सान फ्रान्सिस्को। अमेरिकाको ओरेगन राज्यस्थित बेन्डको एक प्राथमिक विद्यालयमा बिहीबार भएको गोलीकाण्डमा तीन बालबालिका र एक शिक्षकसहित चार जनाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन् । गोली चलाउने १६ वर्षीय किशोरलाई पनि गोली हानेर मारिएको प्रहरीले जनाएको छ ।
बेन्ड प्रहरी प्रमुख माइक क्रान्ट्जका अनुसार सिल्भर रेल प्राथमिक विद्यालयमा स्थानीय समयअनुसार बिहीबार दिउँसो १ बजे गोलीकाण्ड भएको थियो । मारिने बालबालिका पाँच, आठ र ११ वर्षका रहेका छन् । घाइते हुनेमा सात वर्षीय बालक र ५४ वर्षीय शिक्षक रहेका छन् । उनीहरूलाई गम्भीर अवस्थामा अस्पताल लगिएको प्रहरी प्रमुख क्रान्ट्जले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।
प्रहरीका अनुसार सुरुमा विद्यालयबाहिर पार्क गरिएको एउटा गाडीमा गोली चलेको जानकारीसहित आपत्कालीन फोन आएको थियो । त्यसपछि एक सशस्त्र व्यक्ति विद्यालयभित्र प्रवेश गरी गोली चलाएको भन्दै थप सूचना प्राप्त भएको थियो ।
सन्दिग्ध विद्यालयभित्र प्रवेश गरेको देखेका समुदायका एक सदस्यले भवनभित्रै उनलाई नियन्त्रणमा लिएर गोली हानेको र उनको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले गोली चलाउने व्यक्ति बेन्डका १६ वर्षीय किशोर रहेको पुष्टि गरे पनि उनको नाम सार्वजनिक गरेको छैन ।
घटनापछि अधिकारीहरूले विद्यालयका विद्यार्थी र कर्मचारीलाई सुरक्षित रूपमा बाहिर निकालेका थिए । विद्यार्थीहरूलाई उनीहरूका परिवारसँग पुनर्मिलन गराउने व्यवस्था पनि गरिएको थियो । बेन्ड–ला पाइन विद्यालय जिल्लाले घटनापछि शुक्रबार जिल्लाभरिका सबै विद्यालय बन्द गर्ने घोषणा गरेको छ ।
प्रहरीले घटनाको उद्देश्य पत्ता लगाउन तथा गोली चलाउने किशोरको विद्यालयसँग कुनै सम्बन्ध थियो वा थिएन भन्ने विषयमा अनुसन्धान गरिरहेको जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।