काठमाडौं । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफैं सदस्यता छोडेको बताएका छन । आज (शुक्रबार) एमालेको मुख्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले यस्तो तर्क गरेका हुन ।
ओलीले राष्ट्रपति हुने बेला भण्डारी आफैंले सदस्यता छोडेको तर्क गरे । ‘खोसेको होइन, राष्ट्रपति हुन छोडेर जानु भएको हो,’ ओलीले भने । सदस्यता नवीकरणबारे पार्टीसँग छलफल पनि नगरेको अध्यक्ष ओलीले बताए ।
ओलीले भने, ‘पार्टीले किन खोस्छ सदस्यता, थिएन त्यसो भएकाले खोस्नै परेन । सदस्यताका लागि आवेदन गर्नुभएको पनि छैन, नवीकरणका लागि पार्टीमा आएर कुरा पनि गर्नुभएको छैन, ‘बाहिर टेलिभिजनले दिने त होइन होला ?’ दर्ता चलानी शाखामा आएर पैसा बुझाउँदैमा सदस्यता नवीकरण नहुने पनि उनलले बताए ।
‘कार्यालयमा आएर दर्ता चलानी फाँटबाट सदस्यता नवीकरण गरेँ भनेर, शुल्क तिर्दैमा सदस्यता पाउँछन् भन्ने हुन्छ ?’ ओलीले भने । राष्ट्रपतिको कार्यकाल सकेर फर्किएपछि यस्तो समस्या सिर्जना हुन्छ भन्ने कल्पना समेत नगरेको पनि ओलीले बताए । ‘दुई–दुई पटक राष्ट्रपति भएको मान्छे, पार्टीमा फर्केर आउने समस्या खडा गर्नुहुन्छ भन्ने कल्पना पनि गरेको थिएन,’ ओलीले भने ।
तर राष्ट्रपतिको कार्यकाल सकेर फर्किएपछि ओलीले पार्टीभित्र चुनाव हारेका र असन्तुष्टहरूलाई बोकेर हिँड्ने काम गरेको बताए । ‘पार्टीका सधैंका असन्तुष्ट, पार्टीका पक्षमा कहिल्यै नबोल्ने, र पार्टीका विभिन्न जनसंगठनका चुनाव हारेका मान्छेहरू असन्तुष्ट भएका मान्छेहरू तिनलाई भेला गरेर असन्तुष्टहरूको जमात खडा गरेर कुदिराख्नु भएको छ,’ ओलीले भने ।