१५ बैशाख २०८१, शनिबार
Follow Us

नाटकीय पुनरागमन गर्दै अल नासर एसियन च्याम्पियन्स लिगमा छनोट

नेपालब्रिटेन संवाददाता
६ भाद्र २०८०, बुधबार ०५:४२

काठमाडौं । नाटकीय पुनरागमन गर्दै साउदी क्लब अल नासरले एसियाली च्याम्पियन्स लिगको प्लेअफमा शबाब अल अहलीलाई ४–२ ले पराजित गरेको छ ।

केएसयू फुटबल फिल्ड रिहादमा गएराति सम्पन्न खेलको अन्तिम ९ मिनेटमा ३ गोल गर्दै नाटकीय जितसहित यस सिजनको एसियन च्याम्पियन्स लिगको समूह चरणमा स्थान पक्का गरेको हो ।

अल–नासरको जितमा एन्डरसन टालिस्काले दुई गोल गरे । सुल्तान अल–घानाम र मार्सेलो ब्रोजोभिचले एक–एक गोल थपे । पराजित शबाब अल–अहलीका लागि याह्या अल–घासानीले दुई गोल गरे पनि जितका लागि प्रर्याप्त हुन सकेन ।

खेलको ११ औं मिनेटमा टालिस्काले ब्रोजोभिचको उत्कृष्ट पासमा हेड गर्दै आफ्नो टोलीलाई अग्रता दिलाए । त्यसको सात मिनेटपछि अल–अहलीका अल–घासानीले गोल गर्दै खेललाई बराबरीमा फर्काए । दोस्रो हाफको सुरुवातमै घासानीले व्यक्तिगत दोस्रो गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाए। निर्धारित समयको ३ मिनेट बाँकी रहँदा अल नासर खेलमा बराबरी गोल गर्न सफल भयो । सुल्तान अल–घानमले ८८औं मिनेटमा अयमान याह्याको क्रसमा हेडरमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए । थपिएको समयको छैटौं मिनेटमा टास्लिकाले व्यक्तिगत दोस्रो गोल गर्दै अल नासरलाई अग्रता दिलाए । त्यसको दुई मिनेटपछि मार्सेलो ब्रोजोभिचले गोल गर्दै एएफसी च्याम्पियन्स लिगमा आफ्नो टोलीको स्थान पक्का गरे ।

पराजित अल–अहलीले अब दोस्रो श्रेणीको एएफसी प्रतियोगिता, एएफसी कपमा प्रतिस्पर्धा गर्नेछ । एएफसी च्याम्पियन्स लिग र एएफसी कप दुवैको ड्र २४ अगस्टमा मलेसियाको क्वालालम्पुरमा हुनेछ ।

साउदीबाट यसअघि अल इतिहाद, अल फायहा र अल हिलाल च्याम्पियन्स लिगका लागि छनोट भइसकेका थिए । भारतको मुम्बई सिटी फुटबल क्लबले पनि समूह चरणमा स्थान पक्का गरिसकेको छ । प्लेअफबाट अल नासरसहित ८ टोलीको टुंगो लागेसँगै अब अगस्ट २४ मा समूह चरण ड्र हुनेछ ।