१५ चैत्र २०८०, बिहीबार
Follow Us

नेपालमा सिप, ज्ञान र प्रविधि लगानीमा जोड

नेपालब्रिटेन डट कम्
२६ बैशाख २०८०, मंगलवार १३:०३

प्राग । गैरआवासीय नेपाली संघको जारी १५ औं युरोपेली सम्मेलनमा सहभागी वैज्ञानिक, विज्ञ र प्राज्ञिक प्रतिनिधिहरुले नेपालमा आर्थिक लगानीका अतिरिक्त सिप, ज्ञान र प्रविधिको लगानीमा जोड दिएका छन् ।

चेक रिपब्लिकको राजधानी प्रागमा गत आइतवार आयोजित सम्मेलनमा बोल्दै विज्ञ राकेशचन्द्र प्रजापतिले नेपालको विश्वबजारमा हालसम्म सेटलाइट क्षेत्रमा रहेको पहुँचको बारेमा आफ्ना भनाइ राखेका थिए । उनले नेपालमा स्पेश टेक्नोलोजी सम्बन्धी अध्ययन र अध्यापन गर्न जनशक्ति कम रहेको बताए । उनले सन् २०२४ मा नेपालले सेटलाइट बनाउने तयारी गरेको बताए ।

गैरआवासीय नेपाली संघका उपाध्यक्ष तथा भौतिकशास्त्री डा. हेमराज शर्माले विदेशमा सिकेको ज्ञान र सिप नेपालमा लैजानको लागि आवश्यक वातावरण बन्नु पर्नेमा जोड दिए । उनले नेपालमा अहिलेको अवस्थामा आर्थिक लगानीका अतिरिक्त प्रविधि भित्राउन अभियानमा लाग्नु पर्ने बिचार व्यक्त गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सिप तथा ज्ञान ट्रान्फरको लागि पुस्ताको प्राथामिकतामा निर्भर हुने बताए । उनले नेपालको विकासको लागि आफ्नो दृष्टिकोणमा परिवर्तन ल्याउन सके मात्र राष्ट्र समृद्धीको बाटोमा लाग्ने बताए । उनले विदेशमा बस्ने नेपालीहरुलाई आफूले सिकेको ज्ञान र सिप नेपालको नीति निमार्णमा सदुपयोग गर्न आग्रह गरे । उनले नेपालमा अहिले सुशासन आवश्यक रहेको बताए ।