काठमाडौं । दसैंको बिदाअघि नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार सुन तोलामा एक हजार सात सय र चाँदी ११५ रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९० हजार एक सय रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला दुई लाख ८८ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।
आइतबारदेखि बिहीबारसम्म लगातार घटेको सुनको मूल्य शुक्रबार भने बढेको हो ।
चाँदीको मूल्य पनि शुक्रबार तोलामा ११५ रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला चार हजार ३५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार बढेर चार हजार १५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।