१६ बैशाख २०८१, आईतवार
Follow Us

पीएनओको समस्या समाधान तत्कालै हुनु पर्छ : डा. सूर्य पाठक, एमाले नेता, एनआरएनएले सहयोग गर्ने

नेपालब्रिटेन संवाददाता
३१ श्रावण २०८०, बुधबार १३:३४

गैरआवासीय नेपाली संघ (एनआरएनए) र पिपुल अफ नेपाली ओर्जिन (पिएनओ) बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । संघको सचिवालयमा बुधबार भएको कार्यक्रममा पिएनओ) का सरोकार र त्यसमा एनआरएनएको भूमिका सम्बन्धमा छलफल भएको थियो ।

थाई नेपाली संघका अध्यक्ष वासना राईले थाइल्याण्डमा बसोबास गर्दै आएका नेपाली मूलका नेपालीभाषी थाई नागरिकलाई गैर आवासीय नेपाली (एनआरएन) परिचयपत्र उपलब्ध गराउन पहल गरिदिन एनआरएनएलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘नेपालीभाषीहरू थाइल्यान्डमा ‘नेपाली जीवन’ बाँचिरहेका छन्, उनीहरू आफूलाई नेपाली भनेरै चिनाउँछन्। थाइल्यान्डका नेपालीभाषीहरू नेपालसँगको नाता टुटाउन चाहँदैनन्।’

सो क्रममा थाई नेपाली संघका निवर्तमान अध्यक्ष कुमार कार्कीले आफ्नै पुर्खाको भूमिमा आफू पहिचान विहिन भएको भन्दै आफूहरुलाई नेपाली भन्ने परिचय दिलाइदिन सरकारसँग पटक-पटक अनुरोध गरेपनि अझै सो अनुरोध सम्बोधन नभएको भन्दै दुख व्यक्त गर्नुभयो । उहाँले आफू र आफूजस्ता बहुसंख्यक नेपाली जो पुस्तौँदेखि थाइल्याण्ड, म्यानमार मलेसिया लगायतका देशमा रहेका छन् ती नेपालीहरुलाई पहिचान दिलाउन एनआरएनले पनि सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । एनआरएनएले यो विषय उठान गरेको भएपनि त्यसका लागि थप पहल आवश्यक रहेको उहाँको भनाई थियो ।

कार्यक्रममा संघका कार्यकारी अध्यक्ष डा बद्री केसीले पीएओको माग सम्बोधनको जिम्मेवारी एनआरएनले लिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “जुन देशका हजुरबाहरुले नेपाली वीर भनेर ख्याती कमाए, तिनका नातीले नेपाली भनेर भन्न पाउँ, चिनाइपाउँ भनेर आँसु बगाउनुपर्ने, यो त ती वीरको वीरता र रगतप्रति नै अन्याय भयो । आज थाइल्याण्ड, म्यानमारमा देखिएको यो समस्या भोली यूरोप, अमेरिका लगायतका देशमा पनि देखिने पक्का छ यसर्थ यसको समाधान हुनुपर्छ र यो समस्या समाधानको जिम्मा एनआरएनएले लिन्छ ।”

कार्यक्रममा अध्यक्ष कुल आचार्यले सम्बोधन गर्दै पीएनओको समस्या एनआरएनएले सरकारसमक्ष राखिसकेको र त्यसको समाधानका लागि आफूहरुले उच्च तहसम्म छलफल गरिरहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा आमन्त्रित एमाले नेता सूर्य पाठकले आफूले पीएनओको माग र समस्या संसददेखि उच्च तहसम्म राखीसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो त्यति जटिल पनि रहेनछ, तर यसलाई सम्बोधन गर्न ढिलाई भएकै हो । यस विषयमा मैले पनि आवाज उठाएको छु र अबका दिनमा पनि यस समस्या समाधानका लागि पहल गर्छु ।’

एनआरएनए थाइल्याण्डका अध्यक्ष भविन्द्र बस्नेतले सञ्चालन गरेको कार्यक्रममा पीएनओका प्रतिनिधिहरु र संघका अध्यक्षद्वयसहित, उपाध्यक्ष महेश श्रेष्ठ, महासचिव डा केशव पौडेल, प्रवक्ता सोम सापकोटा लगायतको उपस्थिति रहेको थियो ।

सो अवसरमा पीएनओका प्रतिनिधिहरुले एनआरएनलाई ज्ञापनपत्र समेत बुझाएका थिए ।