१० असार २०८१, आईतवार
Follow Us

‘हयारी की प्यारी’ हेर्न अल्डरसटमा दर्शकको भीड

नेपालब्रिटेन संवाददाता
३ असार २०८०, आईतवार २०:४९

लन्डन । बेलायतका दन्त चिकित्सक डा. कपिल रिजालको पहिलो निर्देशन रहेको चलचित्र ‘हयारी की प्यारी’ को बेलायतमा विशेष शो गरिएको छ ।

नेपालमा फेब्रुअरी पहिलो साता रिलिज भएको उक्त चलचित्र बेलायतका दर्शकलाई भने पहिलोपटक देखाइएको हो ।

शनिबार अल्डरसटस्थित प्रिन्सेस हलमा आयोजित प्रिमियर शोमा झण्डै ४ सय दर्शक सहभागी थिए । फिल्म हेर्न बेलायतका चलचित्रकर्मी, व्यवसायी लगायत सर्वसाधारण दर्शकको उत्साहजनक उपस्थित थियो ।

रोमान्टिक–कमेडी फिल्म हेरेपछि दर्शकले चलचित्रको विषयवस्तु र प्रस्तुति राम्रो लागेको प्रतिक्रिया दिए ।

गायक तथा कलाकार सपनकुमार राईको संयोजनमा आयोजित विशेष प्रदर्शनमा दर्शकको उपस्थितिले आफूलाई थप उत्साह मिलेको निर्देशक डा. कपिल रिजालले बताए । उनले आज आइतबार वुलवीचमा समेत विशेष शो गर्न लागिएको जनाउंदै हेर्न बांकी दर्शकलाई सहभागी हुन निम्तो दिएका छन् । वुलवीच ट्राम्सेडमा सांझ साढे ६ बजे फिल्म शो हुंदैछ ।

उक्त चलचित्रमा जितु नेपाल, साम्राज्ञी राज्य लक्ष्मी शाहका साथ विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समीक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनाल लगायतको अभिनय छ । अभिनेत्री रेखा थापाको पनि विशेष भूमिका देखिन्छ ।

सिनेमामा डा. भोला रिजालको गीत, शिखर सन्तोष र युग भुषालको संगीत, सपनकुमार राई, सौभर दास, थोम्सन एन्ड्रयूज, मीना निरौला र देवाञ्जली जोशीको गायन एवं कविराज गहतराजको कोरियाग्राफी छ ।

सुदीप बरालको छायांकन गरेको फिल्म अर्जुन जिसीले सम्पादन गरेका हुन् ।

बेलायतका सफल दन्त व्यवसायी डा. कपिल रिजालले यसअघि पनि कयौं म्यूजिक भिडियो निर्देशन गरिसकेका छन् । उनले अर्को नयां प्रोजेक्ट घोषणा गर्ने तयारी भइरहेको समेत जनाए ।

शो शुरु हुनुअघि गायक सपनकुमार राईको म्यूजिक भिडियो ‘बल गरेर हुन्न’ समेत देखाइएको थियो । कुशल श्रेष्ठले निर्देशन गरेको उक्त म्यूजिक भिडियोमा सपनको आफ्नै अभिनय छ ।

सपनलाई ‘गलबन्दी च्यातियो…’ की चर्चित मोडल अन्जली अधिकारीले साथ दिएकी छिन् ।