१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएन नागरिकताले खोस्दैन बंसजको अधिकार

नेपालब्रिटेन संवाददाता
१९ जेष्ठ २०८०, शुक्रबार १०:३७

नारायणा गाउँले

एनआरएन नागरिकता दोस्रो दर्जाको भयो, बंशज नागरिकता समर्पण गर्न पर्ने भयो, राजनैतिक अधिकारबिनाको भयो, एनआरएन परिचयपत्र जस्तो मात्रै भयो, हामीले चाहेको नागरिकताको निरन्तरता हो, बंशज नागरिकता छोडेर एउटा नाममात्रको नागरिकता होइन भन्ने तर्क पनि सुनियो !

गैर-आवासीय नेपालीले पाउने नागरिकता छिमेकी भारत या चीनभन्दा एक कदम अगाडि बढ्दै दिन लागिएको हो । संविधानमैं यसको व्यवस्था भएकाले अहिले त्यसलाई कार्यान्वयन गर्न कानुन बनेको हो ।

नेपालले दोहोरो नागरिकता नीति स्वीकार गरेको छैन । २०७२ सालको गणतान्त्रिक संविधानले गैरआवासीय नागरिकताको प्रावधान राखेर नीतिमा लचकता अवलम्बन गरेको हो । यो लचकता छिमेकी देशहरू भन्दा पनि उदार छ ।

अब भारतलगायतका सार्क राष्ट्रबाहेकका अन्य देशको नागरिकता लिएका नेपालीले ती देशको नागरिकता साथमैं राखेर गैरआवासीय नेपाली नागरिकता लिन सक्नेछन् । जबकि नेपाली नागरिकसँग विवाह गरेर आउने बुहारी या जुवाइँले आफ्नो मूल नागरिकता नत्यागी नेपाली नागरिकता पाउँदैनन् । देशले बुहारीलाई भन्दा बढ़ी सुविधा देशबाहिर बस्ने नेपालीलाई दिएको छ । त्यसमा पनि अझै असन्तुष्टि ?

यो कानुनले वंशजको नागरिकता बुझाउनुपर्ने भयो, खोसिने भयो भन्ने कुतर्क नगर्नुहोला । त्यस्तो नागरिकता खोसेको यो कानुनले होइन । देशको मूल कानुन र संविधान अनुसार तपाईंले अर्को देशको नागरिकता लिनासाथ त्यो स्वत: खोसिएको हो । अहिले तपाईंसँग हुँदै नभएको बंशजको नागरिकता कसरी खोसिन्छ ? जुन नागरिकताको कागज हातमा छ, त्यो अवैध छ । त्यसको वैधानिकता तपाईं आफैले खोसिसक्नुभएको छ । अहिलेको कानुनले त्यसलाई अलिकति राहत दिने काम गरेको छ ।

के नबिर्सिनुहोस् भने अनेक बाध्यता नै सही, तर भएको नेपाली नागरिकताले नपुगेर विदेशी नागरिकता लिने निर्णय या च्वाइस तपाईंको निजी हो ।

तपाईंलाई नेपाली नागरिकता चाहिएको किन हो ? अहिलेको नागरिकताले आर्थिक, सामाजिक अधिकार दिएको छ । राजनैतिक अधिकार पनि चाहियो ? एकै साथ बेलायत र नेपाल दुबैतिर गएर भोट हाल्ने र चुनाब लड्ने अधिकार चाहियो ? एउटा देशको राजनैतिक हक त छँदै छ नि ।

अनि तपाईंलाई बंशजको नागरिकता नै चाहिन्छ भने यो कानुनले त्यसलाई रोक्छ र ? विदेशी नागरिकता नलिनुहोस्, सकियो । लिनुभो भने पनि देश फर्किनुहोस्, त्यस्तो विदेशी नागरिकता त्यही देशलाई बुझाउनुहोस् र आफ्नो बंशजको नागरिकता कायम गर्नुहोस् । चुनाब लड्नुहोस् । गृहमन्त्री या प्रधानमन्त्री बन्नुहोस् । कसले खोसेको छ र त्यो ? एकैसाथ दुबैतिर प्रधानमन्त्री बन्न त कठीन नै हुन्छ नि ! नागरिकता पुनर्प्राप्तिका विषयमा हामी धेरै देशभन्दा उदार र लचिलो छौं । त्यागेको निस्सा बुझाउनासाथ कुनै छानबिन र पुलिस रिपोर्ट बिनै नेपाली नागरिकता दिन्छौं । भारतमा तपाईं जिल्ला, राज्य र केन्द्रको चक्करमा महिनौं बिताउनुहुन्छ । अझ हामी बंशज नै दिन्छौं ।

परिचयपत्र र नागरिकता एउटै विषय होइन । परिचयपत्र एउटा मन्त्रालयको परिपत्रले खोसिन, बदलिन सक्छ । त्यसले भिसा लगाउनु नपर्ला तर तपाईंलाई नेपाली नागरिक हुनुको गर्व र स्वाद दिन सक्दैन । नागरिकताले त्यो दिन्छ । तपाईं नेपालमा उद्यम, व्यवसाय वा भ्रमणमा हुँदा परिचयपत्रवाहक विदेशी नागरिक होइन, नेपाली नागरिकका रूपमा सम्मानसाथ बस्नुहुनेछ । नेपाली कानुन र नीतिगत सुविधाको हक़ तपाईंलाई हुनेछ । संसदबाहेक कुनै एउटा मन्त्री वा सचिबले तपाईंको हक़मा कैंची चलाउन सक्ने छैन । जाबो शब्दको मात्रै फरक हो भन्ने नठान्नुहोस् । फरक नै शब्दले पार्ने हो । आची खानुहोस् भनेर छिमेकीले चाँदीको थालीमा खीर दियो भने तपाईं खानुहुन्न । खीर नखाएको होइन, शब्द नखाएको हो ।

लाखौं नेपाली आज विदेशिएका छन् । तिनले विभिन्न क्षेत्रमा अन्तर्राष्ट्रिय सिप, ज्ञान, विज्ञता र अनुभव हासिल गरेका छन् । तिनको मनमा नेपाल छ । त्यो सिप र मनको नेपाललाई जोड्न एनआरएन नागरिकता आएको हो । आफ्नो जन्म या पैतृकभूमिसँग ऊ गाँसिइरहन सकोस् भनेर असल नियतले यो व्यवस्था गरिएको हो । सबै विदेशिनेले नेपालको चलअचल सम्पत्ति उतै लैजाने हो भने देशलाई ठूलो क्षति हुन्छ भन्ने बुझाइले तिनको सम्पत्तिसम्बन्धी हक सुरक्षित गर्ने विषय उठेको होला । तर, यो व्यवस्था आफैमा स्वागतयोग्य हो । यसले देश र तपाईं दुबैको जीत भएको छ ।

हो, विश्वमा धेरै देशले दोहोरो नागरिकतालाई स्वीकार गरेका छन् । तर, तिनको आफ्नै इतिहास, भूराजनैतिक अवस्थिति र बलियो राज्यसंयन्त्र हुन सक्छ । भोलि अवस्था र दृश्य फेरिँदै जाँदा र ग्लोबलाइजेशनले निल्दै जाँदा हामी पनि पुगौंला तर नेपाल अहिल्यै र आजै त्यहाँ पुग्न सक्दैन ।

एकपटकको नेपाली सधैँको नेपाली भन्ने हाम्रो नारा हो । त्यसलाई यो कानुनले कत्ति कमजोर बनाउन्न । एकपटकको चोर सधैँको चोर, एकपटकको साधु सधैँको साधु नभए पनि एकपटकको नेपाली सधैँको नेपाली नै हो । ढुक्क हुनुहोस् । तर एकपटकको कागजको खोस्टो पनि सधैँको हुनुपर्ने माग अहिलेका लागि अलि बढ़ी हो । नेपाली बन्न मन भए विदेशी नबन्नुहोस्, या बनेको विदेशी पहिचान त्याग्नुहोस् ।कति सजिलो छ । अझ अहिले त नत्यागी पनि नेपाली बन्न पाइने कानुन पास भएको छ । समस्या कहाँनिर छ ?

संविधानले नै राजनैतिक अधिकार रहित भन्ने कल्पना गरेकाले र नेपालको दोहोरो नागरिकता नदिने नीति भएकाले संसदको दुई तिहाई बहुमतबिना यो व्यवस्था बदलिन्न । तपाईंको एउटा या दुईवटा झिल्के एनआरएन नेताले यो बदल्न सक्दैनन् । त्यसैले जे जति उपलब्धि हासिल भएको छ, त्यसलाई सम्मान, स्वीकार र प्रयोग गर्दै अघि बढ्नुहोस् । निरन्तरताको मुद्दा बोकिरहनुस् ! के नबिर्सिनुहोस् भने अनेक बाध्यता नै सही, तर भएको नेपाली नागरिकताले नपुगेर विदेशी नागरिकता लिने निर्णय या च्वाइस तपाईंको निजी हो । नेपालले तपाईंको घाँटी निमोठेर लिन लगाएको होइन । तपाईंभन्दा गरिब र समस्यामा भएका नेपाली पनि नेपालमैं छन् !