लण्डन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवास नेपाली सम्पर्क विभागले गैरआवासीय नेपाली संघ (एनआरएनए) र अनडुजस्ता सामाजिक संस्थाविरुद्ध विज्ञप्ति जारी गरेपछि विवादमा परेको छ।
प्रवासमा रहेका नेपालीसँग सम्बन्धित संस्थागत गतिविधि पारदर्शी, समावेशी, निष्पक्ष तथा सबै पक्षलाई समान व्यवहार गर्ने किसिमको हुनुपर्नेमा विज्ञप्तिमा जोड दिइएको छ। प्रवासी नेपालीहरूको प्रतिनिधित्व, सहभागिता र सम्मानलाई बेवास्ता गर्न नहुने उल्लेख गर्दै संस्थागत गतिविधिमा सबै पक्षलाई समान अवसर दिन आग्रह गरिएको छ।
गैरआवासीय नेपाली संघ र अनडु कुनै राजनीतिक दलको प्रतिनिधित्व नगर्ने सामाजिक संस्था हुँदाहुँदै उनीहरूविरुद्ध राजनीतिक दलसम्बद्ध प्रवास विभागले विज्ञप्ति जारी गरेपछि रास्वपाको उक्त कदमप्रति प्रश्न उठेको हो।
कुनै संस्था वा समूह विशेषलाई प्राथमिकता दिने तथा अन्य पक्षलाई उपेक्षा गर्ने प्रवृत्तिप्रति आपत्ति जनाउँदै विज्ञप्तिमा प्रवासी नेपाली समुदायलाई विभाजित गर्नेभन्दा सबैलाई समेटेर अघि बढ्ने वातावरण निर्माण गर्न सम्बन्धित पक्ष जिम्मेवार हुनुपर्ने उल्लेख गरिएको छ।
त्यस्तै, संगठनका मूल्य, मान्यता तथा प्रचलित कानुनी व्यवस्थाको सम्मान गर्दै प्रवासमा रहेका नेपालीहरूको हितलाई केन्द्रमा राखेर गतिविधि सञ्चालन गर्न आग्रह गरिएको छ। विदेशमा रहेका नेपालीबीच आपसी सद्भाव, एकता र सहकार्य कायम राख्न सबै पक्षले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा पनि जोड दिइएको छ।
संयुक्त विज्ञप्तिमा एसिया–प्रशान्त, खाडी तथा मध्यपूर्व, उत्तर अमेरिका र युरोप क्षेत्रका विभिन्न देशमा रहेका प्रवास नेपाली सम्पर्क विभागका प्रमुखहरूको सहभागिता रहेको जनाइएको छ।
एसिया–प्रशान्त क्षेत्रबाट अस्ट्रेलिया, न्युजिल्यान्ड, दक्षिण कोरिया, जापान, हङकङ, मकाउ, मलेसिया, भारत, थाइल्यान्ड र माल्दिभ्सका प्रतिनिधि सहभागी छन्। खाडी तथा मध्यपूर्व क्षेत्रबाट ओमान, कुवेत, कतार, इजरायल, साउदी अरब, यूएई र बहराइनका प्रमुखहरू संयुक्त विज्ञप्तिमा समेटिएका छन्।
त्यसैगरी, उत्तर अमेरिकाबाट अमेरिका र क्यानडाका प्रतिनिधि तथा युरोपबाट नेदरल्यान्ड्स, अस्ट्रिया, नर्वे, फ्रान्स, बेल्जियम, स्पेन, लक्जेम्बर्ग, डेनमार्क, स्विट्जरल्यान्ड, पोल्यान्ड, फिनल्यान्ड, साइप्रस, जर्मनी, पोर्चुगल, माल्टा र रोमानियालगायत देशका विभागीय प्रमुखहरू विज्ञप्तिमा सहभागी रहेको उल्लेख छ।
विश्वका विभिन्न मुलुकमा रहेका विभागीय प्रमुखहरूको संयुक्त धारणा सार्वजनिक गर्दै विज्ञप्तिले प्रवासी नेपालीसँग सम्बन्धित गतिविधिमा निष्पक्षता, पारदर्शिता, समान व्यवहार र संस्थागत मर्यादा कायम गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ।