२४ असार २०८१, आईतवार
Follow Us

माओवादी महासचिव गुरुङको बेलायत भ्रमण: भिसा नआउदै कार्यक्रम रोकिए

नेपालब्रिटेन संवाददाता
२० भाद्र २०८०, बुधबार ०८:०७

आगामी शनिबार (२३ भदौ) नेकपा माओवादी केन्द्रको बेलायतस्थित प्रवासी संगठन नेपाली जनप्रगतिशील मञ्चको वार्षिक कार्यक्रम हुँदै थियो।

यसपटक सय जना व्यक्तिलाई प्रवेश गराउने लिस्ट नै तयार पारिएको कार्यक्रममा प्रमुख अतिथि बनाइएका थिए, माओवादी महासचिव देव गुरुङ।

सोही अनुसार गुरुङलाई बेलायतबाट पत्र आयो २९ दिन अगाडि। उनले सबै प्रक्रिया पूरा गर्न, पार्टीका विभिन्न तहसँग समन्वय गर्न सुझाव पनि दिए।

जनप्रगतिशील मञ्च बेलायतका अध्यक्ष मानबहादुर गुरुङले माओवादीको रुपान्तरण अभियानलाई नै सहयोग पुग्ने र संगठन विस्तार गर्ने लक्ष्यसहित वार्षिक कार्यक्रम तय भएको महासचिव देव गुरुङलाई जानकारी गराए। त्यसपछि कार्यक्रममा जान गुरुङले भिसाको आवेदन दिए।

तर, कार्यक्रम नै नगरी आयोजकले आकस्मिक सचिवालय बैठक बसेर सातादिन अगाडि (आइतबार) नै कार्यक्रम स्थगित गरेको सूचना जारी गरेको छ।

आफूहरुलाई प्रवास कमिटीबाट कार्यक्रम रोक्न निर्देशन आएपछि वार्षिक कार्यक्रम रोकेको मञ्च बेलायतका अध्यक्षले दाबी गरेका छन्।

केन्द्रीय महासचिव जाने कार्यक्रम प्रदेश कमिटीको अध्यक्षले रोक्न सक्ने कि नसक्ने माओवादीभित्र बहस भइरहेको छ।

एकथरी प्रवास कमिटीको पक्षमा छन्। अर्काेथरी, गलत नजिर बसेको बताउँछन्। महासचिव गुरुङले भने   आफ्नो भिसा नै नआएको बताए।

‘म वार्षिक कार्यक्रममा जाने निश्चित भएको हो तर भिसा आइसकेको थिएन,’ गुरुङले भने, ‘यूकेमा रहेको हाम्रो पार्टी कमिटीले प्रत्येक वर्ष कार्यक्रम गर्छ, यसपटक मलाई बोलाएको हो, म जान पनि तयार नै भएर बसेको हुँ।’

‘प्रवास कमिटीको निर्देशन अनुसार आयोजकले कार्यक्रम स्थगित गर्न सक्छन्?’ भन्ने गुरुङले थपे, ‘प्रवासमा पार्टी शाखा भएकोले समन्वय र जानकारी दिने अभ्यास छ।’

‘मैले यूकेका पार्टी संगठनलाई सबै निकायबाट पर्मेसन लिनू भनेको थिएँ, उहाँहरूले सबैबाट ओके भएको भन्दै मलाई पत्र पठाउनुभएको हो।’

जनप्रगतिशील मञ्च बेलायतका अध्यक्ष गुरुङले पनि गत १४ अगस्टमै निर्णय गरेर प्रवास कमिटीका अध्यक्ष ओम शर्मासहित यूरोप मोर्चा लगायतलाई आधिकारिक रूपमा जानकारी गराएको बताए।

यसबारे महासचिव गुरुङले पार्टी अध्यक्ष प्रचण्डसँग सल्लाह गरेका थिए। प्रचण्डले अनुमति दिएपछि भिसा प्रक्रिया अगाडि बढाएको उनले बताए।

तर, जनप्रगतिशील मञ्ज बेलायतका अध्यक्ष गुरुङले भने महासचिवको भिसा लागेको दाबी गरे।

‘उहाँको भिसा लागेको छ तर हामीले नै प्रवास कमिटीबाट रोक्नू भनेर निर्देशन आएपछि कार्यक्रम स्थगित गरेका हौँ,’ उनले भने।
– नेपालखबर