसम्म चलेको सो सम्मेलनमा करिब ७० अध्येताहरू प्रत्यक्षरूपमा उपस्थित भएका थिए भने करिब २५ जना अनलाइनबाट सहभागी थिए ।

स्वास्थ्य, शिक्षा,जेन्डर, सामाजिक विकास, सँस्कृति अध्ययन, आप्रवासन, प्रकोपको तयारी लगायत विभिन्न विधामा करिब ५० वटा प्रस्तुति पेश गरिएको थियो । साथै नेपाली तथा हिमालयन स्टडिजका प्रोफेसर माइकल हटको कार्यको पनि सराहनास्वरुप एक सत्र चलाइएको थियो ।

हडर्सफिल्ड युनिभर्सिटीका एसोसियट डीन प्राध्यापक पदम सिम्खडाले सम्मेलनको आयोजना गर्न पाउनु हडर्सफिल्ड विश्वविद्यालयका लागि राम्रो अवसर भएको र सन् १९९२ पछि स्थापित विश्वविद्यालयहरूमा हडर्सफिल्ड यस्तो सम्मेलन आयोजना गर्ने पहिलो विश्वविद्यालय भएको बताउनुभयो ।

यो नेपालका बारेमा अनुसन्धान गरिरहेका अध्येता र प्राज्ञहरूका लागि आफ्ना अध्ययनको नतीजा सुनाउने र नेपाल स्वास्थ्य अनुसन्धान परिषदका प्रतिनिधिहरूसित प्रत्यक्षरूपमा नीति कार्यान्वयनका बारेमा अभिव्यक्त गर्न पाउने अवसर भएको प्राध्यापक सिम्खडाको भनाइ थियो ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव डा प्रदीप ज्ञवालीले सम्मेलनमा सहभागी हुन पाउँदा खुशी लागेको र धेरै वटा प्रस्तुतिहरु नीतिसित सान्दर्भिक रहेको बताए । नेपाल सरकारले नीतिका लागि दिइएका सुझावलाई ग्रहण गर्ने उनले वचन दिए ।

सम्मेलनमा वक्ताका रूपमा डा सुसन आचार्य, प्रोफेसर तेजेन्द्र फेराली र प्रोफेसर साइमन रूस्टन रहेका थिए । रूस्टनले संघीयताबाट नेपालको स्वास्थ्य प्रणालीमा परेको असरका बारेमा गरिएको अनुसन्धानका बारेमा बताएका थिए भने फेरालीले नेपालको उच्च शिक्षामा राजनीति र आचार्यले स्वास्थ्य साक्षारता र कोभिड १९ बाट अन्तरपुस्ता सिकाइका बारेमा बताएकी थिइन् ।

यस्तै दुईवटा राउण्ड टेबल पनि चलाइएको थियो ।

ब्रिटेन नेपाल प्रज्ञा प्रतिष्ठानका अध्यक्ष डा सारा पार्करले सम्मेलनमा विविधता र धेरै विषयमा प्रस्तुतिहरू देखेर आफूलाई खुशी लागेको बताइन् ।

आयोजक समितिका सदस्य डा राजिव साहले विश्वविद्यालयको स्कुल अफ ह्यूमन एण्ड हेल्थ साइन्सेजको सामर्थ्यका बारेमा प्रकाश पारे । ”हाम्रा प्राज्ञ र पीएचडी अनुसन्धाताहरूले मातृशिशु स्वास्थ्य र हेल्थ सिस्टम बारेको छलफललाई नेतृत्व गरेका छन्” उनले भने ।