८ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएनए यूकेको पूर्व अध्यक्ष पुनम गुरुङ चर्चित व्यक्तिको सूचिमा

नेपालब्रिटेन संवाददाता
१० जेष्ठ २०८०, बुधबार १६:२९

लण्डन । गैरआवासीय नेपाली संघ यूकेकी पूर्वअध्यक्ष पुनम गुरुङ बेलायतमा चर्चित १० जनाको सूचिमा परेकी छन् ।
उनी नेपालब्रिटेन डट कमको १६ औं वार्षिकोत्सवको अवसरमा गत आइतवार आयोजित विशेष समारोहकाबीच मिडिया प्रसनालीटि अफ दी एयर २०२३ ले सम्मानित भएकी छन् ।

दुई दशक लामो एनआरएन यूके इतिहासकै पहिलो महिला अध्यक्ष बन्न सफल भएर चर्चामा आएकी हुन् पुनम गुरुङ । पुनम गुरुङको जन्म गण्डकी प्रदेशको राजधानी पोखरामा झन्डै ४५ वर्ष अगाडी बाबा कर्नेल मणिन्द्र र आमा कृष्णकुमारी गुरुङको कोखबाट प्रथम सन्तानको रुपमा जन्म भएको हो । उनले स्कुल लिटल एन्जल्स र वीरेन्द्र सैनिक कलेजमा अध्यायन पूरा गरेकी हुन् भने स्नातक त्रिचन्द्र कलेजबाट उत्तीर्ण गरेकी हुन् ।

पुनम गुरुङ आज भन्दा झन्डै २० वर्ष पहिला समाजसेवी तथा सफल व्यवसायी कमल गुरुङसँग लगन गाँठो कसेर बेलायत छिरेकी थिइन् । उनी एक साहसी तथा सफल महिला व्यवसायी हुन् भने एक सफल समाजसेवीको रुपमा बेलायतमा चर्चित छन् । पुनम गुरुङले क्यान्सर रिसर्च युकेमा आठ वर्षसम्म स्वयंसेवीका बनेर क्यान्सर रिसर्च युकेलाई सहयोग गरि अनुभव बटुली सकेकी छिन् ।

महामारीको बेला बेलायतमा अलपत्र परेका विद्यार्थी हुन् वा भाषाको कठिनाई, कमजोर स्वास्थ्यवस्था र बुढ्यौलीले गर्दा अफ्टेरोमा परेका पूर्व गोर्खा बाबाआमाहरु, गैरआवासीय नेपाली संघ बेलायतले आवश्यकताअनुसारको राहत र सहयोग प्रदान गर्ने कोशिस गरेको थियो । नेपालका सातै प्रदेशमा अक्सिजन मेसिन हस्तान्तरणसमेत उनै पालामा भएको हो । लकडाउनका बेला बेलायतमै अड्किएका सयौं नेपाली स्वदेश फर्काउने अभियानमा पनि गैरआवासीय नेपाली संघ बेलायतले संयोजनकारी भूमिका खेलेको थियो । गुरुङलाई यसअघि गैरआवासीय नेपाली संघ यूकेले उत्कृष्ट महिला समाजसेवीको रुपमा सम्मान समेत गरेको थियो । गुरुङ ‘मिस वर्ल्र्ड’ को एम्बासडर मनोनित भएकी छन्।

विश्ववापी रुपमै प्रतिष्ठित विश्व सुन्दरी प्रतियोगिता सञ्चालन गर्दै आएको संस्थाले उनलाई एम्बासाडर मनोनित गरेको हो । मिस वेल्सकै इतिहासमा नेपाली मूलबाट निर्णायकको रुपमा भाग लिने पुनम पहिलो थिइन्। पुनम बेलायतको नेपाली समुदायकी प्रभावशाली महिला अभियन्ता मानिन्छिन्। पछिल्लो समय उनी यहाँको कञ्जरभेटिभ पार्टीमार्फत् राजनीतिमा पनि सक्रिय छन्। बेलायतकै ठूलो नेपाली संस्था तमुधिं यूकेको आमा समूहकी पनि उनी संस्थापक अध्यक्ष हुन् ।