१५ बैशाख २०८१, शनिबार
Follow Us

ब्राइटन, म्यानचेष्टर सिटी, ब्रेन्टफोर्ड, लिभरपुल र टोटेनह्याम विजयी

नेपालब्रिटेन संवाददाता
३ भाद्र २०८०, आईतवार ०४:५५

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटन, म्यानचेष्टर सिटी, ब्रेन्टफोर्ड, लिभरपुल र टोटेनह्याम विजयी भएका छन् ।

प्रिमियर लिग अन्तर्गत गएराति ब्राइटनले उल्फ्सलाई ४–१ गोलले हरायो । अवे मैदानमा ब्राइटनका लागि १५औं मिनेटमै काउरु मिटोमा र ४६औं मिनेटमा पेर्भिस इस्तुपिननले गोल गरेका थिए ।

त्यसपछि ५१औं र ५५औं मिनेटमा सोली मार्चले गोल थपेपछि ब्राइटनले ४(० को अग्रता बनायो । ६१औं मिनेटमा उल्फ्सका ह्वाङ हि चानले सान्त्वना गोल गरे । अन्तिम समयमा उल्फ्सका माथिअस नुनेजले रेड कार्ड पाएका थिए । लगातार दुई जितसँगै ६ अंकका साथ ब्राइटन शीर्ष स्थानमा उक्लिएको छ ।

अर्को खेलमा साविक विजेता सिटीले न्यूक्यासल युनाटेडमाथि १–० को संघर्षपूर्ण जित निकाल्यो । घरेलु मैदान इतिहाद रंगशालामा सिटीका लागि जुलिएन अल्भारेजको एकमात्र गोल नै निर्णायक रह्यो ।

अल्भारेजले ३१औं मिनेटमा फिल फोडेनको पासमा गोल गरेका थिए । लगातार दुई खेलमा विजयी सिटी दोस्रो स्थानमा उक्लिएको छ । लिग अन्तर्गत नै ब्रेन्टफोर्डले फूलह्यामलाई ३–०, लिभरपुलले बर्नमाउथलाई ३–१ र टोटेनह्यामले म्यानचेष्टर युनाइटेडलाई २–० ले हराए ।