१५ चैत्र २०८०, बिहीबार
Follow Us

‘गोर्खा वारियर्स’लाई लण्डनमा प्रिमियर गरिने

नेपालब्रिटेन संवाददाता
९ जेष्ठ २०८०, मंगलवार २३:०८

काठमाडौं । बेलायतको प्रतिष्ठित आइम्याक्स सिनेवर्ल्डमा नेपाली फिल्म ‘गोर्खा वारियर्स’को रेडकार्पेट प्रिमियर हुने भएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै निर्माताले भदौ २४ (१० सेप्टेम्बर)मा फिल्मलाई प्रिमियर गर्न लागेको जानकारी दिए ।

सेप्टेम्बरमै फिल्मलाई हङकङ र सिंगापुरमा समेत प्रिमियर गर्न लागिएको निर्माता तथा निर्देशक मिलन चाम्सले बताए । सेप्टेम्बरलाई ‘प्रिमियर मन्थ’को रुपमा मनाइने योजना रहेको उनले बताए ।

लण्डनको लिसेस्ट स्क्वायरस्थित आइम्याक्स हलमा हुने प्रिमियरमा बेलायती राजपरिवारका सदस्य, सांसद, स्थानीय निकायका प्रमुख, बेलायती सेनाका जनरल, गोर्खा रेजिमेन्ट अधिकृत, नेपाली दूतावास, सेलिब्रिटीलगायतलाई निम्तो दिइएको जनाइएको छ ।

‘विश्व प्रतिष्ठित उक्त हलमा नेपाली फिल्म प्रिमियर गर्ने मेरो सपना उहिल्यैदेखिको हो । नेपाली फिल्मलाई विश्व बजारमा पु¥याउन यसले भूमिका खेल्ने विश्वास छ,’ निर्देशक चाम्सले भने, ‘अब विश्व बजारमा नेपाली फिल्मको ब्रान्डिङ गर्ने हो भने पैसा खर्च गर्न जरुरी छ । कति दिन हामीले सामुदायिक हलमा फिल्म देखाउने ?’

उक्त आइम्याक्स सिनेवर्ल्डमा जेम्स बण्ड, मिसन इम्पोसिबलजस्ता चर्चित फिल्महरुको लण्डन प्रिमियर भइसकेको छ । ‘नेपाली फिल्मलाई त्यहाँ प्रिमियर गर्नु मेरो २० वर्षअघिको सपना हो । त्यो सपना पूरा गर्ने अवस्थामा आज आइपुगेको छु,’ चाम्सले भने ।

चाम्सले पहिलोपटक ‘हँसिया’ फिल्मलाई लण्डनमा प्रिमियर गर्दै अन्तर्राष्ट्रिय प्रिमियरको ट्रेन्ड बसालेका थिए । उनको पछिल्लो फिल्म महंगो बजेटमा बनेको बताइएको छ । वार जनरामा बनेको फिल्मले सन् १९४९ मा मलाया जंगलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथा भन्छ । फिल्मलाई नेपाली, अंग्र्रेजी र हिन्दी भाषामा प्रदर्शन गर्ने तयारी छ । हलिउड कम्पनीले यसलाई वितरण गर्ने जनाइएको छ ।

फिल्ममा रितेश चाम्सको शीर्ष भूमिका छ । उनी यतिबेला बेलायतमै छन् । यो पत्रकार सम्मेलनमा कलाकारहरु विजय लामा, रेविका गुरुङ लगायत उपस्थित रहे । उक्त अवसरमा १६ पटक सगरमाथा आरोहण गरेका फूर्वा तेञ्जिङ शेर्पालाई सम्मान गरियो । लण्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा फिल्म निर्माण भएको हो । फिल्मको नेपाल प्रदर्शन मिति घोषणा भइसकेको छैन ।