२१ बैशाख २०८१, शुक्रबार
Follow Us

७ प्रतिबद्धतासहित एनआरएनए उपाध्यक्षमा उम्मेदवारी दिने राज रेग्मीको घोषणा

नेपालब्रिटेन संवाददाता
१९ श्रावण २०८०, शुक्रबार १९:३१

लण्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषदको एघारौ विश्व सम्मेलनमा कतारस्थित एक व्यवसायी राज रेग्मीले उपाध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन ।

उनी वर्तमान कार्यसमितिमा युवा उपाध्यक्ष छन् । उनले आगामी कार्यकालको लागि खुल्ला तर्फ उपाध्यक्ष पदमा उम्मेदवारी दिन लागेका हुन् ।

एनआरएनएको अभियानमा निरन्तर सक्रिय रहदै आएका रेग्मीले आइसीसी मध्यपुर्व युवा संयोजक, बिभिन्न टास्कफोर्सको संयोजक पद र युवा उपाध्यक्षमा रहेर आफ्नो कार्य क्षमता प्रस्तुत गरिसकेका छन ।

उनले ७ बुँदे प्रतिबद्धता जारी गर्दै नेपालको समृद्धि र विकासमा सामुहिक लगानी र पर्यटन प्रर्वद्धनमा जोड दिदै नेपाल सरकारसँग समन्वय गर्दै विभिन्न देशहरुमा नेपालीले भोग्नुपरेको समस्यालाई समाधान गर्न तत्पर रहेको बताए ।

एनआरएनएको अभियानमा आफूले प्राप्त गरेको अनुभव, अग्रजहरुको आग्रह र साथीभाईको अनुरोधमा उपाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णयमा पुगेको रेग्मीले वताए ।

एनआरएनए मध्यपूर्व युवा संयोजक, युवा उपाध्यक्ष तथा विभिन्न संघसंस्थामा रहेर कुशलतापूर्वक आफ्नो जिम्मेवारी निभाइसकेका रेग्मीले एनआरएनए अभियानमा युवापुस्ताका मुद्दालाई स्थापित गर्न, दोश्रो पुस्ताका नेपालीलाई एनआरएनएमा आकर्षित गर्न, विदेशमा रहेका नेपाली श्रमिकहरुको आवाज बुलन्द गर्ने बताए ।

रेग्मीले युवा संयोजक रहँदा विश्वभर रहेका दोश्रो पुस्ताका युवालाई लक्षित गरेर आफ्नै खर्चमा ग्लोवल एनआरएन सिंगिङ आइडलको आयोजना गरेर दोश्रो पुस्तालाई एनआरएनमा जोड्ने कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेका थिए ।
उनले आम नेपालीले सोचेको सुखी र सम्बृद्ध नेपाल बनाउने सपना साकार पार्नका लागी उचित क्षेत्रमा एनआरएनहरुको सामूहिक लगानी ल्याउने, सामुहिक लगानीमा सबैको सानो सानो पूँजी समेटेर देश विकासमा लगानी पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले सुरक्षित बैदेशिक रोजगार नेपालीका लागि अझै बाध्यता नै रहेको तर वैदेशिक रोजगारी सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन जरुरी भएको बताए ।

यस्ता छन् रेग्मीका ७ प्रतिबद्धता

१. नेपालको संविधानले परिकल्पना गरेको समृद्ध नेपाल, सुखी नेपालीको सपना साकार पार्न उत्पादनमूलक क्षेत्रमा सामुहिक लगानी संचालन गर्ने ।
२. युवा स्वरोजगारहरुको क्षमता अभिबृद्दि र उपलब्धिमुलक नव–प्रबर्दनका क्षेत्रमा प्रवासी नेपालीहरुको सामुहिक लगानी ।
३. बिदेशमा सिकेको सिप र ज्ञानको उचित सदुपयोगमार्फत स्वदेशमै युवा रोजगार सिर्जना गर्ने ।
४. विभिन्न पेसा र क्षेत्रका युवाहरुलाई प्रोत्साहन गर्दै उद्यमतर्फ आकर्षित गर्ने योजना ल्याउने ।
५. सुरक्षित र मर्यादित रोजगारीको वातावरण, रोजगारीमा आउनेहरुको लागि श्रम सहजिकरण लगायत तालिम, अभिमुखिकरण र लगानीमा सहुलियत र अनुदान प्रदान गर्ने ।
६. मध्यपुर्ब एसिया लगायत अन्य देशमा रोजगार र अध्ययनमा रहेका नेपालीहरुको लागि छुट्टै राहत कोष स्थापना ।
७. सबैको अपनत्व हुनेगरी सबै बर्ग र क्षेत्रका सबै नेपालीहरु समेटिने, बिधान र पद्धतिमा चल्ने, निस्वार्थ र गैर नाफामुलक र गैर राजनीतिमुलक संंस्थाका रुपमा एनआरएनएलाई अगाडि बढाउने ।