१३ जेष्ठ २०८१, आईतवार
Follow Us

जापानमा डा. बद्री केसीको घोषणा : निर्वाचन कुनै पनि हालतमा रोकिन्न्, अध्यक्षमा उम्मेदवारी दिने

नेपालब्रिटेन संवाददाता
३० भाद्र २०८०, शनिबार ०६:२६

कुनै पार्टी वा सरकार लाग्यो भन्दैमा निर्वाचन रोकिन्न् : एनआरएनए कार्यकारी अध्यक्ष डा. बद्री केसी

गैर आवासीय नेपालीसंघका कार्यकारी अध्यक्ष डा. बद्रि केसीले १० औं महाधिवेशनमा निर्वाचनमा समस्या आउन जापानको कारण भएपनि अहिले शुद्धिकरण अभियानबाट समाधान गरेको बताए। अध्यक्ष केसीले जापानको शुद्धिकरणले सबै देशमा स्वच्छ निर्वाचन भएको बताए।

गैरआवासीय नेपाली संघ जापान विहिवार आयोजना गरेकोे एक अन्तरक्रिया कार्यक्रममा एनआरएनएमा विद्यार्थीहरुलाई नभएको अवस्था विद्यार्थीलाई राख्नै पर्ने बताए। जापान नेपाली कामदार र विद्यार्थी दुवै आएर नेपाली बसोबास गर्ने देशको रुपमा रहेको बताए।

‘जापानमा नेपाली स्थापित व्यवसायीपनि छन्। विद्यार्थी र रोजगारीकोलागि आएका नेपाली छन्,’ अध्यक्ष केसीले भने,‘एनआरएनएको चरित्र जापानले बोक्छ। अभियानकोलागिपनि जापान महत्वपूर्ण छ।’

नेपालबाट शुरुको ६ महिनाकोलागि पैसा ल्याएपनि त्यसपछि विद्यार्थीले रोजगारीमा आएका जस्तै पैसा कमाउन थाल्छन्। विद्यार्थीलाई समेट्न गैरआवासीय नेपाली ऐनलाई समयसापेक्ष परिमार्जन गर्नुपर्छ।

‘ऐनमा नागरिकतापाएसंगै आर्थिक सामाजिक र संस्कृतिक अधिकार के के हुन् स्पष्ट पार्नुपर्छ,’ केसीले भने,‘अहिले एनआरएनएलाई काठमाडौंमा एक रोपनी, तराईमा ४–५ गठ्ठा र पाहाडमा ५ रोपनीभन्दा जग्गा खरिद गर्न पाइदैन। यसलाई खुलाउनु पर्छ।’
उनले एनआरएनएको नागरिकता पाउनेलाई नेपालमा भोट हाल्ने र चुनाव उठ्ने बाहेक सबै अधिकार प्रदान गर्नुपर्ने बताए।

एनआरएनए स्थापना २००३ साल देखी नै विदेशमा कमाएको केही प्रतिशत नेपालमा लगानी होस् भन्ने चाहेको बताए। नेपालमा हुर्कदा आफ्ना बाबुआमाको मात्रै होइन राज्यलेपनि लगानी गरेको बताउँदै विदेशमा कमाएको केही न केही नेपालमा लगानी गर्नुपने अध्यक्ष केसी बताउँछन्।
‘गैरआवासीय नेपालीको लगानी नेपालमा लैजाने र ऐन कानुनलाई सहजता बनाउने भूमिका एनआरएनएको हो,’ केसीले भने,‘नेपाली नागरिकता बोकेर विदेशमा लगानी गर्न पाइदैन। त्यो अवैधानिक हो तर कसले कति कमाउँछ नेपालले चिन्दैन।’

नेपालीले नेपालमा लगानी गर्ने र विदेशमा कमाएको रकम विदेशमापनि लगानी गर्न सक्ने कानुन बनाउन लबिङ गरिरहेको बताए।
नेपालमा वैधानिक रुपमा लगानी गर्नेले विदेशमा वैधानिक रुपमा लगानी गर्न सक्ने कानुन बनाउनु पर्छ।

वैदेशिक रोजगारीबाट वार्षिक १३ खर्ब रुपैयाँ नेपाल पठाउँदै आएको तर सबै विदेशी वस्तु खरिदकालागि नै बाहिरिने बताए।
‘विदेशबाट जति रकम हामीले नेपालमा पठाएका छौं। नेपालमा नथिग्रिकन विदेशमै फिर्ता भएको छ,’ डा. केसीले भने,‘नेपालले २ खर्ब रुपैयाँको वस्तुपनि निर्यात गर्दैन। रेमिट्यान्सको भरमा अर्थतन्त्र चल्छ।’

विदेशमा करिब ८० लाख नेपाली रहेका छन्। जसले वार्षिक ६० खर्ब रुपैयाँ आम्दानी गर्ने अनुमान छ। १३ खर्ब देखीनेगरी नेपालमा भित्रन्छ। बाँकी केही हुन्डीबाट जान्छभने धेरै विदेशमै लगानी भएको छ।

कुनैपनि ठाउँमा लगानी गर्नकोलागि विश्वासको वातावरण हुनुपर्छ नभए कसैले गर्दैन। लगानी गरेपछि डुब्दैन भन्ने आशा हुनुपर्छ। त्यसको प्रतिफल आउँछ भन्ने विश्वासपछि मात्रै वैदेशिक लगानी नेपालमा भित्रन्छ। वैदेशिक लगानी भित्राउन लगानीको वातावरण सम्बन्धी रेटिङ बनाउनु पर्छ। सरकारले अहिलेसम्म रेटिङ गरेकै छैन।

‘विदेशी लगानी आउन नसक्ने भएकाले गैरआवासीय नेपाली र आफ्ना चिनजानका व्यवसायीलाई लगानीगर्न ल्याउनुपर्छ,’ केसीले भने,‘एनआरएनएले पुलको रुपमा काम गर्नुपर्छ।’

एनआरएनएले लगानी गरी नेपालमा परिवर्तन गर्न सक्ने शिक्षा क्षेत्र हो। नेपालका विद्यार्थीलाई अध्ययनकोलागि विदेशी जानु परेको छ। तर राम्रो कलेज स्थापना भए अध्ययनकालागि विदेशीनु पर्दैन। अष्ट्रेलियाको वैदेशिक आम्दानी शिक्षाबाट रहेको छ। त्यहाँ नेपाली तेस्रो स्थानमा रहेका छन्। नेपालमै मास्र्टस डिग्रीसम्म अध्ययापन गराउनकोलागि एनआरएनएले लगानी गर्न सक्छन्।

दोस्रो पर्यटन क्षेत्र हो। नेपाली मुलका १५ देखी २० लाखले विदेशको पासपोर्ट लिइसकेका छन्। उनीहरु पर्यटकको रुपमा जाँदापनि नेपालको आयस्रोत बढ्ने देखिन्छ। पर्यटक जानकोलागि होटल, रेष्टुरेन्ट, सडक पूर्वधार आवश्यक पर्छ। त्यसको निर्माणमा एनआरएनएले ठुलो भुमिका खेल्न सक्छ।
‘एनआरएनले लगानी नगरेको नेपालमा कुनै क्षेत्र नै छैन,’ डा. केसी भने,‘तर त्यो बाहिर आउन सकेको छैन। विदेशको पासपोर्ट भएपनि नेपाली नागरिकताबाटै लगानी गर्दा कति लगानी छ। स्पष्ट देखिदैन।’

नेपालमा लगानी गरेको ठाउँ देखाउन पनि संकोच गरिरहेको अवस्था रहेको छ। गैरआवासीय नेपाली नागरिकता पाएसंगै त्यो संकोच हट्ने केसीले बताउँछन्।
‘नागरिकताको नियमावली बनाउन मन्त्रिपरिषद्ले सैद्धान्तिक स्वीकृत दिइसकेको छ। मन्त्रिपरिषद्को समितिमा पुगेको छ,’ केसीले भने,‘काठमाडौंमा हुने ११ अधिवेशनमा नागरिकता वितरणबाट शुरु गछौं।’

नागरिकताले बैधानिक लगानी र खुल्ला रुपमा लगानी गर्ने वातावरण खुल्छ। ठुलो लगानी गर्नेको मात्रै नभइ साना लगानी गर्नसक्ने ठुलो जमात रहेको छ।
‘साना लगानी कर्तालाई नेपालमा समयदिन अप्ठेरो भैरहेको छ,’ उनले भने,‘२००७ बाट सबैले लगानी गर्नसक्नेगरी १० अर्बको कम्पनी खोल्न शुरु गरिएको हो। आर्थिक नियमावली नसच्चिदा त्यो लगानी गर्न सक्ने अवस्था भएन।’

सरकारले वैदेशिक लगानी ल्याउँदा शुरुमा ५ करोड रुपैयाँ राखेको थियो। त्यसलाई घटाएर २ करोडमा झारेको छ। तर सामुहिक रुपमा १–२ लाख रुपैयाँ लगानी गर्न सक्ने अवस्था नभएकाले त्यो सच्चाउन २ वर्ष लागेको बताए। १० अर्ब रुपैयाँको कम्पनीकोलागि २० वर्षको अवसरमा शुरु हुने जानकारी दिए।

एनआरएनएको अर्को लक्ष्य वैदेशिक रोजगारीमा अप्ठेरो परेकालाई सहजीकरण गर्न भएको बताए। गैरआवासीय नेपाली ऐन र वैदेशिक रोजगार ऐन एनआरएनएको माग अनुसार एकै दिन आएका हुन्। शुरुमा वैदेशिक रोजगारीमा आउनेको मृत्यु भएमा पैसा उठाएर पठाउने गथ्र्यौ अहिले श्रम स्वीकृति लिएर वैदेशिक रोगारीमा आउनेको १० लाखसम्मको बीमा हुन्छ। यसकोलागि गैरआवासीय नेपालीसंघले भूमिका खेलेको बताए।

अहिले सामाजिक सुरक्षाको विषय सबैभन्दा महत्वपूर्ण रहेको बताए। २०११ बाट शुरु गरेको सामाजिक सुरक्षा अभियान वैदेशिक रोजगारीमा आएका जोडिन सक्ने भएका छन्। अहिले कामदारको मात्रै रकम जम्मा हुने व्यवस्था रहेको छ। अब विदेशी राजगारदाताले आफुले काम लगाउँदा केही प्रतिशत पेन्सन फण्डमा जम्मा हुने व्यवस्था गर्नुपर्छ भन्ने विषयमा पहल भैरहेको बताए।

एनआरएनए स्थापनाको २० वर्षमा ८७ मुलुकमा पुगेको उल्लेख गर्दै ११० वटा देशमा विस्तार गर्ने ठाउँ रहेको बताए। एनआरएनएलाई भावनाको संस्था बनायौं अब विधि र विधानले जोड्नुपर्छ। ७९ देशमा अधिवेशन भयो विधि र विधान अनुसार चलेको छ।

‘एनआरएनएको नेतृत्वमा आउन चाहानेकालागि निष्पक्ष रुपमा निर्वाचन गराउनुपर्ने दयित्व हाम्रो हो,’ उनले भने,‘कुनै व्यक्तिलाई हराउन वा जिताउन कुनै पार्टि वा सरकार लाग्यो भन्दैमा निर्वाचन रोकिने छैन।’

उनले १९ अक्टुबरमा निवार्चनगरी एउटा उदाहरण सेट गर्ने बताए।

एनआरएनए जापानका अध्यक्ष नविन निउरेको अध्यक्षमा भएको कार्यक्रममा संघका केन्द्रीय पदाधिकारी तथा एनसीसीका सदस्यहरुले आआफ्नो भनाई राखेका थिए ।