२१ बैशाख २०८१, शुक्रबार
Follow Us

६ नियोगमा राजदूत सिफारिस, तेज बहादुर क्षेत्री यूएईमा

नेपालब्रिटेन संवाददाता
३० असार २०८०, शनिबार ०७:३०

लण्डन। सरकारले रिक्त रहेका ६ नियोगमा राजदूत सिफारिस गरेको छ । सात नियोगहरूमा राजदूत खाली भएको रहेको अवस्थामा क्यानडाबाहेक अन्य स्थानमा करिअर राजदूतहरूलाई सिफारिस गरेको हो ।

मन्त्रिपरिषद्को निर्णयअनुसार ६ जना मन्त्रालयका सहसचिवहरूलाई राजदूतमा सिफारिस गरिएको छ ।

न्युयोर्कस्थित संयुक्त राष्ट्र संघका लागि स्थायी नियोगमा सहसचिव लोकबहादुर थापालाई सिफारिस गरिएको छ । थापा बेल्जियमका लागि नेपालका पूर्वराजदूत हुन् भने अहिले मन्त्रालयमा उत्तरपूर्वी एसियाका महाशाखा प्रमुखका रूपमा कार्यरत छन् । उनीबाहेक बाँकी ५ जना सहसचिव पहिलो पटक राजदूतमा सिफारिस भएका हुन ।

यस्तै, जेनेभास्थित संयुक्त राष्ट्र संघका लागि स्थायी नियोगमा सहसचिव रामप्रसाद सुवेदीलाई सिफारिस गरिएको छ । उनी मन्त्रालयमा दक्षिण एसिया महाशाखा प्रमुखको रूपमा कार्यरत थिए ।

प्रोटोकल डिभिजनका प्रमुख सुधीर भट्टराईलाई फ्रान्सका लागि राजदूतमा सिफारिस गरिएको छ । यस्तै, प्रशासन प्रमुख घनश्याम लम्साल कुवेतका लागि राजदूतमा सिफारिस भएका छन ।

सहसचिव तेजबहादुर क्षेत्रीलाई यूएईको राजदूतमा सिफारिस गरिएको छ । उनी अहिले मन्त्रालयमा मध्य एसिया, पश्चिम एसिया र अफ्रिका महाशाखा प्रमुख छन् । क्षेत्रीले बेलायतको लागि नेपाली राजदुतावासको उपप्रमुखको जिम्मेवारी समालेका थिए । सहसचिव धनबहादुर वली थाइल्यान्डको लागि राजदूत भएका छन् । उनी अहिले क्षेत्रीय संगठन महाशाखामा प्रमुखका रूपमा कार्यरत छन ।

परराष्ट्र स्रोतका अनुसार बिहीबार राजदूत सिफारिस गरिएको हो । तर यो सूचीमा परराष्ट्र सचिव भरतराज पौड्याल भने परेका छैनन् । उनको यही वर्षको मंसिरमा उमेर हदका कारण कार्यकाल सकिँदैछ ।