१५ चैत्र २०८०, बिहीबार
Follow Us

जनकपुरबाट काठमाडौँ उड्न लागेको बुद्ध एयरको जहाजमा मुसा देखिएपछि…

नेपालब्रिटेन संवाददाता
६ जेष्ठ २०८०, शनिबार ०८:०७

काठमाडौँ । जनकपुरबाट काठमाडौँ उडान भर्ने तयारीमा रहेको बुद्ध एयरको जहाजमा मुसा देखिएपछि उडान स्थगित गरिएको छ ।

उक्त जहाज काठमाडौँ उड्नै लाग्दा यात्रुले मुसा देखेपछि उडान रोकेर अहिले इन्जिनियरहरुले प्राविधिक मर्मत गरिरहेका छन् । बिहान ९:१५ बजे जनकपुरबाट काठमाडौँ उडान तालिका रहेको जहाजमा यात्रुले मुसा देखिपछि उडान रोकेर जहाजको प्राविधिक चेकजाँच भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।

उक्त जहाज काठमाडौँबाट उडान भरेर बिहान साढे ८ बजे जनकपुर पुगेको थियो । जहाजमा ४९ यात्रु रहेका थिए । प्रवक्ता निरौलाले जहाजमा मुसा देखिएको खबर पाएपछि काठमाडौँबाट इन्जिनियरको टोलीले जनकपुर गएर जहाजको परीक्षण गरेपछि मात्रै उडान गरिने बताए ।

बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार उक्त जहाज अहिले इन्जिनियरले चेकजाँच गरिरहेका छन् । प्राविधिक परीक्षणपछि जहाज सञ्चालनमा आउनेछ । सो जहाजका यात्रुलाई अर्को जहाजमार्फत काठमाडौँ ल्याइसकिएको कर्णले बताए ।