म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–४, दग्नामको महभीरस्थित रघुगंगा जेपिए निर्माणाधीन जलविद्युत आयोजनाको ड्याम नम्बर १ मा पहिरो खस्दा दुईजना कामदारको घटनास्थलमै मृत्यु भएको छ ।
सोमबार दिउँसो एक्कासी महभीरबाट पहिरो खस्दा ड्याम नम्बर १ मा काम गरिरहेका दुई जनाको मृत्यु हुनुका साथै पाँचजना घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
पहिरोमा पुरिएर मृत्यु हुनेमा बागलुङको तमानखोला गाउँपालिका–१, बुङ्गादोभानका २२ वर्षीय सुजन बुढामगर र चितवन घर भएका अन्दाजी ४६ वर्षीय लालबहादुर सुनारको मृत्यु भएको म्याग्दीका प्रहरी नायव उपरीक्षक सुर्यबहादुर थापाले बताए ।
यसैगरी पहिरोमा पुरिएर गम्भीर घाइते हुनेहरुमा भारतको गोपालगञ्जका ५३ वर्षीय धरम कुसवाहा, सोही ठाउँका ५५ वर्षीय भैयाराम चौधरी र रोल्पाको सुनछहरी गाउँपालिका–३, पाङवाङका ३३ वर्षीय सुमान पुनमगर रहेको प्रहरी नायव उपरीक्षक थापाले बताए ।
गम्भीर घाइते भएका तीनजना कुसवाहा, चौधरी र पुनलाई प्रदेश अस्पताल बेनीमा प्राथमिक उपचार गरी थप उपचारको लागि पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै सर्लाहीको बागमती नगरपालिका–५, राजघाटका ५५ वर्षीय गणेशबहादुर मगर तथा बारा जिल्लाको निजगढ नगरपालिका घर भएका ४० वर्षीय कुमार थापामगर सामान्य घाइते भएको छ । सामान्य घाइते भएका मगरद्वयको प्रदेश अस्पताल बेनीमा उपचार भैरहेको छ ।
घाइतेहरुको टाउको, हातखुट्टा, मेरुदण्ड र शरिरको भित्री भागमा चोटपटक लागेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।