२३ असार २०८१, शनिबार
Follow Us

एनआरएनए निर्वाचन : महेश श्रेष्ठबिरुद्ध जापानमै ६ उम्मेदवार, जापानमा को अगाडि छ ?

नेपालब्रिटेन संवाददाता
२९ भाद्र २०८०, शुक्रबार १३:२६

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं महाधिवेसन नजिकिदै गर्दा नेतृत्वको लागि आकांक्षीहरुले निर्वाचन प्रचारप्रसारलाई तिब्र पारेका छन् ।

यसैक्रममा अध्यक्षका प्रत्यासी वर्तमान उपाध्यक्ष महेश कुमार श्रेष्ठले शुक्रवार ललितपुरस्थित हिमालय होटलमा एक समारोहकाबीच उम्मेदवारी घोषणा गरेका छन् ।

जापानमा सकृय व्यवासायीको रुपमा आफ्ना पहिचान स्थापित गरेका श्रेष्ठको उम्मेदवारी पछि आन्तरिक चुनावी जोडघटाउन शुरु भएको छ ।

गैरआवासीय नेपाली संघको एक उच्च पदाधिकारीका अनुसार उनलाई आफ्नै कर्मथलो जापान फलामको चिउरा हुने अवस्था रहेको छ ।

स्रोतका अनुसार संघको निर्वाचनमा अध्यक्षको लागि पुनः उम्मेदवारी दिने तयारी गरेका डा। बद्री केसीले श्रेष्ठकै कर्मथलोमा बलियो अड्डा जमाएको आंकलन गरिएको छ । दुवै पक्षले आआफ्नो आधिकारी प्यानलको घोषणा नगरे पनि जापानबाटै केसीको प्यानलमा रहेर उम्मेदवार बन्न आदी दर्जन भन्दा बढी उम्मेदवार तयार भएका छन् ।

अध्यक्षका प्रत्यासी डा. केसीको समूहबाट निर्वाचनमा जान जापानस्थित सफल व्यवसायी रविन शेरचन राजी भएका छन । उनले उपाध्यक्षमा उम्मेदारी दिने घोषणा गरेका छन् ।

यस्तै, महासचिवको लागि उम्मेदवार बनेका पारमशरणी पोखरेलले अर्का महासचिवका उम्मेदवार गौरी जोशीलाई समर्थन गर्दै सचिव पदमा उम्मेदवारी दिने अपेक्षा गरिएको छ । जोशी र पोखरेल दुवै डा. केसीनिकट मानिन्छन् । यस्तै संघको कोषाध्यक्ष पदमा उम्मेदवार बनेका सुदन थापाले समेत डा. केसी प्यानलबाट उम्मेदवारी दिने तयारी गरेका हुन् ।

यसअघि उनले श्रेष्ठसंग ९ औं महाधिवेसनमा कोषाध्यक्ष पदमा प्रतिस्पर्धा गरेका थिए । यस्तै अन्तराष्ट्रिय युवा संयोजकमा जापानकै सुपेन्द्र घिसिङले डा. केसी प्यानलबाट उम्मेदवारी दिने भएका छन् ।

डा. केसीले आफ्नो प्यानलको घोषणा नगरे पनि सहकोषाध्यक्षका उम्मेदवार ददिवल खड्का समेत डा. केसी समूहबाट उम्मेदवार बन्न लागेका हुन् ।

श्रेष्ठको उम्मेदवारीलाई जापानबाटै ठूलो चुनौति देखिए पछि एनआरएनए निर्वाचनमा नयां तरङ्ग उत्पन्न भएको छ ।

यस्तै जापानमै कार्यथलो बनाएका युवा उपाध्यक्ष रोशन थापा यसअघि देखिनै डा. केसी समूहमा सकृय छन् ।

को बलियो छ जापानमा ?
संघको ११ औं महाधिवेसनको लागि जापानबाट २०१ जना प्रतिनिधिहरुले भाग लिदैछन् । श्रेष्ठलाई आफ्नै होम कन्ट्रिमा लिड गरेर आउन हम्मेहम्मे हुने पछिल्ला तथ्यांकले देखिएको छ । श्रेष्ठले अपेक्षा गरेका भोट नेपाली कांग्रेसका कार्यकर्ता र बाग्लुङ, पर्वतेहरुको हो तर पार्टी कार्यकर्ता विभाजित छन् भने बाग्लुङेहरुको मन अध्यक्षका अर्का प्रत्यासी आरके शर्माले जितेको विश्वास गरिएको छ ।

नेपालब्रिटेन डट कमलाई प्राप्त तथ्यांक अनुसार त्यहाँस्थित महाधिवेशन प्रतिनिधिहरु राजनीतिक रुपमा ध्रुविकरण भए भने श्रेष्ठको पक्षमा भन्दा डा. केसीको पक्षमा धेरै मत देखिन्छ । तथ्यांक अनुसार श्रेष्ठले ३९, डा.केसीले ४१ र आरके शर्माको पक्षमा २० प्रतिशत प्रतिनिधिहरु देखिन्छ तर अध्यक्षका अन्य प्रत्यासी रविना थापा र विनय अधिकारीले उम्मेदवारी दर्ता गराए भने पनि सो तथ्यांक फरक हुनेछ ।

जापानमै कमजोर छ, सोचेर चुनाव लड्नु : कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा

श्रेष्ठले नेपाली कांग्रेसको निर्णय अनुरुप आफुले उम्मेदवारी दिने लागेको दावी गरेका छन् । राजनीतिक समिकरण मिलाउन काठमाण्डौं पुगेका श्रेष्ठले नेपाली कांग्रेसका नेताहरुसंग भेटघाट गरेका छन् । यसैक्रममा उनले कांग्रेस महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मालाई भेटेका थिए । भेटका क्रममा महामन्त्री शर्माले जापानमानै श्रेष्ठ कमजोर रहेको बारेमा जिज्ञासा राखेका थिए ।

अर्का महामन्त्री थापाले सबै पक्षलाई समेटेर लैजान सुझाव दिएका थिए । मुख्यतः श्रेष्ठले संघका अध्यक्षका आकांक्षी डा. हेमराज शर्माको सहयोगको अपेक्षा गर्दै थापालाई भेटेका थिए । डा. शर्मा गगन थापा निकट मानिन्छन् । स्रोतका अनुसार शर्माले नेपाल विद्यार्थी संघको कार्यसमितिमा संगै काम गरेको आधारमा डा. केशव पौडेललाई अध्यक्ष पदको लागि उम्मेदवार बनाउन चाहेका थिए ।


जापानमा कार्यकारी अध्यक्ष डा. केसीका अस्वभाविक स्वागत

विहिवार नारिता अन्तराष्ट्रिय विमानस्थलमा पुगेका गैरआवासीय नेपाली संघ (एनआरएनए) का कार्यकारी अध्यक्ष डा. बद्री केसीको भव्य स्वागत गरिएकोछ । विमानस्थल पुगेका एक एनआरएनए पदाधिकारीका अनुसार केन्द्रीय पदाधिकारी जापान उत्रिदा पहिलो पटक यस्तो भव्य स्वागत गरिएको थियो । उनले प्रधानमन्त्री प्रचण्ड टोकियो आउदा भन्दा भव्य स्वागत भएको दावी गरे ।

एनआरएनएको नेतृत्व सम्हालेपछि उनी पहिलो पटक जापान आएका हुन्। जापान बसाइमा डा. केसी विभिन्न अन्तरक्रिया कार्यक्रममा सहभागी हुनेछन्।

संघको अध्यक्ष पदको लागि डा. केसी, श्रेष्ठ लगायत डा. हेम राज शर्मा, रविना थापा, आरके शर्मा र विनय अधिकारीले उम्मेदवारी दिने घोषणा गरेका छन् ।