१५ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएनमा किन बन्दैनन् राम थापाहरु अध्यक्ष ? (टिप्पणी)

नेपालब्रिटेन डट कम्
१ जेष्ठ २०८०, सोमबार ११:२२

“सत्ता, पैसा र बलमिचाइको भरमा पुनः नेतृत्व स्थापित गर्न खोजिए जसरी देशमा राजनीतिक दलहरु बिरुद्ध घण्टी बजेको छ त्यसरी नै संघका अभियान्ताबिरुद्ध अर्को बिद्रोह हुने संस्था संधैका लागि विघटनतिर जाने खतरा बढेकोछ ।”

गैरआवासीय नेपाली संघको १५ औं यूरोपेली क्षेत्रीय सम्मेलन गत साता चेक रिपब्लिकाको राजधानी प्रागमा चल्दै थियो । गैरआवासीय नेपाली संघको १० औं महाधिवेशनको फुटलाई जोड्ने उद्देश्यले मिलाप नामको एउटा सेशनमा बक्ताहरु बोल्दै थिए । गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. हेमराज शर्माले आगामी अक्टोवर महिनामा हुने संघको ११ औं महाधिवेशनमा अध्यक्ष पदको लागि दावी रहने संकेत गर्दै भने– ‘आज यो हलमा उपस्थित कसैलाई पनि डा. हेमराज शर्मा अध्यक्ष बन्छ भन्ने लागेकै छैन् । यो संस्थामा १४ वर्षदेखि लगातर लागेको छु । संस्थाको महासचिव भएर सफल कार्यकाल सम्पन्न गरे र अहिले वरिष्ठ उपाध्यक्ष हुँ । र, पनि नेतृत्वमा जान रोक्न खोजिदैछ ।’

उनले संघको विभाजनका कारण खोज्न र आगामी दिनमा थप संस्थालाई ड्यामेज हुन नदिन हिजोको निर्वाचनमा संस्थापकहरु भीम उदास र रामप्रताप थापा जस्ता दिग्गजहरुलाई नेतृत्वमा आउन नदिने कारण खोज्न सुझाव दिए । उनले घुमाउँरो पारामा संस्थामा सबै धनाड्य र पैसा हुनेहरु मात्र नेतृत्वमा जान सक्छन् भन्ने मान्यता भएको बताए ।

गैरआवासीय नेपाली संघ अहिले चार टुक्रामा विभाजित छ । संस्थाभित्र पार्टीगत गुटउपगुठ झाँगिएको छ । संघको ११ औं महाधिवेशन तथा अन्तराष्ट्रिय सम्मेलन आगामी अक्टोवर महिनामा हुने तय गरिएसँगै नयाँ नेतृत्व चयन गर्नको लागि संघका राष्ट्रिय समितिमा निर्वाचनको प्रकृया सुरु भएका छन् । करिब ५० देशले अहिले धामधम सदस्यता वितरण सुरु गरेको प्राप्त समाचारमा जनाइएको छ ।

१० औं महाधिवेशनमा नेतृत्व चयन प्रकृयामा राजनीतिक दल र नेपाल सरकारकै ठाडो हस्तक्षेपका कारणले संस्था विभाजनमा पुगेता पनि यसको विगतको जारासम्म पुगेर हेर्नुपर्ने हुन्छ । संस्थालाई यो हविगत बनाउने मुख्य पात्रहरु को–को हुन् भनेर विश्लेषण हुनुअघि संघको नेतृत्व चयनमा स्थापना कालदेखि भएका बल मिच्याइको चर्चा हुन आवश्यक छ । गैरआवासीय नेपाली संघको सामाजिक संस्था हो । तर, संस्थाको नेतृत्व चयनमा संस्थापकदेखि राजीतिक दलहरुको अनावश्यक चासो र हस्तक्षेपका कारणले अहिले गैरआवासीय नेपाली संघ चार टुक्रामा विभाजित भएको हो भन्दा अतियुक्ति हुँदैन ।

सन् २००३ मा स्थापना भएको संघको तीन कार्यकाल संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले समालेका थिए । डा. महतोको बहिरर्गमनसँग नेतृत्वमा संकट आउने आकलन गरिएको थियो । संस्थापक मध्येका एक रामप्रताप थापा संघको नेतृत्वको लागि लाइनमा थिए । लामो समयदेखि जर्मनीलाई कर्मथलो बनाएका थापा गैरआवासीय नेपालीहरुबीच निकै लोकप्रिय पात्र थिए । थापाको सालिन र भद्र स्वभावको फाइदा उठाएर उनलाई नेतृत्वमा पुग्न नदिन अनेकन तिकडमका खेल भए ।

गैरआवासीय नेपाली संघको चौथो महाधिवेशनमा थापा सर्वसम्मत अध्यक्ष चयन भएका थिए । तर सो सहमतिलाई रातारात उल्लंघन गर्दै तत्कालिन अर्का जुनियर मध्येका एक देवमान हिराचनलाई बलजस्ती नेतृत्वमा स्थापित गरियो । गैरआवासीय नेपाली संघलाई स्थापनाकालदेखि नियालेका बुद्धिजीवीहरु संघको नेतृत्वको विवादको जोड त्यही बिन्दुलाई मान्छन् ।

कयौंले रामप्रताप थापाको पाप लागेको समेत भन्ने गर्छन् । थापाको लगनशीलाता, क्षमता र इमान्दारिताका कुनै कमी थिएन् ।

उनी व्यापारी वा धनाड्य नभएकै कारणले नेतृत्वमा पुग्ने बेलामा बलि बेदीमा चढाइयो । संघको पाँचौं महाधिवेशनबाट जापानका व्यवसायी देवमान हिराचनको उदय भयो । दुई वर्ष गैरआवासीय नेपाली संघ शुन्य प्रायः संचालनमा आयो । उल्लेख्य काम केही भएनन् ।

थापालाई उछिनेर संघको नेतृत्वको बागडोर सन् २०११ मा जीवा लामिछानेले लिए । लामिछानेको कार्यकालले संघलाई संजिवनी बुटी बन्यो । संस्था नेपाल सरकारमा दर्ता भयो । कयौं गैरआवासीय नेपाली संघका मुद्दाहरु स्थापित हुन थाले । लामिछाने नेतृत्वबाट बहिरर्गन हुदै गर्दा नेतत्वमा अर्को बलमिच्याई गरियो । संस्थापक थापा पुनः नेतृत्वमा आउने चाहना राख्दा राख्दै अट्रेलियन धनाड्य शेष घलेले संस्थामा डेब्यु गरे ।
उनीसँग संस्थाका काम गरेको अनुभव थिएन् । घनाड्य भएकै कारणले संस्था संचालनमा योग्य ठानियो र नेतृत्व हस्तान्तरण गरियो । छौटौ महाधिवेशनबाट संघको नेतृत्व समालेका घलेले दुई कार्यकाल संस्थाको नेतृत्व लिए । उनको उत्तराधिकारी थिए । तत्कालिन उपाध्यक्ष भवन भट्ट, उनी स्वभाविक दावेदार थिए तर घलेले आफ्नी श्रीमति जमुना गुरुङलाई नेतृत्वको प्रतिस्पर्धामा उतारे ।

गुरुङको आगमनलाई गैरआवासीय नेपालीहरुले रुचाएनन् । लज्जापद रुपमा हराए । संघको नेतृत्व भट्टले लिन सफल भए । सातौं महाधिवेशनसम्म आइपुग्दा तत्कालिन उपाध्यक्ष कुमार पन्त संस्थाको अध्यक्षको लागि स्वभाविक दावेदार थिए । उनले संघको महासचिव तथा दुई कार्यकाल उपाध्यक्ष सफतापूर्वक सम्पन्न गरेका थिए ।

संस्थाभित्र निकै लोकप्रिय रहेका पन्त स्वभाविक रुपमा अध्यक्ष चयन हुनसक्ने अवस्था रहदारहदै बेलायतस्थित एक व्यवसायी कुल आचार्यले अरुको उस्कावटमा पन्तबिरुद्ध उम्मेदवारी दिए । उनी पराजित भए । ९ औं महाधिवेशनसम्म आइपुग्दा आचार्यले पछिल्लो हारलाई स्वीकार गर्न सकेका थिएनन् ।

उनीले संस्थाका वरिष्ठ उपाध्यक्ष डा. बद्री केसीबिरुद्ध फेरि उम्मेदवारी घोषणा गरे तर उम्मेदवारी दर्ता गर्न आँट गरेनन् । उनै आचार्य हुन् गैरआवासीय नेपाली संघ यूकेको अध्यक्ष पद स्वभाविक रुपमा तत्कालिन उपाध्यक्ष महेन्द्र कंडेललाई हस्तान्तरण गर्नुको सट्टा बलमिचाई गर्दै अर्को उम्मेदवारलाई नेतृत्वमा स्थापित गराएपछि एनआरएनए यूके दुई टुक्रा पारेका थिए । १० औं महाधिवेशनमा पुरै राज्यको साधन र स्रोतको प्रयोग गर्दा समेत आचार्यले प्राप्त गरेको सफलता ६ महिने कार्यकारी अध्यक्ष हो । बदलामा संस्थाभित्र ४ अध्यक्ष स्थापित गरे ।

गैरआवासीय नेपालीहरुको साथ र भरोसाभन्दा तत्कालीन सरकारलाई दुरुपयोग गर्दै राजनीतिक हस्तक्षेपमार्फत् नेतृत्वमा आउने प्रयास गरे । उनी पूर्ण रुपमा असफल भए । संस्थालाई चार टुक्रा परेर उनले ६ महिने कार्यकारी अध्यक्षबाहेक अरु केही हातमा पार्न सकेनन् ।

संघको ११ औं महाधिवेशन आगामी अक्टोवर महिनामा हुने तय भएदेखि नै संघको नयाँ नेतृत्वको लागि चर्चा शुरु भएको थियो । संघभित्र फेरि बलमिचाई मार्फत संस्थाका बरिष्ट पदाधिकारीलाई साइड लगाएर फेरि सत्ता, पैसा र बलमिचाइको भरमा पुनः नेतृत्व स्थापित गर्न खोजिए जसरी देशमा राजनीतिक दलहरु बिरुद्ध घण्टी बजेको छ त्यसरी नै संघका अभियान्ताबिरुद्ध अर्को बिद्रोह हुने संस्था संधैका लागि विघटनतिर जाने खतरा बढेकोछ ।