२१ भाद्र २०८२, शनिबार
Follow Us

साउदीको जेद्दामा गोली चल्दा एक नेपाली सुरक्षागार्डको मृत्यु

नेपालब्रिटेन संवाददाता
१४ असार २०८०, बिहीबार ०५:४३

रियाद । साउदी अरबको जेद्दामा गोली चल्दा एक नेपाली सुरक्षा गार्डको मृत्यु भएको छ । अमेरिकी वाणिज्य दूतावासको भवन नजिकै बुधबार गोली चल्दा एक बन्दुकधारीसहित नेपाली सुरक्षा गार्डको मृत्यु भएको अलजजिराले जनाएको छ ।

मृत्यु हुने नेपाली सुरक्षा गार्डको पहिचान भने खुलेको छैन । अमेरिकी वाणिज्य दूतावास नजिकै बन्दुकधारी व्यक्ति कारमा आएका थिए । बन्दुकसहित कारबाट ओर्लिएका उनलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिने प्रयास गरेका थिए । त्यसैक्रममा गोली चल्दा नेपाली सुरक्षा गार्ड र बन्दुकधारी गरी दुई जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

‘अमेरिकी दूतावास र वाणिज्य दूतावास साउदी अधिकारीहरूसँग सम्पर्कमा रहेको छ किनभने उनीहरूले घटनाको अनुसन्धान गरिरहेका छन्,’ अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले भने। वाणिज्य दूतावासलाई पछिल्ला वर्षहरूमा धेरै पटक निशाना बनाइएको छ।

यसअघि सन् २०१६ मा पनि वाणिज्य दूतावासलाई लक्षित गरी कम्पाउन्ड नजिकै विष्फोट गराइएको थियो । उक्त विष्फोटमा आत्मघाती हमलाकारीको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए । सन् २००४ मा पाँच व्यक्तिले अमेरिकी वाणिज्य दूतावासमा बम आक्रमण गरेका थिए । त्यसक्रममा बाहिर चार साउदी सुरक्षाकर्मी र भित्र पाँच स्थानीय कर्मचारीको मृत्यु भएको छ ।

धेरै पढिएको