१६ चैत्र २०८०, शुक्रबार
Follow Us

राष्ट्रपतिबाट टोपबहादुर बुढासहित १९ जनालाई आममाफी, ४८२ कैदीको बाँकी कैद मिनाहा

नेपालब्रिटेन संवाददाता
१४ जेष्ठ २०८०, आईतवार १३:०२

काठमाडौं । गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले टोपबहादुर बुढासहित १९ जनालाई आम माफी दिएका छन् । त्यस्तै ४८२ कैदीको बाँकी कैद मिनाहा गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । आममाफी र कैद मिनाहापछि उनीहरु सोमबार छुट्नेछन् ।

कानूनअनुसार ५० प्रतिशत कैद भुक्तान गरिसकेका कैदीको बाँकी कैद राष्ट्रपतिले मिनाहा गर्ने व्यवस्था छ । यस्तै विभिन्न कसुरमा दोषी ठहर भएका व्यक्तिलाई राष्ट्रपतिले आम माफी दिन सक्ने व्यवस्था पनि कानूनमा छ । तर, निश्चित कसुरमा दोषी ठहर भएकाले बाँकी कैद मिनाहा र आम माफी सुविधा पाउने व्यवस्था छैन ।

६५ वर्ष पूरा भई ७० वर्ष ननाघेको कैदलाई २५ प्रतिशतसम्म, ७० वर्ष पूरा भई ७५ वर्ष ननाघेको कैदीलाई ५० प्रतिशतसम्म र ७५ वर्ष उमेर पूरा भएका कैदीलाई ७५ वर्षसम्म कैद छुन दिन सक्ने कानूनी व्यवस्था रहेको छ ।