लण्डन । गैरआवासीय नेपाली संघको केन्द्रीय कार्यालयमा कार्यरत आइटी विभाग प्रमुख महेश श्रेष्ठले राजिनामा दिएका छन् ।
लामो समय देखि संघको केन्द्रीय कार्यालयमा कार्यरत श्रेष्ठले संघको आसन्न राष्ट्रिय समितिको निर्वाचन र संघको ११ औं महाधिवेशनको नजिक आएर राजिनामा दिए पछि त्यसलाई संघका पदाधिकारीले अर्थपूर्ण भनेका छन् ।
गैरआवासीय नेपाली संघको उच्चस्रोतका अनुसार श्रेष्ठको माग अनुसार संघको गत महिना सम्पन्न पदाधिकारी बैठकले उनको तलव दोब्बर बनाउने निर्णय गरेको थियो तर उनको तलव भत्ता एकै पटक दोब्बर बनाए पछि संघको केन्द्रीय कार्यालयमा कार्यरत अन्य कर्मचारीहरुले आफुहरु माथि अन्याय भएको भन्दै असन्तोष व्यक्त गरेका थिए ।
संघको केन्द्रीय कार्यालयको जिम्मेवार समालेका कार्यकारी निर्देशक रविकिरण अधिकारले कर्मचारीहरुसंग प्रयाप्त कोर्डिनेशन गर्न नसक्दा कर्मचारीहरु दवावमा रहेको बताइन्छ । स्रोतका अनुसार अधिकारीको काम गर्ने शैलिप्रति श्रेष्ठ समेत आजित थिए ।
सोमवार संघको केन्द्रीय नेतृत्व समक्ष राजिनामा दिएका श्रेष्ठले आफुले एक महिना अघि दिएको राजिनामा तलबसंग सम्बन्धीत नभएको राजिनामा पत्रमा उल्लेख गरेका छन् ।
उनले आफुले राजिनामा गरे पनि संघको निर्वाचन प्रकृयामा कुनै फरक नपर्ने र केन्द्रीय कार्यालयमा दक्ष जनशक्ति भएको बताएका छन् ।
संघका अनुसार उनले गैरआवासीय नेपाली संघ अमेरिकाको निर्वाचनमा सदस्यता वितरण र निर्वाचन प्रकृयाका बिषयमा एक जना महासचिवको अनावश्यक दवाव खेप्न नसकेर राजिनामा गरेको बताईको छ ।
उनले संघको केन्द्रीय कार्यालयमा आइटी विभागको जिम्मेवारी समाले पछि एमआईएस, अनलाइन भोटिङ, ‘स्मार्ट एनआरएन एप’, प्रतिनिधि दर्ता लगायतका नयां काममा सघाएका थिए । कोरोना महामारीको बेलामा उनकै नेतृत्वमा संघले सबै क्षेत्रीय तथा राष्ट्रिय सम्मेलनहरु प्रविधिको प्रयोग गरेर सम्पन्न गरेको थियो ।