८ बैशाख २०८१, शनिबार
Follow Us

भारतमा बिक्यो परस्त्री, हिन्दी भर्सनको गीत रिलिज

नेपालब्रिटेन संवाददाता
२२ जेष्ठ २०८०, सोमबार ०५:१२

काठमाडौं । नेपाली र हिन्दी गरी दुई भाषामा निर्माण भइरहेको चलचित्र परस्त्रीको भारत प्रदर्शन तथा विरण अधिकार बिक्री भएको छ । यस चलचित्रलाई भारतमा बिफोर यु मुभीले प्रदर्शन तथा वितरण गर्ने भएको छ ।

यो चलचित्र आगामी १५ असारबाट नेपाल तथा भारतमा प्रदर्शन हुँदै छ । यसैबीच, परस्त्रीको हिन्दी गीत आइतबार रिलिज गरिएको छ । बिफोर यु म्युजिकबाट यस चलचित्रको हिन्दी भाषाको गीत ‘होना था जो होने लगा…’ रिलिज गरिएको हो । गीतसँगै चलचित्रको रिलिजको चाँजोपाँजो मिलाउन यतिबेला निर्देशक सुरज पाण्डे र निर्मात्री शर्मिला पाण्डे मुम्बईमा छन् ।

योे हिन्दी गीतलाई अमित मिश्र र सोनल प्रधानको स्वर रहेको यसकी निर्माता शर्मिला पाण्डेले बताएकी छन् । केके ब्रोदर्सले संगीत दिएको गीतको हिन्दी शब्द रचना विनित त्रिपाठीले गरेका हुन् । सिनेमाका दुई मुख्य कलाकार शिल्पा मास्के र गौरव बिष्टलाई यस गीतमा अभिनय गरेको देख्न पाइनेछ । गीतको कोरियोग्राफी वाइल्ड रिपर्जले गरेका हुन् ।

यस चलचित्रलाई सुरज पाण्डेले डेब्यु निर्देशन गरेका हुन् । नेपाली र हिन्दी दुवै भर्सनको चलचित्र तयारीको अन्तिम चरणमा पुगेको उनले बताएका छन् । उनका अनुसार यो चलचित्रमा शिल्पा र गौरबका अलावा कोसिस क्षेत्री, अलिसा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारी, झकेन बीसी र अर्पित न्यौपानेको अभिनय रहेको छ ।

विवाहपछि अन्य महिला तथा पुरुषसँग राख्ने सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक संकटको कथावस्तुमा यस चलचित्र निर्माण गरिएको निर्देशक पाण्डेले बताएका छन् । यस चलचित्रमा निरज कँडेलको डीओपी र कृष्णबहादुर थापाको छायांकन रहेको छ । डीएस डिजिटलको ब्यानरमा निर्माण भएको चलचित्रमा शर्मिला पाण्डे र दीपेन्द्र के खनालले निर्माणमा सहकार्य गरेका छन् । खनाल चलचित्रका लेखकसमेत हुन् ।