१२ श्रावण २०८१, शनिबार
Follow Us

टपटेनमा गोर्खा आन्दोलनका अग्रज जुदबहादुर गुरुङ

नेपालब्रिटेन संवाददाता
१० जेष्ठ २०८०, बुधबार २२:५३

लण्डन । नेपालब्रिटेन डट कमले सार्वजनिक गरेको १० चर्चित नेपालीमा गोर्खा आन्दोलनका अग्रज जुदबहादुर गुरुङ परेका छन् । उनलाई गत आइतवार लण्डनमा आयोजित एक कार्यक्रमकाबीच सम्मान गरिएको थियो ।

द क्विन्स गोर्खा इन्जिनियर्समा ३३ वर्षभन्दा बढी सेवा गरेका जुदबहादुर गुरुङ १४ वर्षको उमेरमा अर्थात् २० अक्टुबर १९६४ मा बेलायती सेनामा भर्ना भएका थिए । उनले रोयल मिलिटरी स्कूल अफ इन्जिनियरिङ्बाट क्लर्क अफ वर्कसको योग्यता हासिल गरेका थिए । त्यसभन्दा अघि उनले सामान्य शिक्षा लिएका थिए ।

द क्विन्स गोर्खा इन्जिनियर्समा उनले २१ जनवरी १९९८ सम्म सेवा गरे । यो तीन दशकको अवधिमा उनलाई मलेशिया, हङकङ, यूके, ब्रुनाई, नर्वे, केन्या, बोस्निया, सिंगापुर, बेलिज, साइप्रस (युएन), फिजी, नेपाल र भारतमा खटाइएको थियो ।

सेनाबाट सेवानिवृत्त भएपछि पपुवा न्यूगिनी र अष्ट्रेलियामा अपरेशन म्यानेजर, भारतमा जार्डिन म्यानपावरका लागि परामर्शदाता, कडुरी कृषि सहायता संघ, ब्रिटिश गोर्खा नेपाल सहसंयोजक भएर उनले सेवा गरेका थिए ।

मेजर जुद बहादुरले क्याप्टेन एकनारायण गुरुङसँग मिलेर पोखरामा गोर्खा संग्रहालय स्थापनामा महत्वपूर्ण योगदान गरे । संग्रहालयका उनी सहसंस्थापक हुन् । रेजिमेन्टल एसोसिएसन नेपालका पनि उनी संस्थापक हुन् ।

भूतपूर्व गोर्खा मुद्दामा सन् १९९७ देखि संलग्न मेजर गुरुङले गोर्खा अभियन्तासँगै गोर्खा मुद्दाको समाधानका लागि नेपाल र बेलायती सरकार विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । उनले सन् २०१६ देखि २०१८ सम्म गोर्खा मुद्दाबारे नेपाल तथा बेलायतबीच भएको वार्तामा सचिवालय सदस्य, वार्ताकार र प्रवक्ताको जिम्मेवारी निर्वाह गरेका थिए ।

अहिले गोर्खा संगठनहरुको सहभागीतामा नेपाल तथा बेलायतबीच भै रहेको अधिकारीस्तरीय वार्तामा पनि उनले वार्ताकार र प्रवक्ताको जिम्मेवारी निर्वाह गरिरहेका छन् । आशा गरौं, गोर्खा संस्थाहरुको एक्यवद्धता, नेपाली दूतावासको सक्रियता र मेजर जुद गुरुङ लगायतको मेहनत, लगनशीलता र त्यागले यस पटक अवश्य सार्थकता पाउने छ ।