विश्वप्रसिद्ध बेलायतको अक्सफोर्ड विश्वविद्यालयअन्तर्गत सइद बिजनेस स्कुलद्वारा आयोजित Oxford Saïd Global Climate Tech Challenge–2026 मा मदरल्यान्ड सेकेन्डरी स्कुलको टिम रि स्प्रिङ शीर्ष पाँच फाइनलिस्टमा पर्न सफल भएको हो।
जलवायु परिवर्तनका चुनौती समाधान गर्न प्रविधिमा आधारित नवीन तथा व्यावहारिक उपाय विकास गर्ने उद्देश्यले आयोजना गरिएको उक्त अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा ८३ देशका २ हजार १०० भन्दा बढी टोली सहभागी भएका थिए। ती टोलीमध्ये टिम रि स्प्रिङ शीर्ष पाँचमा छनोट हुनुलाई नेपाली विद्यार्थीको नवप्रवर्तन क्षमता र वातावरण संरक्षणप्रतिको प्रतिबद्धताको महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
प्रतिस्पर्धाले विश्वभरका माध्यमिक तहका विद्यार्थी तथा शिक्षकलाई जलवायु संकट समाधानका लागि सिर्जनात्मक र प्रविधिमैत्री विचार प्रस्तुत गर्ने अवसर प्रदान गर्दछ। यसले युवा पुस्तालाई वातावरणीय चुनौतीको सामना गर्न नवीन सोच, अनुसन्धान र व्यावहारिक समाधान विकास गर्न प्रोत्साहित गर्ने लक्ष्य राखेको छ।
यस प्रतिस्पर्धाका विशेष अवसरहरूमा छनोट भएका विद्यार्थी टोली तथा शिक्षकका लागि अक्टोबरमा अक्सफोर्ड भ्रमणको व्यवस्था, विजेता विद्यार्थी टोलीका लागि युवा शिक्षा ग्रीष्मकालीन कार्यक्रममा पूर्ण छात्रवृत्ति तथा विजेता शिक्षकका लागि अक्सफोर्ड कार्यकारी शिक्षा कार्यक्रममा सहभागी हुने अवसर समावेश छन्।
यसअघि आयोजित प्रतिस्पर्धामा ७५ देशबाट १ हजार ६ सयभन्दा बढी आवेदन प्राप्त भएका थिए। यस वर्ष सहभागी टोलीको संख्या २ हजार १०० नाघ्नुले जलवायु प्रविधि र दिगो भविष्य निर्माणप्रति विश्वव्यापी चासो बढिरहेको संकेत गर्दछ।
नेपालबाट सहभागी टिम रि स्प्रिङको यो सफलता विद्यार्थीको प्रतिभा, सिर्जनशीलता र विश्वमञ्चमा नेपालको पहिचान स्थापित गर्ने सम्भावनाको उदाहरण बनेको छ। विश्वका विभिन्न देशका प्रतिस्पर्धी टोलीबीच शीर्ष पाँचमा स्थान बनाउन सफल मदरल्यान्ड सेकेन्डरी स्कुलको उपलब्धिले नेपाली शैक्षिक क्षेत्रलाई समेत गौरवान्वित बनाएको छ।