२० बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएन अष्ट्रेलिया चुनाव : एउटै कार्डबाट १२ सय सदस्यता शुल्क तिरियो, सदस्यता रद्द हुने

नेपालब्रिटेन संवाददाता
२३ असार २०८०, शनिबार ०४:३४

मेलबर्न। गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको सदस्यता शुल्क एउटै कार्डबाट १ हजार २ सय भन्दा भन्दा बढीको तिरिएको भेटियो ।

आगामी जुलाई २९ तारिखमा निर्वाचन गराउनका लागि बनाइएको चुनाव आयोगले एक पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएको हो।

गैरआवासीय नेपाली संघ अष्ट्रेलिया स्रोतका अनुसार अध्यक्षको प्रत्यासी अनिल पोखरेलको व्यक्तिगत कार्डबाट ८ सय जना, महासचिवका प्रत्यासी सन्तोष कुवंर २ सय ५०, बांकी अन्य उम्मेदवारको सकृयतामा ती सदस्य बनेको भेटिएको हो ।

यसैबीच बिहीबार मेलबर्नमा आयोजित निर्वाचन कमिटिको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त टोनु घोतानेले एउटा कार्डबाट तीन जना भन्दा बढीको सदस्यता लिएको भेटिएमा रद्ध गरिने घोषणा गरेका छन् ।
घोतानेका अनुसार एउटै कार्डबाट गरिएको सदस्यता शुल्क भुक्तानी रहेछ भने पहिलो तीन जनाको मात्र सदस्यता मान्य हुनेछ।

घोतानेले भने कसैले अरू पाँच जनालाई पहिले सदस्य बन्नका लागी पैसा तिरिदिएको र आफू छैठौं वा चौंथो क्रममा रहेको पाइएमा त्यस्ता व्यक्तिकै सदस्यता समेत खारेज हुनेछ।

एनआरएनए अष्ट्रेलियाले सदस्यता व्यवस्थापनका लागी प्रयोग गरेको प्रविधि (एमआईएस) का कारण सदस्य बन्दा आवश्यक पर्ने फारम, भुक्तानी लगायतको स्पष्ट अभिलेख रहने भएकाले सदस्यताको वैधता स्थापित गर्न सहज हुने प्रमुख निर्वाचन आयुक्त घोतानेको भनाई छ ।

अहिलेको एमआईएस सिस्टमका कारण पेमेन्ट ट्रयाक गर्न सकिने भएकाले अरु कसैले तिरिदिएको शुल्कबाट बनेका सदस्यहरुलाई नियन्त्रण गर्न सकिनेछ ।

सदस्यता लिने अन्तिम दिन अस्वभाविक रुपमा संख्या बढे पछि भएको छानविनमा ती अवैध सदस्यताको आवेदन भेटिएको हो । स्रोतका अनुसार पोखरेलले आफ्नो व्यक्तिगत बैंक कार्ड सदस्यता शुल्क लिनु भन्दै सामाजिक संजाल फेसबुक म्यासिन्जर मार्फत वितरण गरेका थिए ।

निर्वाचन समितिको यस्तो निर्णयले थोरै भएपनि एनआरएनए शुद्धिकरणमा राहत पुग्ने विश्वास गरिएको छ।

सार्वजनिक कार्यक्रमहरुमा समुदायका अगुवाहरूले फर्जि सदस्य बनाएर एनआरएनएको नेतृत्व हत्याउने गरेको अभिव्यक्ति दिँदै आएका थिए ।

यसअघिका निर्वाचनमा सदस्यता वितरणमा यस्तै फर्जि सदस्यता बनेको हुुन सक्ने आशंका गरिएको थियो ।

यो वर्षको निर्वाचनमा संघको केन्द्रीय प्रणाली एमआईएस सिष्टम मार्फत सदस्यता वितरण गरिएको हुदा ती सदस्यहरु खरेजीको लागि सहज हुने बताइएको छ ।

कानून व्यवसायी समेत रहेका निर्वाचन आयुक्त घोतानेको यो कदमलाई नेपाली समूदायले समेत साथ दिने अपेक्षा गरिएको छ ।

जुलाई अन्तिम साता हुने संघको निर्वाचनको लागि अध्यक्षमा देव गुरुङ, दिला खरेल र अनिल पोखरेलले उम्मेदवारी दिने तयारी गरेका छन् ।