२४ बैशाख २०८१, सोमबार
Follow Us

लडेर उठ्ने मान्छे नै अब्बल हुन्छ

नेपालब्रिटेन डट कम्
१४ चैत्र २०७३, सोमबार ०७:०९

final-picसुमन गुरुङ, मिस चितवन

‘सबै चम्किने वस्तु हीरा हुँदैनन, असल व्यक्तित्व भएको मानिस सदैव चम्किन्छन्’ भन्दै अन्तिम प्रतिस्पर्धामा उत्तर दिएर भरतपुर महानगरपालिका–१ की सुमन गुरुङले मिस चितवनको ताज हात पारिन् । नाम सुमन अर्थात् आँशु भए पनि दृढनिश्चयी उनी यतिबेला वीरेन्द्र क्याम्पस भरतपुरमा जेनरल बाइलोजी स्नातक दोस्रो वर्ष अध्यन गर्दैछन् । सुमन मिस चितवन भएसँगै उनको व्यस्तता बढेको छ । उनले मिस नेपालमा वाइल्ड कार्ड इन्ट्रीसमेत पाएकी छन् । उनी मिस नेपालमा चितवनको नाम चम्काउने सुरमा छिन् । यिनै विषयमा सुमनसँग सिर्जना अर्यालले गरेको कुराकानी :

० मिस चितवन हुँदा कस्तो महसुस भयो ?
– खुसी छु, विजेता बन्ने लक्ष्य पूरा भएको छ ।

० सफलताको श्रेय कसलाई जान्छ ?
– मेरी आमा नै यो सुमनको शक्ति र विश्वास हो, म जे छु सबै मेरी आमा सीता गुरुङको देन हो । मेरा दाइ अमन गुरङ र मिस चितवनका आयोजक, जसले मलाई यो अवसर दिएर जित्ने बाटोे देखाउनुभयो र कोरियोग्राफर सञ्जीव श्रेष्ठलगायतलाई यसको श्रेय दिन्छु ।

० बुबाको भूमिका छैन ?
– मेरो बुवा कस्तो हुनुहुन्छ, बाबाको काख कस्तो हुन्छ, मलाई अनुभव नै छैन । यतिसम्म कि मेरो र बाबाको तस्बिरसमेत सँगै छैन । उहाँले म दुई वर्षको हुँदा संसार छोडेर जानुभयो । उहाँको आशीर्वाद त ममा पक्कै छ होला, यो सफलता बाबाको ऊर्जाबिना सम्भव थिएन । उहाँको साहसी रगतले नै ममा क्षमता आएको हो, आत्मविश्वास जगाएको हो भन्न मलाई किंचित धक लाग्दैन ।

० बुबाको अभाव कत्तिको महसुस गर्नु हुन्छ ?
– (भावकु बन्दै) बाबा भइदिएको भए मेरो शिरमा मिस चितवनको ताज देखेर कति खुसी हुनुहुन्थ्यो होला, म त्यो ताज लगाएर बाबाको काखमा बस्थें । नपाइने कुराको कल्पनामा रमाउनु हुँदैन । बाबाको कमी मामुले कहिल्लै हुन दिनुभएको छैन, मेरो मामुले बाबा र आमाको दुवै भूमिका निभाएर हामीलाई यो अवस्थासम्म ल्याउनु भएको छ ।

० तपाईं विज्ञानको विद्यार्थी, यस्तो सुन्दरी प्रतियोगितामा कसरी सहभागी हुनुभयो ?
– सबैभन्दा ठूलो कुरा इच्छाशक्ति हो । मलाई सानैदेखि नै यस्ता कन्टेस्ट मनपथ्र्यो । मैलै एसएलसी दिएपछि मिस एसएलसीमा सहभागी भएँ । त्यसक्रममा म शीर्ष १६ भित्र परेकी थिएँ । इन्टर पढ्ने बेला म्यानेजेमेन्ट लिएर पढ्नु भन्ने मामु, दादाको सल्लाह थियो । तर मैल ऐपेक्स कलेजमा विज्ञान विषय लिएर पढ्ने निर्णय लिएँ । पढ्ने क्रममा मिस तमुस्योमा पनि सहभागी भएँ र अन्तिम चारमा पर्न सफल भएँ । पढाइमा पनि कुनै असर पर्न दिइनँ, राम्रो अंक ल्याएर पास गरें । गर्छु भन्ने संकल्प भयो भने पूरा गर्न सकिने रहेछ ।

० मिस चितवनको ट्यालेन्ट सोमा अभिनय पनि राम्रो गर्नुभएछ नि ?
– मिस चितवनको उपाधि जितेपछि त राम्रो नै गरेछु जस्तो लाग्यो । त्यो सो हेर्ने दर्शक र प्रतिस्पर्धी साथीहरूले पनि राम्रो गरेको भन्दै ममा उत्साह थप्नुभयो । अभियन मेरो सौख हो । मेरो अभियनयलाई मिस चितवन प्रतियोगिताले सार्वजनिक गर्ने अवसर पनि दियो ।

० त्यसभन्दा पहिला अभियन गर्नुभएको थिएन ?
– गर्थें, तर ऐना अगाडि मात्र । मिस चितवन प्रतियोगिताले मलाई सार्वजनिक रूपमा अभिनय कला देखाउने अवसर पनि दियो ।

० तपाईका अरु पनि सौख छन् ?
– मलाई नाच्न पनि मनपर्छ, फुर्सदको बेला मेकअप, आर्ट अनपेपरमा गर्न मन लाग्छ । दुलही पनि राम्रोसँग सिंगार्छु, मोडलिङमा पनि सौख छ ।

० भोलिका दिनमा तपाईंलाई कुन क्षेत्रमा देख्न पाइएला ?
– अभियन कला नै मेरो प्राथमिकतामा पर्छ । सम्भवतः त्यही क्षेत्रमै देख्न पाउनु हुन्छ । जेनरल बाइलोजी लिएर पनि उच्चशिक्षा हासिल गर्दैछु । अभिनयसँगै अध्ययनको विषयलाई पनि पेसा बनाउन सक्छु ।

० खानामा सौख ?
– खानामा त खासै चुजी छैन, जस्तो पनि मनपर्छ । मासुको परिकार मनपर्छ, खानामा मासु भयो भने खुसी लाग्छ, चिकेन चाउमिन मेरो रोजाइको खाना हो ।

० फिगरले त मासु खाए जस्तो लाग्दैन ?
– मासु मज्जाले खान्छु । शरीरका लागि सन्तुलित भोजन आवश्यक छ, तर साथमा व्यायाम पनि जरुरी हुन्छ । म हरेक दिन बिहान र बेलुका योगा, एरोविक, डान्सलगायत शारीरिक व्यायाम गर्छु ।

० आफ्नो तौल र उचाइप्रति सन्तुष्ट हुनुहुन्छ ?
– उमेरअनुसार मेरो तौल र उचाइ औसतमा सन्तुलित छ भन्ने ठान्छु । अहिले म ४७ केजी ५ फिट ४ इन्च अग्लो छु । यो उचाइ मिस नेपाल प्रतियोगिताका लागि फिट हुन्छ ।

० मिस नेपाल अश्मी श्रेष्ठलाई पहिलोपटक भेट्दा कस्तो लाग्यो ?
– राम्रो त पहिला नै लाग्थ्यो, पहिलोपटक मिस चितवनको फाइनल राउन्डमा भेटें । उहाँको हातबाट मिस चितवनको ताज लगाउन पाउँदा खुसी लाग्यो ।

० कुन नेपाली नायिकाको अभियन मनपर्छ ?
– सबै नायिकाको भूमिका कुनै न कुनै कोणबाट उल्लेखनीय नै छ, सबै नायिका मन पर्छन् । अहिलेको पुस्ताका नायिका प्रियंका कार्की, साम्राज्ञीराज्य लक्ष्मीलगायतका नायिकाको अभियन मलाई राम्रो लाग्छ ।

० तपाईलाई मन नपर्ने के हो नि ?
– मलाई नकारात्मक सोच र चिन्तन भएको व्यक्ति मन पर्दैन । इच्छाशक्ति भयो भने मान्छेले सबै कुरा सिक्न सक्छ, तर नकारात्मक सोच र चिन्तन परिवर्तन गर्नुपर्छ । सकारात्मक सोच नै सफलताको आधार हो, देश र समाज सबैको सफलताको आधार नै सकारात्मक सोच र चिन्तन हो ।

० अन्तमा केही भन्नु छ ?
– हिँड्ने मान्छे नै लड्छ, लडेर उठ्ने मान्छे नै अब्बल हुन्छ । सबैलाई नयाँ वर्ष २०७४ को शुभकामना दिन चाहन्छु ।