१५ बैशाख २०८१, शनिबार
Follow Us

बेलायतमा डेपुटी मेयर बने जीत रानाभाट

नेपालब्रिटेन डट कम्
१८ जेष्ठ २०८०, बिहीबार १८:२१

लन्डन । नेपालीहरुको उल्लेख्य बसोबास रहेको लन्डनको रोयल बरो अफ ग्रीनवीचमा नेपाली मूलका जीत रानाभाट उपमेयर (डेपुटी मेयर) निर्वाचित भएका छन्।

एक वर्षअघि सो बरोमा नेपाली समुदायबाट पहिलो काउन्सिलर निर्वाचित उनले आगामी एक वर्षलाई उपमेयरको जिम्मेवारी प्राप्त गरेका हुन्।

बुधबार बेलुका वुल्लीच टाउन हलमा आयोजित एक विशेष समारोहमा रानाभाटले उपमेयरको शपथ लिंदै औपचारिक पदभार ग्रहण गरे ।

बरोका नयाँ मेयर समेतको शपथ तथा पदभार ग्रहण समारोहमा शुभकामना दिन स्थानीय नेपाली समुदायका कयौं प्रतिनिधि तथा अभियन्ताहरु पनि सहभागी थिए।

गत वर्ष लन्डनको रोयल बरोमा नेपाली मूलबाट पहिलोपटक काउन्सिलर निर्वाचित हुन सफल रानाभाटले अहिले फेरि पहिलो उपमेयरको रुपमा जिम्मेवारी ग्रहण गरेकोमा स्थानीय नेपाली समुदायले गौरव र उत्साह महशुस गरेको छ ।

यसअघि रोयल बरो अफ ग्रीनवीचमा लेबर पार्टीका काउन्सिलरहरुबीच भएको प्रतिस्पर्धामा अन्यलाई पछि पार्दै रानाभाट उपमेयर निर्वाचित बनेका हुन् ।

उपमेयरमा निर्वाचित रानाभाटले बरोमा प्रमुख रहने मेयरको डेपुटीका रुपमा आफ्नो भूमिका निर्वाह गर्नेछन्।