१६ बैशाख २०८१, आईतवार
Follow Us

डा. केशव पौडेलको समर्थनमा एनआरएनए अध्यक्षमा उम्मेदार बन्ने महेश श्रेष्ठको घोषणा

नेपालब्रिटेन संवाददाता
४ भाद्र २०८०, सोमबार ०६:४८

लण्डन । गैर आवासीय नेपाली संघका उपाध्यक्ष महेश श्रेष्ठ आगामी निर्वाचनमा अध्यक्षको उम्मेदवार बन्ने घोषणा गरेका छन्।

गैरआवासीय नेपाली संघ युकेको कार्यसमितिलाई आइतवार शुभकामना व्यक्त गर्दै अक्टुवरमा हुने महाधिवेशनमा संघको नेतृत्वकालागि अध्यक्षको उम्मेदवार बन्ने बताएका हुन्।

अल्डरटमा आयोजित कार्यक्रमलाई संबोधन गर्दै उपाध्यक्ष श्रेष्ठले केही समयपछि आफ्ना प्रतिवद्धता सहित नेपालमा औपचारिक रुपमा घोषणा गर्ने बताए। १० औं महाधिवेशनमा नेतृत्वको विवादले विषम परिस्थिती सिर्जना भएको बताए।

‘विषम परिस्थितीबाट बाहिर निस्कन सहमति, सहकार्य र एकता माध्यमबाट अघि बढ्नु पर्छ,’ अध्यक्षका प्रत्यसी श्रेष्ठले भने,‘सकेसम्म सहमतिकै आधारमा नेतृत्व चयन हुनुपर्छ।’

एनआरएनएमा अहिले असन्तुष्ट समेत रहेको बताउँदै आफुले सबैलाई मिलाएर लैजाने प्रतिवद्धता व्यक्त गरे।

त्यस्तै गैरआवसीय नेपालीबाट राज्यलेपनि ठुलो आशा गरेको बताए।

‘६०–७० लाख नेपाली बाहिर बसेका छन्। जसको सम्पत्ति नेपालको नेपालमा कुल ग्रहस्थ उत्पादनभन्दा ५ गुणा बढी छ,’ उनले भने,‘विदेशमा रहेका नेपालीसंग भएको पूँजी र ज्ञान कसरी लगानी गर्ने भन्ने मात्रै हो।’

उनले गैरआवासीय नेपालीले लगानीको झन्झट, सम्पत्तिको संरक्षण, विदेशमा रहेका नेपालीहरुको समस्या लगायतलाई कसरी संबोधन गर्न सकिन्छ भन्ने विषयमा रणनीतिक खाका तयार पारेको जानकारी दिए।

‘एनआरएनएको नेतृत्वगर्दा कार्य योजना बनाएरै काम गर्ने छु,’ उनी भन्छन्,‘निर्वाचित भएको खण्डमा क्यालेन्डर बनाएरै काम गर्ने छु। २ वर्षमा कुन महिना के उपलब्धी हासिल गर्ने स्पष्ट पार्ने छु।’

नेतृत्वको विवादले अहिले गैरआवासीय संघको गुमेको शाखलाई उच्च बनाउने प्रतिवद्धता दोहोराए।

कार्यक्रममा संघका महासचिव केशव पौडेलले श्रेष्ठलाई समर्थन गर्ने घोषणा गरेका थिए ।