१५ बैशाख २०८१, शनिबार
Follow Us

क्रिकेटका लागि बेलायत धार्मिकस्थलः ज्ञानेन्द्र मल्ल, पूर्व कप्तान, एनआरएनए यूकेद्धारा सम्मानित

नेपालब्रिटेन संवाददाता
२४ श्रावण २०८०, बुधबार २३:२८

लण्डन । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले क्रिकेट खेलका लागि बेलायत एउटा धार्मिकस्थल भएको बताएका छन् ।

गैरआवासीय नेपाली संघ यूकेद्धारा बुधवार अल्डरशटमा आयोजित सम्मान तथा स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै विश्वजगतले बेलायतलाई मक्का मदिना र पशुपति नाथ जस्तै धार्मिक स्थलको रुपमा हेर्ने गरेकोे बताए । अन्तराष्ट्रिय खेल जीवनबाट सन्यास लिएर बेलायत आएका मल्लले बेलायती स्थित नेपाली समुदायको नयां पुस्ताले क्रिकेट खेलप्रति देखाएको अर्कषण र उनीहरुले लगावले आफुलाई थप हौसाल मिलेको बताए ।

उनले अन्तराष्ट्रिय खेल जीवनबाट सन्यास लिए पनि बांकी जीवन नेपाली किक्रेटको विकासको लागि सर्मपण गर्ने प्रतिबद्धता जनाए । मल्लले बेलायतस्थित लर्ड किक्रेट मैदानमा नेपाली खेलाडीहरुलाई खेल्ने अवसर प्रदान गर्नको लागि आवश्यक पहलकदमी लिन एनआरएनए यूकेलाई आग्रह समेत गरे । उनी गत सोमबार बेलायतको मिडल्यान्डमा वर्षेनी हुँदै आएको मिडल्यान्ड नेप्लिज क्रिकेट लिगको प्रमुख अतिथिको रुपमा सहभागी भएका थिए ।

संघका अध्यक्ष हितकाजी गुरुङको सभापतित्वमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघ बेल्जियमकी महासचिव रुविना शर्माले गैरआवासीय नेपाली संघको अभियानमा बेलायतस्थित गैरआवासीय नेपालीहरुको महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताइन् । उनले एनआरएनए बेलायतसँग बेल्जियमले सहकार्य गरेर अघि बढ्न चाहेको बताउदै संघभित्र नयाँ पुस्ता र प्रविधिमैत्री हुनु पर्नेमा जोड दिइन् ।

कार्यक्रममा मल्ललाई अन्तराष्ट्रिय धादिङ समाजको तर्फबाट अध्यक्ष राजन खकुरले प्रमाणपत्र तथा खादाले सम्मान गरेका थिए । डा. विशाल गुरुङले संचालन गरेको सो कार्यक्रममा एनआरएनए आइसीसी (केन्द्रीय) सदस्य दिलराज गुरुङले गैरआवासीय नेपाल संघले नेपाली खेलजगतको लागि सधै सहयोग गर्दै आएको र, अगामी दिनमा समेत सहयोग गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा बेलायतस्थित बिभिन्न सामाजिक संघसंस्था, पूर्वखेलाडीहरु, बुद्धिजीवी तथा पत्रकारहरुको उपस्थिति थियो । कार्यक्रममा बोल्ने पूर्व नेपाली खेलाडीहरुले राष्ट्रको लागि ठूलो योगदान गरे पनि राष्ट्रले खेलाडीहरुलाई उपेक्षा गरेको प्रतिचिन्ता व्यक्त गरे । पूर्व कप्तान मल्ल अगामी साता नेपाल फर्किने तयारीमा छन् ।