१५ चैत्र २०८०, बिहीबार
Follow Us

बेलायतमा पहिलो नेपाली महिला प्रोफेसर डा प्रियंवदा पौड्यालको चर्चा

नेपालब्रिटेन संवाददाता
११ जेष्ठ २०८०, बिहीबार ०४:२३

बेलायतमा पहिलो नेपाली महिला प्रोफेसर डा प्रियंवदा पौड्याल चर्चित व्यक्तिको रुपमा सम्मानित भएकी छन्।
बेलायतबाट प्रकाशित हुने समाचार पोर्टल, नेपाल ब्रिटेन डटकम, को १६ औं वार्षिकोत्सव भव्य समारोहबीच उनलाई २०२३ का चर्चित व्यक्तित्वको सूचिमा राखिएको हो।

पब्लिक हेल्थ विषयमा प्राध्यापन गर्दै आएकी डा. प्रियंवदा पौड्याल नेपाली मूलको पहिलो महिला प्रोफेसर बन्न सफल भएकी छन् । उनी बेलायतको वेष्ट मिडल्याण्डमा पर्ने किइल युनिभर्सिटीमा हालै पब्लिक हेल्थका प्रोफेसरका रुपमा नियुक्त भएकी हुन् । उनले सो युनिभर्सिटीमा ग्लोबल हेल्थ इष्टिच्युटको डाइरेक्टरको रुपमा जिम्मेवारी सम्हाल्ने छन् ।

बेलायतका युनिभर्सिटीहरुमा प्रोफेसर तहमा पुगेर शिक्षा क्षेत्रमा योगदान गर्ने नेपालीहरुको संख्या निकै कम छ । त्यसमा पनि डा. पौड्याल छोटो समयमै पहिलो महिला प्रोफेसर भएपछि अहिले उनको चर्चा भइरहेको छ । नेपालको चितवनमा जन्मेर हाल ललितपुर घर भएकी प्रोफेसर पौड्याल करिब १७ वर्षअघि अध्ययनका लागि बेलायत आएकी थिइन् । उनले स्कटल्याण्डको एबरडिन युनिभर्सिटीबाट पब्लिक हेल्थमा मास्टर्स डिग्री पूरा गरी सोही युनिभर्सिटीबाट सन् २०११ मा विद्यावारिधि सम्पन्न गरेकी हुन् ।

उनले नेपालको जनस्वास्थ्यसँग सम्बन्धि अनुसन्धान गर्नुका साथै लेखहरु लेख्दै आएकी छन् । खाडी मुलुकमा कार्यरत नेपाली आप्रावासीहरुको स्वास्थ्य अनुसन्धानमा कथावस्तुको प्रयोग गरी जनचेतना जगाउने उनको नौलो अनुसन्धानको निकै चर्चा पनि भएको थियो । हाल उनी श्रीमान र छोरीसँग बेलायत बस्दै आएकी छन्।