१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएनए अष्ट्रेलियाद्धारा राजनीतिक दलका सदस्यहरुलाई उम्मेदवार बन्न प्रतिबन्ध

नेपालब्रिटेन डट कम्
२० जेष्ठ २०८०, शनिबार ००:५६

मेलबर्न । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको आगामी निर्वाचनमा नेपालका कुनैपनि राजनीतिक दल मात्र होइन तिनका प्रवासी संगठनमा सदस्य रहेको व्यक्तिले पनि उम्मेद्वारी दिनु तीन वर्षअघि त्यस्ता संस्था परित्याग गरेको प्रमाणित गर्नुपर्ने भएको छ । आगामी जुलाई २९ तारिखमा गर्न लागिएको निर्वाचनका लागि निर्मित चुनाव समितिका प्रमुख टोनु घोतानेले हालै कार्यसमितिबाट पारित नियमावलीको व्याख्या गर्दै यस्तो बताएका हुन् ।

सोमबार मेलबर्नमा अवस्थित एनआरएन मुख्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले आफु पारित नियमावलीलाई अक्षरसः पालना गर्ने अडानमा रहेको पनि बताए । निर्वाचनका लागि तोकिएका भिक्टोरिया संयोजक डा। तिलक पोखरेल र राष्ट्रिय निर्वाचन समितिका सदस्य निराजन गौलीका साथ एनआरएनका दुई पदाधिकारीका साथ उपस्थित घोतानेले यसअघि बोलीमा मात्र सीमित भएपनि अब भने गैरराजनीतिक बाटोमा एनआरएन अघि बढेको दावी गरे ।

पत्रकार सम्मेलनमा निर्वाचन कमिटीका सदस्यहरुको नामावली पढेर सुनाइएको थियो । जस अनुसार राष्ट्रिय निर्वाचन समितिमा राम श्रेष्ठ, निराजन गुरुङ, सचिन योञ्जन, माधव खरेल, डा हेमांग शर्मा, राजु मानन्धर, विनोद पौडेल, प्रदिप सवेदीले प्रमुख निर्वाचन आयुक्त घोतानेलाई साथ दिनेछन् ।

यस्तै विभिन्न ८ राज्य तथा टेरेटोरीमध्ये अष्ट्रेलियन क्यापिटल टेरेटोरीमा जीवन राना, न्यु साउथवेल्समा शिशिर नेपाल, एडिलेडमा दिनेश सापकोटा, क्वीन्सल्याण्डमा रितेश श्रेष्ठ, साउथ अष्ट्रेलियामा कपिल पाण्डे, तास्मानियामा रेवन्त बस्नेत, भिक्टोरियामा डा तिलक पोखरेल र र वेष्टर्न अष्ट्रेलियामा केदार रिजाल मनोनित भएका छन् । पत्रकार सम्मेलनमा प्रमुख आयुक्त घोतानेले एनआरएन अष्ट्रेलियाको वर्तमान नेतृत्वले दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न टिम तत्पर रहेको बताएका थिए ।

प्रमुख आयुक्त घोतानेले गैरराजनीतिक संस्था बनाउने यो नियमावलीलाई अन्य देशका एनआरएनहरुले पनि अनुशरण गर्नसक्ने बताए । उनले भने, “एनआरएन अष्ट्रेलियाले धेरैजसो परियोजनाहरुमा नेतृत्व गरेको छ । एनआरएनमा नयाँ कन्सेप्ट नयाँ विचार र योजना हामीले ल्याएका थियौं । मलाई लाग्छ यो पनि अन्य देशका एनआरएनहरुले अनुशरण गर्नयोग्य हुनेछ ।”

निर्वाचनमा उम्मेद्वारी दिनका लागि अब प्रस्तावक र समर्थक समेत नचाहिने भएको छ । नयाँ प्रावधान अनुसार उम्मेद्वार आफैंले आफ्नो उम्मेद्वारी दिन सक्नेछन् ।

पत्रकार सम्मेलनमा घोतानेलाई अतिराजनीतिकरण भएको संस्थामा नेपालका राजनीतिक दलसँग आबद्ध नरहेको उम्मेद्वार पाउन कठीन हुँदैन भन्ने प्रश्नमा घोतानेले १६ हजार एनआएनका सदस्यमध्ये पक्कै पनि धेरै यसका लागि लायक भएको प्रतिक्रिया दिएका थिए । यस्ता गैरराजनीतिक र समाजसेवा गर्न प्रतिबद्ध व्यक्तिहरुलाई एनआरएनको मूलधारमा ल्याउनुपर्ने बताए । एनआरएनए अष्ट्रेलियाको भावी उम्मेद्वारका रुपमा चर्चित केहीलाई रिङ आउट गर्न यस्तो प्रावधान आएको हो कि भन्ने प्रश्नमा यो प्रावधान कसैलक्षित नभएको र एनआरएनए अष्ट्रेलियाको शुद्धिकरण पहिलेदिखि नै चल्दै आएको अवगत गराए । कार्यसमितिको बहुमतले पारित यस्तो प्रावधान लागू गर्ने सवालमा विवाद आएर पुनः परिवर्तन हुने हो कि भन्ने पत्रकारको आशंका मेटाउँदै उक्त अवसरमा उपस्थित एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष एवं भिक्टोरिया कोअर्डिनेटर हरि खड्का र युवा संयोजक बबिन मिश्रले लागू गर्नकै लागि नियम ल्याइएको र यसलाई अझ व्याख्या गरी लागू गर्नुपर्ने टड्कारो आवश्यकता रहेको बताएका थिए ।

एनआरएन अष्ट्रेलियाले पहिलो पटक आईसीसीले लागू गरेको एमआईएस सिष्टम मार्फत सदस्यता नवीकरण र वितरणको कार्य गरिरहेको केबिसीखबरले जनाएको छ ।