१६ बैशाख २०८१, आईतवार
Follow Us

मानबहादुर श्रेष्ठ भलिबल टिमको नयाँ कप्तान नियुक्त

नेपालब्रिटेन संवाददाता
२ श्रावण २०८०, मंगलवार ०४:५७

काठमाडौँ । मानबहादुर श्रेष्ठ नेपाली राष्ट्रिय पुरुष भलिबल टिमको नयाँ कप्तान नियुक्त भएका छन् ।

सोमबार बसेको नेपाल भलिबल संघको कार्यसमिति बैठकले त्रिभुवन आर्मी क्लबका स्पाइकर मान बहादुरलाई कप्तान नियुक्त गर्ने निर्णय गरेको हो । संघले आर्मीका सेटर हरि हजुर थापालाई राष्ट्रिय टिमको नेतृत्व गर्न नसकेको भन्दै कप्तानबाट बर्खास्त गरेपछि कप्तान पद खाली थियो ।

सन् २०१५ मा मानबहादुरले राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए । मानबहादुर त्यसयता निरन्तर टोलीमा रहेका छन् । गएको महिना मात्र नियुक्त भएका हरिहजुर थापालाई कप्तानबाट हटाइएपछि श्रेष्ठलाई नियुक्त गरिएको हो ।

सातौं पीएम कप एनभीए महिला तथा पुरुष राष्ट्रिय क्लब लिग भलिबल दौरान गण्डकीविरुद्धको खेलमा थापाले कप्तानको भूमिका राम्रोसँग निर्वाह गर्न नसकेको र कर्तव्यविमुख भएको भन्दै संघले उनलाई कप्तानबाट हटाएको थियो ।

विभागीय टोली त्रिभुवन आर्मी क्लबका खेलाडी मानबहादुर पुरुष भलिबल टोलीको ११ औं कप्तान हुन् । मानबहादुरले आर्मीको कप्तानी पनि गरिसकेका छन् । एसियन गेम्समा मानबहादुरको कप्तानीमा नेपालले प्रतियोगिता खेल्ने छ ।